०७ असार २०८३, आइतबार

बाल विकास कक्षाका भरमा मनाङका विद्यालय

बाल विकास कक्षाका भरमा मनाङका विद्यालय

हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भए पनि विद्यार्थी न्यून छन् ।

 अभिभावकले बालबालिकालाई अन्यत्र सार्ने प्रवृत्तिले यहाँ विद्यार्थी बाल विकासबाहेकका विद्यार्थी शून्य भएका हुन् । शिक्षा विकास तथा समन्वय एकाइका अनुसार जिल्लाका २८ विद्यालयमध्ये १४ विद्यालयमा बाल विकासका कक्षा मात्रै सञ्चालन भएको देखिन्छ । 

नासों गाउँपालिकामा आठ, मनाङ ङिस्याङ गाउँपालिकामा दुई, चामे गाउँपालिकामा दुई र नार्पाभूमि गाउँपालिकामा दुई गरी १४ विद्यालयमा बाल विकासका विद्यार्थी मात्रै रहेको शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख मतिलाल चपाईले जानकारी दिए । उनका अनुसार जिल्लाका १४ विद्यालयमा बालविकासका कक्षा मात्रै सञ्चालन भएको छ । “भवन र शिक्षक भएका ती विद्यालयमा बालविकास सकिएना साथ विद्यालयमा शून्य विद्यार्थी हुने गरेका छन्”, प्रमुख चपाईले भने ।  

मनाङमा बाढी पहिराको जोखिम र विद्यालय टाढा भएकाले विद्यार्थी घटेको हुनसक्ने अनुमान गरिएको उनले बताए । जोखिम अवस्थामा रहेका विद्यालयको अवस्थाले पनि विद्यार्थी अन्यत्र सरेको उनको भनाइ छ । शैक्षिक सुधारका विभिन्न कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्वयन गरिए पनि विद्यार्थी भने शून्य नै रहेको उनले बताए । विद्यार्थी शून्य हुँदै जानुका विषयमा स्थानीय सरकारसमक्ष विभिन्न तवरबाट छलफल भइरहेको उनले बताए । 

जिल्लाका चार पालिकाका विभिन्न विद्यालयमा विद्यार्थीविहीन भएको छ । 
 

कमेन्ट गर्नुहोस्