११ साउन २०८३, सोमबार

अमेरिकाले ताइवानलाई १.१ अर्ब अमेरिकी डलरको हतियार बिक्री गर्दै

भदौ १८, २०७९
अमेरिकाले ताइवानलाई १.१ अर्ब अमेरिकी डलरको हतियार बिक्री गर्दै
फाइल तस्वीर

संयुक्त राज्य अमेरिकाले ताइवानलाई हारपुन र साइडविन्डर क्षेप्यास्त्रहरूसहित लगभग १.१ अर्ब अमेरिकी डलर बराबरको सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेको छ ।

डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सीले वाशिंटनले ताइवानलाई सैन्य उपकरण बेच्न स्वीकृति दिएको पुष्टि गरेको हो । अमेरिकी विदेश मन्त्रालयले ताइवानको सुरक्षा क्षमताको आधुनिकीकरण गर्न र अमेरिकी सुरक्षा हित प्रबर्धन गर्न ताइवानलाई हारपुन ब्लक मिसाइल र अन्य सैन्य उपकरणको बिक्री स्वीकृत गरेको बताएको छ । 

मन्त्रालयका अनुसार प्रस्तावित हातहतियारले यस क्षेत्रमा आधारभूत सैन्य सन्तुलनलाई परिवर्तन नगर्ने पनि अमेरिकाले दाबी गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणलाई लिएर वाशिंटन र बेइजिङबीच बढ्दो तनावका बीच सैन्य सामग्रीको प्रस्तावित बिक्री सार्वजनिक भएको छ ।  

हार्पुनहरू बोइङले तटीय–जल क्षमताका साथ उत्पादन गरेको एन्टी–शिप होमिङ मिसाइलहरू हुन् । यसअघि संयुक्त राज्य अमेरिकामा ताइपेई आर्थिक र सांस्कृतिक प्रतिनिधि कार्यालय (टेक्रो)ले ६० वटा मिसाइल र सम्बन्धित उपकरणहरू किन्न अनुरोध गरेको थियो ।

साइडवाइन्डरहरू हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू हुन् जुन रेथियनले प्रक्षेपणपछि लक्ष्यहरूमा लक गर्न सक्ने क्षमताको साथ विकसित गरेको दाबी गरिएको छ । टेक्रोले १०० वटा मिसाइल र अन्य उपकरण खरिद गर्न अनुरोध गरेको थियो ।

वाशिंटनमा चिनियाँ दूतावासले यस हप्ताको शुरुमा प्रस्तावित हतियार बिक्रीबारे प्रतिक्रिया दिँदै बाइडेन प्रशासनलाई हतियार बिक्री बन्द गर्न आह्वान गरेको थियो । 

हतियार बिक्रीले ताइवान स्ट्रेटमा तनाव निम्त्याउन सक्ने भन्दै चीनले सो आग्रह गरेको थियो । रासस÷एनआई 
 

salt training

कमेन्ट गर्नुहोस्