०३ साउन २०८३, आइतबार
प्रतिनिधिसभा निर्वाचन

मानुषीलाई कति सहज छ १५ वर्षअघि आमा विजयी भएको क्षेत्रमा चुनाव जित्न ?

असोज २४, २०७९
मानुषीलाई कति सहज छ १५ वर्षअघि आमा विजयी भएको क्षेत्रमा चुनाव जित्न ?

देशको राजधानी रहेको काठमाडौंमा अधिकांश पुराना उम्मेदवार दोहोरिँदा सत्ता गठबन्धनका तर्फबाट केही नयाँ अनुहारले टिकट पाएका छन्, ती मध्येकी एक हुन् मानुषी यमी भट्टराई । सत्ता गठबन्धनका तर्फबाट काठमाडौं– ७ मा मानुषीले प्रतिनिधिसभाका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकी छिन् । नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्य समेत रहेकी मानुषी माओवादीको चुनाव चिह्नबाट चुनाव लड्दैछिन् ।

राजनीतिक दलका नेतामध्ये मानुषी एक अपवाद हुन्, जसले राजनीतिक विरासतभन्दा पनि संघर्ष गरेर राजनीतिक करिअर बनाउँदैछिन् ।

बाबु डा. बाबुराम भट्टराई प्रधानमन्त्री रहेको समयमा पनि उनी एक सर्वसाधारणसरह सार्वजनिक यातायातमा हिँड्ने गर्थिन् । अन्य दलका नेताका छोराछोरीलाई जबरजस्त राजनीतिमा स्थापित गरिँदा मानुषीले क्याम्पसको राजनीति गर्दै मूलधारको राजनीतिमा प्रवेश गरेकी हुन् । उनी त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सचिव बनेकी थिइन् ।

माओवादी सशस्त्र जनयुद्धको समयमा कार्यकर्ताका छोराछोरीलाई पढाइ छोडाएर लडाकु बनाएको र नेताका छोराछोरीलाई विदेशमा पढ्न पठाएको भनेर आरोप लाग्ने गरेको थियो । त्यसको तारोमा पर्ने गरेकी थिइन्, मानुषी ।

स्वाभाविक रूपले उनको टिकटका लागि बाबुरामले पहल गरे । छोरीलाई चुनाव जिताउनका लागि आफ्नो क्षेत्र प्रचण्डलाई सुम्पिएको आरोप पनि बाबुराम माथि लाग्ने गरेको छ । बाबुराम–हिसिलाको छोरी हुनुको अतिरिक्त मानुषीले आफ्नै बलबुतामा राजनीतिक पहिचान बनाएकी छन् ।

एक सामाजिक र राजनीतिक अभियन्ताको रूपमा उनी विभिन्न आन्दोलन र कार्यक्रममा देखा पर्छिन् ।

आमाको विरासत रहेको क्षेत्र

काठमाडौं ७, जहाँबाट २०६४ सालको संविधानसभा निर्वाचनमा हिसिला यमीले चुनाव जितेकी थिइन् । तत्कालीन नेकपा माओवादीबाट उम्मेदवार बनेकी हिसिलाले १२ हजार २ सय ७६ मत पाएकी थिइन् । एमालेका राजेन्द्र श्रेष्ठले ८ हजार ८ सय १५ र कांग्रेसकी प्रमिला सिंह डंगोलले ७ हजार ७ सय ७ मत प्राप्त गरेकी थिइन् । 

२०७० सालको संविधानसभा निर्वाचनमा भने हिसिला एमालेका रामवीर मानन्धरसँग पराजित भएकी थिइन् । काठमाडौं– ७ मा काठमाडौं महानगरका १६, १७, १८ र २५, तारकेश्वरका ३, ४ र ५ तथा नागार्जुन नगरपालिको १ देखि ३ वडा पर्छन् । 

हिसिला यमी र मानुषी दुवैजना काठमाडौं– ७ मै जन्मेका हुन् । हिसिलाको जन्मथलो काठमाडौंको भुरुङखेल हो । यो क्षेत्रमा स्थानीयहरू मानुषीलाई ‘भाञ्जी’ भन्छन् ।

