२६ असार २०८३, शुक्रबार
दशैं पर्व

खुशी लिएर दशैं मनाउन फर्किए परदेशी, पुनर्मिलनले हर्षविभोर परिवार [भिडियोसहित]

असोज १५, २०७९
खुशी लिएर दशैं मनाउन फर्किए परदेशी, पुनर्मिलनले हर्षविभोर परिवार [भिडियोसहित]

नेपालीहरूको महान चाड दशैं, तिहार र छठ डेढ महिनाकै बीचमा पर्ने ठूला चाड हुन् । यी चाडको महत्व स्वदेशमा बसेका नेपालीलाई जति हुन्छ त्यसभन्दा बढी विदेशमा रहेका नेपालीले हुने गर्दछ । विदेशमा बसेका नेपालीलाई दशैंको मुखमा छुट्टी मिलाएर आउन पाउनुको जति खुशी अरू हुँदैन । वर्षौंदेखि कामकाजको सिलसिलामा विदेशमा रहेका नेपाली दशैैंमा खुशी बोकेर आउने गरेको छन् । यो वर्षको दशैंमा पनि खुशी छोडेर जाने मात्रै नभएर आउनेको पनि लर्को उत्तिकै छ । शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाडबाडको मुखमा स्वदेश आइपुग्दा वैदेशिक रोजगारीमा विदेशिएका श्रमिकहरू खुसी देखिए । लामो समयपछि परिवारसँग बसेर चाड बनाउन पाउनुको खुसी उनीहरूको अनुहारमा प्रष्टै देखिन्थ्यो । 

सर्लाहीका दिलकुमार कुशवाह मलेसियाबाट ४ वर्षपछि स्वदेश फर्किएका छन् । परिवारका सदस्यसहित दशैं मनाउन आएका कुशवाह आफूलाई अत्यन्तै खुशी लागेको बताउँछन् । उनलाई स्वागत गर्न श्रीमती र छोरी विमानस्थलमै पुगेका थिए । श्रीमती र छोरीसँग कुशवाह स्वदेश आइपुग्नु नै ठूलो खुशी भएको बताउँदै थिए । उनले भने ‘विदेशमा बसेर जतिबेला पनि कामकै चिन्ता हुने गथ्र्यो, दशैंको मुखमा स्वदेश फर्कन पाउँदा जति खुशी अरु कुनै लागेको छैन ।’

मलेसियाबाट ८ वर्षपछि फर्किएका हरिकृष्ण भण्डारीले पनि दशैंकै मुखमा स्वदेश फर्कन पाउँदा असाध्यै खुशी लागेको बताए । उनले भने ‘विदेशमा बसेर काम गर्दा नेपालमा घर परिवारको याद आइरहन्छ । आउँछु भनेर छुट्टी मिलाउन खोज्यो पाइँदै–पाइँदैन । बल्ल–बल्ल छुट्टी मिलाएर यसपालि आउन पाए ।’  महेन्द्रनगर घर भएका भण्डारी परिवार भेट्ने हतारोले विमानस्थलबाट सोझै घरतर्फ लागे ।

जापानबाट ४ वर्षपछि फर्किएकी राजकुमारी शाही विमानस्थल झर्नेबित्तिकै खुशीले गद्गद् भइन । उनलाई स्वदेश आइपुग्नु नै खुशीको विषय बन्यो । दशैंको मुखमा परिवार भेट्न पाउनुले थप उत्साहसमेत दिलायो । आबुखैरेनी घर भएको शाहीले आफन्तसँगै दशैं मनाउने र डेढ महिनाको छुट्टीलाई भेटघाट र हासी–खुशीमै बिताएर फर्कने बताइन् ।

मलेसियामा ८ वर्ष काम गरेर स्वदेश फर्किएका भद्रवीर चौधरी विमानस्थलमा आइपुग्दा मातृभूमिको मायाले अत्यन्तै खुशी दिएको बताउँछन् । उनले भने ‘८ वर्षपछि स्वदेश फर्कदा लागेको खुशी शब्दमा व्यक्त नै गर्न सकिरहेको छैन ।’ २ महिनाको छुट्टीमा आएका चौधरीले यसपटक परिवारसँग बसेर मनाउन पाइने चाडबाडलाई निकै उत्साहका साथ हेरेका छन् ।  

संयुक्त अरब इमिरेट्स (यूएई)बाट १५ वर्षपछि दशैं मनाउन २ महिनाको बिदा मिलाएर आएका पोखराका बाबुराम विश्वकर्मा स्वदेश आउँदा खुशी छन् । तर, उनले ६ महिनादेखि गलामा लगाइरहेको ५४ ग्रामको सुनको सिक्रीले भने उनलाई तनाव दियो । विमानस्थल भन्सार कार्यालयले उनलाई भन्सार नतिरी उक्त सिक्री ल्याउन दिएन । काठमाडौं आएको ३ दिनपछि ४ ग्रामको भन्सार दिएर गएका विश्वकर्मा मजदुरलाई दुःख दिने नियत मात्रै सरकारको रहेको भन्दै गुनासो गर्दै थिए । 

धनकुटाका सन्तोष थापा पनि ७ वर्षपछि क्यानडाबाट दशैं मनाउनकै लागि स्वदेश आएका छन् । उनी स्वदेश आउन पाउनुमा जति खुशी थिए त्योभन्दा बढी तनाव उनलाई पनि विमानस्थल भन्सार कार्यालयले दियो । श्रीमती सुस्मिता अधिकारी र दुई छोरासहित स्वदेश आएका थापाले ३ वटा आइफोन ल्याएका रहेछन् । उनले प्रतिव्यक्ति एउटा फोन ल्याउन दिने भन्सारकै नियमविपरीत आफूहरूलाई भन्सार तिराएको विषयमा भने दुखेसो पोखे ।

 

salt training

कमेन्ट गर्नुहोस्