०५ साउन २०८३, मंगलबार

महालक्ष्मीको १६ दिने विशेष आराधना समापन आज गरिँदै

महालक्ष्मीको १६ दिने विशेष आराधना समापन आज गरिँदै

वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल अष्टमीदेखि शुरू गरेको १६ दिन लामो महालक्ष्मी व्रत शनिवार विधिपूर्वक समापनको तयारी गरेका छन् ।

धनधाञ्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीअर्थात् आजकसम्म १६ दिन विधिपूर्वक यो व्रत गरिन्छ ।

यो व्रत गर्नेले ब्रह्मचर्यमा रही भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ ।  
  
प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एक पटक मात्र नून खाएर महालक्ष्मी व्रत गरिन्छ । १६ दिनसम्म प्रत्येक दिन बेलुकी चन्द्रमालाई अघ्र्य दिई शनिवार बेलुकी यो व्रत समापनको गरिन्छ ।

यसरी व्रत गरेमा धन, सम्पत्ति, वैभव प्राप्त हुने विश्वास छ । विशेष गरेर नारीले गर्ने यो व्रतले घरमा महालक्ष्मीको बास भई दुःख, दारिद्रय नाश हुने र सुख, शान्ति एवं ऐश्वर्य मिल्ने धार्मिक विश्वास छ ।
 
भगवान् शंकरले यो व्रतविधि भगवती पार्वतीलाई बताएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले जानकारी दिए । यो व्रतका प्रभावले मृत्युपछि पनि दिव्यधाम प्राप्त हुने, अलक्ष्मी नाश हुने वर्णन विभिन्न ग्रन्थमा गरिएको छ । 
 
देवराज इन्द्रले समेत महालक्ष्मीको व्रत एवं पूजा आराधना गरी महालक्ष्मी अष्टकम् नामक स्तोत्र समेत रचना गरेको महालक्ष्मी व्रत विधिमा उल्लेख गरिएको छ । बिहान, मध्याह्न र साँझ समेत ३ पटक महालक्ष्मी अष्टकम् पाठ गरेमा धनधाञ्य, सुख वैभव प्राप्त गर्नाका साथै शत्रु समेत नाश हुने उनले बताए ।
 
प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीसम्म १६ दिन, आश्विन शुक्ल पूर्णिमा र कार्तिक कृष्ण आमावास्या गरी ३ पटक विशेष रूपमा महालक्ष्मीको पूजा आराधना गर्ने वैदिक परम्परा छ । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म दुर्गा पक्षका क्रममा पनि महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि पूजा आराधना गरिन्छ । यी समयमा महालक्ष्मीको विधिपूर्वक पूजा आराधना गरेमा सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने भएकाले वैदिक सनातन धर्मावलम्बीले घरघरमा उपासना गर्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्