११ साउन २०८३, सोमबार

फर्निचरको कच्चा सामग्रीमा लाग्दै आएको कर छुट दिन व्यवसायीको माग

फर्निचरको कच्चा सामग्रीमा लाग्दै आएको कर छुट दिन व्यवसायीको माग

फर्निचर तथा फर्निसिङ व्यवसायलाई टिकाउनका लागि विदेशबाट आयात हुने कच्चा सामग्रीमा लाग्दै आएको करलाई निःशुल्क गर्न व्यवसायीहरूले माग गरेका छन् । 

काठमाडौंको भृकुटीमण्डपमा जारी फर्निचर तथा फर्निसिङ सामग्रीहरूको वृहत प्रदर्शनीमा सहभागी व्यवसायीहरूले व्यवसाय टिकाउनका लागि विदेशबाट आयात हुने कच्चा सामग्रीमा भन्सार शुल्क नलिन सरकारसँग माग गरेका हुन् । फर्निचर तथा फर्निसिङ व्यवसायका लागि कच्चा सामग्रीहरू भारतलगायत तेस्रो मुलुकबाट आउने गरेको र तयारी सामग्रीको जति नै भन्सार शुल्क तिर्नुपरेको दुःखेसो व्यवसायीहरूले गरेका छन् । 

एसपी ग्यालरीका अध्यक्ष रामचन्द्र शर्माले कच्चा पदार्थमा लाग्दै आएको भन्सार शुल्कलाई कम अथवा मिनाहा गर्न सरकारसमक्ष माग गरे । उनले भन्सार शुल्क बढी भएमा विदेशी उत्पादनसँग नेपाली उत्पादनले प्रयोग गर्न नसक्ने उनको भनाइ छ । करको दायरा घटेमा यो व्यवसायको दायरा अझ फराकिलो हुने र देशमा धेरैभन्दा धेरै रोजगारी सिर्जना हुने बताए । 

युनाइटेड फम एण्ड मेट्रेस इण्डष्ट्रिजका सञ्चालक दिलसाद आलमले काठका सामग्रीहरू विदेशबाट लिनुपरेको भन्दै फर्निचरवालाहरूलाई टेण्डरमा लगाएर नेपालकै प्रयोग गर्न लगाउनुपर्ने बताए । उनले नेपालकै फर्निचर तथा फर्निसिङ सामग्रीहरूलाई प्रयोग गर्ने चलन बढेको बताए । 

‘काठका सामानहरू विदेशबाट ल्याउनुपरेको छ । भारत, पाकिस्तान, बंगलादेशबाट । सरकारले फर्निचरवालाहरूलाई टेण्डरमा गराएर यहीँको प्रयोग गर्न पाउनुपर्छ । विदेशीलाई भन्दा नेपालकै सामानलाई बढी प्रयोग गरिरहेको अवस्था छ अहिले । हामी व्यवसायीले पनि नेपालमै बनेको सामानलाई प्रयोग गरिरहेका छौँ’, उनले भने । 

व्यवसायी द्रोण न्यौपानेले नेपालमा विदेशी उत्पादनको तुलनामा नेपाली उत्पादन नै बढी बिक्री भइरहेको बताए । 

भृकुटीमण्डपमा जारी प्रदर्शनी भदौ २७ गतेसम्म चल्ने जनाइएको छ । फर्निचर तथा फर्निसिङ सामग्रीहरूको बृहत प्रदर्शनीमा अवलोकनकर्ताहरूको भीड लागेको छ । प्रदर्शनीमा सोचे भन्दापनि धेरै अवलोकनकर्ताहरूले अवलोकन गरेको व्यवसायीहरूको भनाइ थियो । 

salt training

कमेन्ट गर्नुहोस्