०५ साउन २०८३, मंगलबार
बलात्कारको आरोप

सन्दीप लामिछाने प्रकरण : पीडित भनिएकी किशोरीले घटाएकै हुन् जन्ममिति ?

असोज २४, २०७९
सन्दीप लामिछाने प्रकरण : पीडित भनिएकी किशोरीले घटाएकै हुन् जन्ममिति ?

नेपाली क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरीले २ वर्ष उमेर घटाएको दाबी सन्दीपका वकिलहरूले गरेका छन् ।

यस्तो दाबीले सन्दीप लामिछाने प्रकरणमा नयाँ मोड आउन सक्ने संकेत देखिएको छ ।

केही दिनअघि नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पनि एक अन्तर्वार्तामा यस्तो संकेत गरेका थिए ।

लोकान्तरलाई प्राप्त सूचनाअनुसार पीडित किशोरी जन्म पर्सा जिल्लाको वीरगञ्जस्थित एक अस्पतालमा भएको थियो । 

उक्त अस्पतालको तथ्यांकमा उनको जन्ममिति २०५९ जेठ उल्लेख रहेको देखिएको वकिलहरूको दाबी छ ।​

सन्दीपका वकिलहरूले पनि उनी २०५९ साल जेठमा जन्मेको र जन्ममिति हेरफेर गरेको प्रमाण भेटिएको दाबी गरेका छन् ।

पीडित किशोरीको परिवार नुवाकोट बसाइँ सर्दा उल्लेख भएको बसाइँसराइ प्रमाणपत्रमा पनि ती किशोरीको जन्ममिति २०५९ उल्लेख रहेको ती अधिवक्ताले बताए ।

‘हामीले पीडित युवती बालिका नभएको पुष्टि हुने २ वटा प्रमाण फेला परेका छौं,’ ती अधिवक्ताले लोकान्तरसँग भने, ‘उनको जन्मदर्ता भने २ वर्ष घटाएर बनाएको देखिएको छ ।’

ती अधिवक्ताका अनुसार पीडित भनिएकी किशोरीको पछिल्लो जन्मदर्तामा जन्ममिति २०६१ असार उल्लेख गरिएको छ । त्यसै आधारमा नागरिकता बनाएको पाइएको छ ।

सन्दीपलाई हिरासतमा राख्न म्याद थप भएपछि काठमाडौं जिल्ला अदालतबाट बाहिरिने क्रममा अधिवक्ता सुधा रिमालले आफूहरूसँग ती किशोरी नाबालिग नभएको प्रमाण सुरक्षित रहेको दाबी गरिन् ।

‘पीडित नाबालिग नभएको हामीले तथ्य फेला पारेका छौं, त्यसको प्रमाण हामीसँग छ, त्यसलाई अदालतमा पेश गर्छौं,’ अधिवक्ता रिमालले भनिन् ।

उनका अधिवक्ताहरूले सन्दीपलाई फसाइएको दाबी गरेका छन् ।  

तर, उनीहरूले उमेर घटाएको प्रमाण सार्वजनिक भने गरेका छैनन् । अदालतमै पेश गर्ने उनीहरूको दाबी छ ।

न्यायाधीशलाई सन्दीपको प्रश्न : ‘गोपनीयताको हकको क्षतिपूर्ति कसले दिने श्रीमान् ?’

सोमवार अदालतमा पेश गरिएका सन्दीपले पक्राउ पूर्जी जारी हुनुभन्दा पहिले नै आफ्नो गोपनीयता हनन् भएको भन्दै त्यसको क्षतिपूर्ति कसले दिने भन्ने प्रश्न गरे ।

‘पक्राउ पूर्जी जारी नहुँदै मेरो नाम आयो, यसको क्षतिपूर्ति कसले दिन्छ श्रीमान् ?’ भन्दै उनले प्रश्न गरेका थिए ।

सन्दीपले पीडित भनिएकी किशोरीले जन्ममिति घटाएको कुरा आफूसँग समेत गरेको दाबी गरे ।

के भएको थियो घटनाको दिन ? (सन्दीपले कानून व्यवसायीलाई दिएको बयान)

सन्दीपले पीडित युवतीले आफूलाई ‘प्रेसर’ गरेर भेट्न खोजेपछि मात्र भेटेको दाबी गरेका छन् ।

ती किशोरीसँग एक क्रिकेटरको प्रेमिकामार्फत चिनजान भएको कुरा उनले वकिलहरूलाई बताएका छन् ।

सन्दीपका अनुसार चिनजान भएको ३ दिनपछि किशोरीले आफू ‘फ्यान’ भएको अहिलेसम्मका सबै खेल हेरेको बताइन्। 

त्यसपछि युवतीले भेट्न आग्रह गरेको सन्दीपले बताएका छन् ।

आफूले विदेश खेल्न जानुपर्ने र क्लोज क्याम्पमा रहेका खेलाडीहरूका लागि व्यवस्थापकीय पाटोमा पनि सघाउनुपर्ने भएकाले भेट्न नसकिने बताएको उनले उल्लेख गरेका छन् ।

फ्यानलाई निराश बनाउन हुँदैन भन्ने साथीहरूसँगकै सल्लाहमा भेटेको र युवतीकै जिद्दीका कारण नगरकोट पुगेको उनले बताएका छन् । 

त्यसक्रममा आफूले पटक–पटक उमेर सोधेको पनि सन्दीपले बताएका छन् ।

‘सन्दीपजीले आफूले बारम्बार उमेरको बारेमा सोधेको बताउनुभएको छ । पीडितले विषेश कारणले नागरिकतामा कम उमेर भएको तर आफू १९ वर्ष भएको बताएकी रहिछन्,’ ती कानून व्यवसायीले लोकान्तरसँग भने ।

भदौ ५ गते १७ वर्षीया किशोरीलाई काठमाडौंको एक होटलमा पटक–पटक बलात्कार गरेको आरोप लागेको छ ।

ती किशोरीले साउन २१ गते प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । भदौ ६ गते बिहान होटलबाट निस्किएका सन्दीप ७ गते क्रिकेट खेल्न राष्ट्रिय टीमसँगै केन्या गएका थिए ।

केन्यामा खेल सकिएपछि उनी क्यारेबीयन लीग खेल्न वेस्ट इन्डिज गएका थिए । उनी त्यहाँबाट क्यारेबीयन लीग नखेली फर्किएका थिए ।

लामो समयसम्म सन्दीप नेपाल नआएपछि डिफ्युजन नोटिस जारी गरेको थियो ।

प्रहरीले उनलाई गत बिहीवार (असोज २० गते) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्