१० साउन २०८३, आइतबार
स्वास्थ्य सेवा

काठमाडौंको सुविधा छाडेर मुटुरोगीको उपचार गर्न बाहिर निस्किएका डा. दुबे

असोज १५, २०७९
काठमाडौंको सुविधा छाडेर मुटुरोगीको उपचार गर्न बाहिर निस्किएका डा. दुबे

रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा कार्यरत डा. लक्ष्मण दुबे वरिष्ठ मुटु रोग विशेषज्ञ हुन् । उनी काठमाडौं उपत्यकाबाहिर मुटुरोगसँग सम्बन्धित उपचार क्याथल्याबका अभियान्ताका रूपमा परिचित छन् ।

मुटुरोग उपचारमा १७ वर्ष बिताएका युवा चिकित्सक डा. दुबे मुटुरोग विशेषज्ञ एमबीबीएस, एमडी, डीएम हुन् । बिरामी हेर्न कहिल्यै अल्छी नमान्ने उनले काठमाडौंको गंगालाल मुटुरोग अस्पतालबाट कार्डियोलोजीसँगै डीएम गरेका हुन् ।

दुबे रूपन्देही झरेपछि बुटवलमा मुटुरोगका बिरामीको उपचारले तीव्रता पाएको छ । 

डीएम गर्ने मुटुरोग विशेषज्ञमध्ये औलामा गन्न सकिने चिकित्सक मध्येका दुबेलाई खोज्दै बिरामीहरू अस्पताल पुग्छन् । उपचारमा निखारिएका दुबेले मुटु उपचारका सारथिको पहिचान बनाएका छन् । मुटुको उपचारमा डीएम कार्डियोलोजी गर्ने लुम्बिनी प्रदेशमा जम्मा ५–६ जना चिकित्सक मात्र छन् ।

उनी आफूकहाँ पुगेका बिरामीलाई सही उपचार मात्र नभई सल्लाह पनि दिन्छन्, जसले गर्दा उनीप्रति बिरामीको विश्वास मात्र होइन, भरोसा पनि बढेको छ । निम्न मध्यम वर्गीय परिवारमा रूपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जन्मिएका पढाइमा अब्बल दुबेले २०४९ सालमा सामुदायिक विद्यालय शान्ति नमूना माविबाट तत्कालीन एसएलसी ७८ प्रतिशत अंक ल्याएर उत्तीर्ण गरेका थिए । 

प्रवेशिका परीक्षा उत्तीर्णपछि आईएस्सी अध्ययन गर्न उनी काठमाडौंको अस्कल क्याम्पस पुगे । आईएस्सी सकेर उनी एमबीबीएस अध्ययनका लागि छिमेकी राष्ट्र चीन पुगे । सन् २००३ मा उनी एमबीबीएस सकाएर बुटवलस्थित साविक लुम्बिनी अञ्चल अस्पताल (हाल प्रादेशिक) मा ‘इन्टर्नशिप’का लागि आए, सरकारले तोकेका मापदण्ड सबै पूरा गरे ।

‘इन्टर्नशिप’ पूरा गरेसँगै उनले काठमाडौंस्थित गंगालाल मुटु अस्पतालमा मुटुरोग विशेषज्ञ भएर कार्डियोलोजी सेवा शुरू गरे । त्यहाँ उनले कामसँगै काठमाडौं बाहिर पनि मुटुको उपचार हुनुपर्छ भन्ने सोचले विभिन्न क्षेत्रको अध्ययन गरे ।

सन् २०११ सम्म काठमाडौं बाहिर मुटुको उपचार थिएन । चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मात्र क्याथल्याब सेवा उनै दुबेको पहलमा आएको हो । भरतपुरमा काठमाडौं बाहिर दुबेले क्याथल्याब सेवा शुरू गरे । त्यहाँ उनले सन् २०१७ सम्म ७ वर्ष सेवा गरे । त्यहाँ उनले सेवासँगै एमडी र डीएमको उच्च शिक्षा पूरा गरे । डीएम गरेर उच्च शिक्षा पूरा सक्ने बेलासम्म दुबेले १ हजार ५०० भन्दा बढी मुटुका जटिल ‘केस’हरूको सफल उपचार र शल्यक्रिया गरिसकेका थिए । उनले २ हजार मुटुका बिरामीको एन्जियोग्राफी, एन्जिओप्लास्टी र पेसमेकर गरिसकेका छन् । 

उनी आउनुअघि बुटवलमा एन्जिओप्लास्टी हुँदैन्थ्यो । एन्जियोप्लास्टी कोरोनरी धमनी रोगको व्यवस्थापनको एक उपचार पद्धति हो, अपरेसन विना एक वा धेरै धमनीहरू ‘अनलक’ गर्ने गरिन्छ । एन्जियोप्लास्टी प्रायः एक स्टे«टको प्लेसमेन्टसँगै धमनी फेरि अवरुद्ध हुनबाट रोक्न लागि हुने उनको भनाइ छ । 

मुटुका आकस्मिक बिरामीहरू राजधानीसम्म पुग्न नपाउँदै अकालमै ज्यान गुमाउनुपर्ने अवस्था थियो । मुटुको समस्याले कसै बिरामीको घरमै त कसैको बाटोमै मृत्यु भएका घटनाहरू धेरै छन् । अहिले बुटवलमा मुटुको राम्रो उपचार सेवा विस्तार भएको डा. दुबे बताउँछन् । 

