
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ मा सोमवार राति गोली लागेर मृत्यु भएका हरिवन नगरपालिका–२ घर भएका लाला मोहम्मदको अपराधको बाटोले आफ्नै ज्यान लिएको छ ।
२०६४ असार २० गते अनामनगरस्थित धोवी खोलामा बाराका बलराम पटुवालाई गोली हानी हत्या गरेको अभियोगमा उनी १० वर्ष जेल जीवन बिताएर बाहिर निस्केका थिए ।
उनलाई पनि त्यसरी नै बलराम पटुवा समूहले गोली हानी हत्या गरेको प्रहरीले अनुमान लगाएको छ ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार घटनामा २०६४ सालको बदला लिएको देखिन्छ ।
मोहम्मद भारतीय नक्कली नोटमा संलग्न रहेको पनि प्रहरी अधिकारीले बताएका छन् ।
‘उनले भारतीय नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने पनि खुलेको छ । हामीले अनुसन्धान गरिरहेका छौँ,’ एक अधिकारीले लोकान्तरसँग भने ।
बलरामको गोली हानी भएको हत्या अभियोगमा लाल मोहम्मद र पप्पु गुप्तालाई प्रहरीले पक्राउ गरेको थियो । सोही घटनामा संलग्न अर्का व्यक्ति मुन्नु खान भनिने इल्ताव हुनेस अन्सारीलाई प्रहरीले २०६६ सालमा पक्राउ गरेर मुद्धा चलाएको थियो ।
भारतीय नक्कली नोट कारोबारको विषयमा विवाद हुँदा त्यो समयमा लाल मोहम्मदको समूहले बलरामलाई गोली हानेको प्रहरीले निष्कर्ष निकालेको थियो ।
प्रहरी अधिकारीहरूका अनुसार उनीहरूले पाकिस्तानबाट नक्कली नोट ल्याएर भारतसम्म पुर्याउने गरेको देखिएको थियो ।
लाल मोहम्मदको हिजोे(सोमवार) बेलुका अज्ञात समूहले गोली हानेर फरार भएका छन् ।
गोठाटारमा एजेन्जर इन्टरप्राइजेज वर्ड वेष्ट गार्मेन्ट सञ्चालन गर्दै आएका लाल मोहम्मदलाई बेलुका आफ्नो गार्मेन्टको अगाडि गोली प्रहार भएको हो ।
घटना भए लगत्तै उनलाई नजिकैको अस्पताल लगिएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि टीयू टिचिङ अस्पताल महाराजगञ्ज पुर्याइएको थियो ।
टाउको २ वटा गोली, दायाँ हात र दायाँ गोडामा गोली लागेका उनको अस्पतालले सोमवार राति नै मृत घोषणा गरेको थियो ।
प्रहरी अधिकारीहरूका अनुसार उनी बेलुका गार्मेन्टलाई चाहिने सामान बा६च ५१५२ नम्बरको गाडीमा लिएर फर्किएका थिए । गोठाटार गार्मेन्ट अगाडि आएर गाडीबाट झर्ने बित्तिकै उनलाई रातो सर्ट र जिन्स पाइन्ट लगाएर आएका एक जना व्यक्तिले गोली प्रहार गरेको सार्वजनिक भएको सीसीटीभी फुटेजमा देख्न सकिन्छ ।
उनलाई ती व्यक्तिले गाडी वरिपरी लखेटी लखेटी गोली हानेका थिए ।
प्रहरीले घटनास्थलबाट एउटा पेस्तोल बरामद गरेको छ भने उनीहरु फरार छन् ।
माथिल्लो तलामा लाला मोहम्मदका परिवार बस्दै आएका थिए भने तल्लो तल्लामा गार्मेन्ट चलाउँदै आएका थिए ।
गोली चलेपछि उनकी छोरी घरको माथिल्लो तल्लाबाट हाम फालेर गोली हान्ने व्यक्तिलाई लखेटेको सीसीटीभी क्योमरामा कैद भएको छ ।