
पर्वतमा दिन प्रतिदिन डेंगु संक्रमणका बिरामीको संख्या बढ्दै गएको छ । गत साउनदेखि बिरामीको संख्या बढ्दै जाँदा पर्वत अस्पतालमा भने कीट अभाव भएको छ ।
अस्पतालमा कीट अभाव हुँदा डेंगुका लक्षण देखिएका बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल तथा पोखरा र बागलुङ जान बाध्य भएका छन् । पर्वत अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले आफूहरूले नै खरिद गरेर ल्याएको दुई सय कीट परीक्षणको क्रममा सकिएकाले अहिले कीट नभएको बताइन् ।
‘अस्पताल विकास समितिबाट निर्णय गराएर हामी आफैँले कीट खरिद गरेर परीक्षण गर्दै आएका थियौँ । हामीले ल्याएको दुई सय कीट सकिएपछि फेरि दुई सय कीट माग गरेका छौँ’, उनले भनिन्, ‘अन्य अस्पतालमा जुन दरमा डेंगुको परीक्षण भइरहेको छ त्यसरी नै सेवा दिने भनेर एक जनाको परीक्षणको रु आठ सय मात्र लिएका छौँ । माग गरेको कीट आएपछि परीक्षणमा समस्या हुँदैन ।’ कीट आइपुग्न अझै केही दिन लाग्ने उनले बताइन् । सरकारले निःशुल्क परीक्षण गर्ने डेंगु पर्वतका बिरामीले सरकारी अस्पतालमै पनि महँगो शुल्क तिरेर परीक्षण गर्न बाध्य भएका हुन् ।
उनका अनुसार केही समय पहिलेसम्म अस्पताललाई आवश्यक परेका सामग्री प्रदेशबाट जिल्ला स्वास्थ्य कार्यालयलाई दिएर, स्वास्थ्य कार्यालयले जिल्ला अस्पतालसहित जिल्लाका अन्य ठाउँमा रहेका स्वास्थ्य संस्थालाई उपलब्ध गराउने गरेको थियो । तर, अहिले त्यो नियम परिवर्तन गरेर स्वास्थ्यले वितरण नगरी प्रदेश आपूर्तिले प्रदेश ल्याबलाई र प्रदेश ल्याबले जिल्लामा रहेका अस्पताललाई सामग्री उपलब्ध गराउने नियम छ ।
यही नियमका कारण स्वास्थ्य कार्यालयले अस्पताललाई परीक्षण कीट उपलब्ध गराउन नसक्ने स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले जानकारी दिए । अहिले डेंगुको प्रभाव बढ्दै गइरहेको बेलामा नागरिकले पाउने स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित हुनुपर्ने उनको भनाइ छ । स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयमा नआउने भएकाले माथिबाट आउँछ कि आउँदैन भनेर पर्खिएर बस्नुभन्दा जिल्लाका सबै स्थानीय तहहरूले नै नागरिकको आधारभूत स्वास्थ्यको जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।
परीक्षण कीट ठूलो परिमाणमा किन्नुपर्ने भएकाले प्रदेश स्वास्थ्य मन्त्रालयको आपूर्ति महाशाखा टेन्डरको प्रक्रियामा जानुपर्ने र यही बेलामा आर्थिक वर्ष परिवर्तनपछिको समय रहेकाले अलि अभाव रहेको कुरा आफूले बुझेको अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले बताए । तर, माथिबाट कीट नआएको बहानामा बिरामीलाई निजी वा जिल्ला बाहिरका महँगा अस्पतालमा जान बाध्य नपार्नका लागि फरक शीर्षकको रकमबाट कीट ल्याएर भए पनि काम चलाइएको उनको भनाइ छ ।
जिल्ला अस्पतालले रु ८ सयमा डेंगुको परीक्षण गरिरहेको बेलामा बजारमा रहेका निजी स्वास्थ्य संस्थाले भने रु १ हजार २ सय वा त्यसभन्दा बढी रकम लिने गरेका छन् । एकै प्रकारको कीटबाट परीक्षण गरेको भए पनि मूल्य भने कम्तीमा पनि पर्वत अस्पतालको भन्दा रु चार सयभन्दा बढी लिने गरेको परीक्षणमा गएका बताउँछन् ।
सुपरिन्टेन्डेन्ट डा अधिकारीका अनुसार अहिलेसम्म अस्पताल परीक्षणमा आएकामध्ये ३५ मा डेंगुको संक्रमण पुष्टि भएको छ । निजी तथा जिल्लाका अन्य क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा भएको पुष्टिको तथ्यांक अस्पतालसँग नहुने भएकाले डेंगुका बिरामीको वास्तविक संख्या धेरै रहेको हुनसक्ने उनले बताए । रासस