मुटुमा जटिल समस्या भएका बिरामीका लागि एन्जियोग्राफी, एन्जियोप्लास्टी र पेसमेकर प्रत्यारोपणमा न्यूरो कार्डियो क्रिमसनले फड्को मारेको जनाइएको छ । नेपाली र भारतीय मुटुरोगीले सेवा पाउँदै आएको अस्पतालमा जटिल शल्यक्रियाका लागि आवश्यक पर्ने प्रविधि र विशेषज्ञ चिकित्सक उपलब्ध भएसँगै उपचार गराउने बिरामीको संख्या बढ्दै गएको छ । मुटु उपचारको क्रममा उनले मुटु रोगीहरू पहिलेभन्दा धेरै फरक पाएका छन् ।

‘८–१० वर्ष अघिसम्म जोर्नी दुख्ने, घाँटी दुख्ने र मुटुका (ढोका) भल्ब बिग्रने बिरामी हुन्थे । बाथ मुटुरोग बढी थियो । अहिले त्यो अवस्था धेरै फरक छ । अहिले मुटुका धमनीका रोगहरू (हृदयघात) बढेको छ । ४० वर्षमुनिका युवामा हृदयघात भएर एन्जिओप्लास्टी गर्नुपर्ने अवस्था आएको छ । पहिले ५५ वर्षभन्दा माथि उमेरका मानिसमा हृदयघात भएका हुन्थे,’ उनले भने, ‘मानिसको आर्थिक हैसियत पहिलेभन्दा धेरै फेरिएको छ । खानपानमा हुने हेलचक्र्याइँका कारण खान नपाएर लाग्नेभन्दा खान पाएर लाग्ने रोग बढ्दै गएको देखिन्छ ।’

उनलाई सबैभन्दा बढी खुशी आफूले उपचार गरेको बिरामी निको भएर घर फर्किंदा मिल्छ । उनी भन्छन्, ‘हरेक मृत्युको कारणमध्ये ३२ प्रतिशत मुटुरोग हो । नेपालमा मुटुरोग बढ्दो क्रममा छ । नेपालीमा खानपान र स्वास्थ्यप्रति सचेतना छैन । रोगप्रतिको गम्भीरता नै नेपालीमा नहुँदा ‘साइलेन्ट किलर’ रोगहरू बढदै गएका देखिन्छन् ।’

अहिले मुटुका धमनीको समस्या तथा हृदयघात हुने समस्या बढ्दो क्रममा छ । विश्वमा प्रत्येक वर्ष १ करोड ८० लाख मानिसहरू मुटुरोगका कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले बताउँछ, त्यसमा सबैभन्दा धेरै दक्षिण एसियाका छन् । 

असन्तुलित खानपिन तथा शारीरिक व्यायामको कमीले निम्त्याउने हृदयघातका बिरामीको बायाँ भागतर्फको छाती क्रमशः दुख्दै दायाँ हाततर्फ सरेमा तत्काल विशेषज्ञ चिकित्सकसम्म पुग्नुपर्ने डा. दुबेको आग्रह छ । त्यसबाहेक पनि मुटुको नलीमा हुने समस्या, भल्बमा पर्ने प्वाल र नली पुरिने, मुटुकै मांसपेशीमा देखिने समस्या र उच्च रक्तचाप र मधुमेहका बिरामी हृदयघातको उच्च जोखिममा हुने गर्छन् ।

मुटु रोगको उपचार मंहगो मानिन्छ । अहिले सरकारले मुटु रोगका गम्भीर बिरामीलाई केही भए पनि आर्थिक सहायता गर्दै आएको छ । ‘नेपालीमा ‘हर्ट अट्याक’ बेहोस नभई हुँदैन भन्ने बुझाइ छ, बिरामी बेहोस भएर ढलेपछि मात्रै बल्ल स्वीकार गर्छन्,’ उनले भने । उच्च रक्तचाप र सुगरका बिरामीमा लक्षण नदेखाई झुक्क्याएर ‘हर्ट अट्याक’ हुने गरेको डा. दुबेको भनाइ छ । 

लक्षण खासै नदेखिएको अवस्थामा बिरामीले सामान्य रूपमा लिँदा समयमा उपचार पाउने अवस्थालाई पर धकेल्ने र बिरामीको मृत्यु हुने सम्भावना रहने कुरालाई नेपालीले गम्भीर रूपमा लिनुपर्ने उनले बताए । शारीरिक व्यायाम, सन्तुलित खाना र आनीबानीमा ख्याल गरे मुटुरोगबाट बच्न सकिने उनको सुझाव छ । ‘आम नेपालीहरूले वेस्टर्न लाइफ स्टाइललाई फलो  गरेका छौं,’ दुबे भन्छन्, ‘शारीरिक परिश्रम कम गर्छन्, जंकफूड बढी खाने, चुरोट, सुर्ती, अल्कोहल बढी सेवन गर्न थालेका छन्, जसले गर्दा मुटुरोग र ब्रेन सम्बन्धी रोगी बढ्दैछन् ।’

सुगर र प्रेसर भएका बिरामीलाई मुटुरोग लाग्ने सम्भावना बढी हुन्छ । उनले दैनिक ५० केस हेर्दा ३० जनाभन्दा बढी मुटुरोगी बिरामी उनीसमक्ष पुगेका हुन्छन् । ‘वंशाणुगत हृदयघात हुने गरेको परिवारले नियमित मुटुको जाँच गर्न आवश्यक हुन्छ । मानसिक तनावले पनि मुटुरोग बढाउँछ,’ उनले भने ।

मुटुरोगीको सेवामा लागेका चिकित्सक दुबेले चीनबाट ‘योग रिसर्च अवार्ड’ पाएका छन् । हालै सरकारले उनलाई प्रबल जनसेवा श्री पदबाट पनि विभूषित गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्