एमाले उम्मेदवारसँग मानुषी

मानुषीलाई अनुकूल कि प्रतिकूल 

काठमाडौंको शहरी क्षेत्रबाट चुनाव लड्न मानुषीका लागि केही सहज र केही प्रतिकूलता छन् । 

नेपाली कांग्रेसको प्रभाव रहेको क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवारको टिकट पाउनु मानुषीका लागि सकारात्मक पक्ष हो । 

मानुषी उठेको ठाउँमा सत्ता गठबन्धनको भारी बहुमत भोट छ । २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको वडागत नतिजा अनुसार काठमाडौं– ७ मा नेपाली कांग्रेस १४ हजार १ सय ७६, नेकपा एस ३ हजार ८ सय ३९ र माओवादी केन्द्रको ५ सय ७६ गरी जम्मा १८ हजार ५ सय ८२ मत छ ।

नेकपा एमालेको १२ हजार २ सय २ भोट छ । यो क्षेत्रमा नेकपा एमालेबाट श्याम घिमिरे उम्मेदवार छन् । २ हजार मत रहेको राप्रपाले ध्रुवविक्रम मल्ललाई उम्मेदवार बनाएको छ । 

काठमाडौंको मेयरमा बालेन साहलाई समर्थन गरेको ‘रुटिन अफ नेपाल बन्द’ जस्ता समाजिक सञ्जालका ठूला पेजको फेवर पनि मानुषीलाई देखिन्छ । राजनीतिशास्त्रमा स्वर्ण पदक पाएकी र पीएचडी गर्दै गरेकी युवा उम्मेदवार भन्दै प्रचार गरिदिएको छ । 

काठमाडौं– ७ बाट लगातार दुईपटक चुनाव जित्दै आएका एमाले नेता रामवीर मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । रामवीरले उम्मेदवारी फिर्ता गरेनन् र एमालेको भोट काटे भने त्यो मानुषीका लागि अनुकूल हुनेछ । यही क्षेत्रमा इञ्जिनीयर आकर्षण पोखरेलले पनि उम्मेदवारी दिएका छन्, स्वतन्त्र र युवाको भोट उनले पनि काट्न सक्छन् ।

मानुषीका लागि प्रतिकूल भनेको काठमाडौं– ७ मा माओवादीको जनमत राम्रो छैन । स्थानीय तह निर्वाचनमा माओवादीले ५ सय ६७ मत मात्र प्राप्त गरेको छ । उम्मेदवार नै कम भएका कारण भोट कम भएपनि अवस्था कमजोर नभएको माओवादीको दाबी छ । ‘नेपाली कांग्रेसले इमान्दारीपूर्वक गठबन्धनको पक्षमा भोट हाल्यो भने हामीलाई जित्न गाह्रो छैन,’ माओवादीका एक स्थानीय नेताले भने, ‘मानुषीलाई व्यक्तिगत प्रभावका आधारमा पनि धेरै नै भोट आउने अपेक्षा गरेका छौं ।’

मानुषी उठेको काठमाडौं– ७ मा गठबन्धनको तर्फबाट प्रदेश सभामा नेकपा एसमा वसन्त मानन्धर र कांग्रेसका सचिन तामाङ उम्मेदवार छन् । 

मानुषीको चुनावी अभियानको संयोजन गरिरहेका नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ उम्मेदवारी मनोनयनसँगै मानुषीको पक्षमा माहोल सिर्जना भइसकेको दाबी गर्छन् ।

‘एकजना सक्षम र योग्य महिला उम्मेदवार हुन् । राजनीतिक दलले टिकट दिएकामध्ये महिलातर्फ सम्भवतः कान्छो उम्मेदवार होला,’ श्रेष्ठले भने, ‘राजनीतिमा युवाको खोजी भइरहेको समयमा एक अध्ययनशील नेत्रीका रूपमा मानुषीको जीत सहज छ ।’

बालेनलाई भोट दिएको काठमाडौंको सचेत र शिक्षित युवा पुस्ताको भोट पाउने मानुषीको अपेक्षा छ ।

salt training

कमेन्ट गर्नुहोस्