
आउँदो ३६ घण्टासम्म निर्जल र निराहार भएर मनाइने कठोर व्रत जितियाअन्तर्गत उपवासको क्रम शनिवार एकाबिहानैदेखि शुरू भएको छ ।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने यो पर्वका लागि आज बिहानैदेखि सम्पूर्ण मिथिलाञ्चलका नारीहरूले उपवास शुरू गरेका छन् ।
नेपाल र भारतका विभिन्न भागमा नहा खा (नुहाएर खानु) विधिअनुसार शुक्रवारदेखि पर्व शुरू होे ।
व्रत बस्नुअघि शुक्रवारका दिन व्रती महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौंलाको पातमा भगवान् जितमाहन र दिवंगत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रूपमा चढाई परिवारका सबै सदस्यलाई खुवाएर आफूले पनि खाएका थिए ।
बिहानैदेखि निराहार एवं निर्जल व्रत शुरू गरेर आइतवार बेलुका ५ बजेपछि मात्रै व्रतीले व्रत सम्पन्न गर्ने जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकले बताए । तराई मधेसका मधेशी तथा थारु महिलाले मनाउने यस पर्वमा महोत्तरीका सयौं व्रतालुले जिल्लाको विग्ही, रातो जङ्गहा, अंकुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर, बरुणसागर, भार्गव सरोवर लगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुने गर्दछन् । यो कथा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ ।
व्रत बस्नु अघिल्लो दिन व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौंलाको पातमा पिना, सख्खर र तोरीको तेल सहितका पदार्थ चढाउनुपर्छ । देवतालाई चढाएकै तेलबाट आ–आफ्ना सन्तानलाई पनि लगाउन दिनुपर्छ । व्रतको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ जसलाई स्थानीय भाषामा ‘माछ मरुवा (कोदो)’ भनिन्छ ।
धार्मिक विधिपूर्वक शनिवार एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिलाले ओंगठन अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ । प्रायजसो महिलाले ओंगठनमा च्यूरा र दही खाने गरेको पाइन्छ । त्यसपछि कठोर उपवासको क्रम शुरू हुन्छ । आश्विन कृष्णपक्षको अष्टमीका दिन मनाइने यो व्रत विशेष रहेको जलेश्वर नगरपालिका–८ पण्डित कालीकान्त झाले बताए ।
यस पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व छ । मटिहानीस्थित यालना संस्कृत विद्यापीठका प्राध्यापक धु्रव रायले भने, ‘यस पर्वले मिथिलाका महिलाको सांस्कृतिक भूमिका र महत्त्व पनि उजागर गर्छ ।’
पितृ पक्षमा मनाइने पर्वमा महिला आफैंले दिवंगत पितृलाई पिण्ड चढाउँछन् ।
मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ । उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले यस पर्वलाई खड जितिया पनि भनिएको हो । फेरि एक पटक असफल भएकी व्रती आजीवन व्रत बस्न पाउदिनन् ।
राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले ७ जनै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले त्यसैबेलादेखि यो व्रत शुरू भएको पौराणिक कथन छ । जीवनमा १ पटक टुटेपछि पुनः गर्न नपाइएने हुँदा हत्तपत महिलाले यो पर्व अँगाल्दैनन् तर मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले जीवनमा एक पटक यो पर्व अपनाउनै पर्ने चलन रहेको छ ।