श्रीलंका सरकारले थप १० लाख विद्यालयका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरेको छ । श्रीलंका सरकारले थप १० लाख विद्यालयका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरेको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्दनाले जानकारी दिए ।
राष्ट्रपति रनिल विक्रमासिंघेले प्रस्तुत गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले सोमवार स्वीकृति दिएको उनले बताए । उक्त निर्णय तत्काल कार्यान्वयन गरिने सराकारका प्रवक्ताले बताएका छन् ।
उनले भने, ‘हालैका महिनाहरूमा, विद्यालयका बच्चाहरूको पोषणको बारेमा धेरै चिन्ताहरू भएका छन् । आर्थिक संकटका कारण धेरै बालबालिका बिहानको खाजा नखाई विद्यालय आउने गरेको समाचारहरू आएका थिए । यो पहलले चिन्तालाई सम्बोधन गर्नेछ ।’
श्रीलंका सरकारले यसअघि नै १० लाख ८० हजार विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराइसकेको र यसबाट सरकारलाई वार्षिक एक करोड २० लाख अमेरिकी डलर खर्च हुने बताउँदै उनले थप १० लाख विद्यालयका विद्यार्थीलाई खाना खुवाउँदा सरकारले बेहोर्ने खर्च दोब्बर हुने बताए ।