१४ असार २०८३, आइतबार
मनोवैज्ञानिक युद्ध

सी र पुटिनविरुद्ध कू गरिएको भनी किन चल्यो हल्ला ?

असोज २६, २०७९
सी र पुटिनविरुद्ध कू गरिएको भनी किन चल्यो हल्ला ?
फाइल फोटो

विगत २० दिनमा अमेरिकाका दुई रणनीतिक प्रतिस्पर्धी चीन र रुसका राष्ट्रप्रमुखहरूलाई कूमार्फत हटाइएको झूटो हल्ला चलाइएको छ । आफूलाई मन नपरेको शासकलाई सत्ताच्युत गर्ने अमेरिकाको इतिहासलाई मनन गर्दा कूको यो हल्ला प्रतिस्पर्धीहरूका विरुद्ध अमेरिकाले चलाएको मनोवैज्ञानिक युद्धको एक अंग भएको संकेत पाइन्छ ।

गत सेप्टेम्बर २४ मा चीनका राष्ट्रपति सी चिनपिङलाई चिनियाँ जनमुक्ति सेनाले कूमार्फत हटाएको हल्ला सामाजिक सञ्जालमा चलाइयो । पश्चिमका मूलधारे सञ्चारमाध्यमले यस विषयमा कुनै सामग्री प्रकाशित नगरेको भए पनि व्यावसायिक मर्यादाको धज्जी उडाउन माहिर भारतका मूलधारे सञ्चारमाध्यमले चाहिँ जोडतोडका साथ यो झूटो खबर प्रकाशन/प्रसारण गरे । 

शांघाई कोअपरेसन अर्गनाइजेसनको शिखरबैठकमा सहभागी हुन उज्बेकिस्तान गएका सीलाई सत्ताच्युत गर्नका लागि चीनका प्रमुख राजनीतिकर्मीहरूले योजना बनाएको भनी सामाजिक सञ्जालमा पहिला हल्ला चलाइयो ।

यस षड्यन्त्रमा पूर्वराष्ट्रपति हु चिन्ताओ, पूर्वप्रधानमन्त्री वन च्याबाओ र चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो स्थायी कमिटीका सदस्य सोङ पिङ सामेल रहेको भनियो । सीलाई चिनियाँ सेनाको प्रमुख पदबाट हटाएर अर्को व्यक्तिलाई राख्न षड्यन्त्र गरिएको भनियो । 

हल्लाअनुसार त, सीले उज्बेकिस्तानमै हुँदा यो षड्यन्त्रको सुइँको पाएका थिए । अनि उनी सेप्टेम्बर १६ मा चीन फर्केपछि उनलाई घरैमा नजरबन्द गरेर राखिएको भनियो । 

यी आधारहीन हल्लाहरूलाई चीनमा प्रतिबन्धित नवआध्यात्मिक समूह फालुन गोङको समर्थन रहेको न्यु ताङ डाइनेस्टी टीभीले थप फैलायो । राष्ट्रिय रक्षा तथा सैन्य मामिलासम्बन्धी गोष्ठीमा सी सहभागी नभएको भन्ने आधारमा उनीविरुद्ध कू गरिएको भनियो । 

यी हल्लाहरूलाई आधारहीन साबित गर्नका लागि सी सेप्टेम्बर २७ मा राजधानी बेइजिङमा आयोजित एक प्रदर्शनीमा सहभागी भए । जनगणतन्त्र चीनमा माओ चतोङपछिका सर्वाधिक शक्तिशाली नेता सीलाई कूमार्फत हटाउने कुरा सीविरोधीहरूको कल्पना मात्र साबित भयो । 

अझ त्यसमाथि चीनबाट पलायन भएर अमेरिका पुगेकी पत्रकार जेनिफर जङले सेप्टेम्बर २१ चीनका विभिन्न विमानस्थलबाट उड्न ठिक्क परेका १६ हजार ६०२ विमानमध्ये ६० प्रतिशतको उडान रद्द गरिएको भनी ट्वीट गरिन् । तर त्यसपछिका ट्वीटहरूमा उनले सेनाको आदेशका कारण वा महामारीमा अपनाइएको सामान्य प्रक्रियाअन्तर्गत ९ हजार ५८३ वटा उडान रद्द गरिएको हुन सक्ने बताइन् । यद्यपि उनको संकेत चीनमा सैन्य कू भएकाले उडानहरू रद्द गरिएकोतर्फ नै केन्द्रित थियो । 

तर त्यो हल्ला मात्र भएको साबित भयो । खासमा सी विदेश भ्रमणबाट फर्केपछि आफैं १० दिन जति आइसोलेसनमा बसेका थिए । त्यो सामान्य प्रक्रिया नै थियो । तर उनको सार्वजनिक अनुपस्थितिलाई कू गरिएको भनी हल्ला फिँजाइयो । 

यी हल्लाहरूलाई आधारहीन साबित गर्नका लागि सी सेप्टेम्बर २७ मा राजधानी बेइजिङमा आयोजित एक प्रदर्शनीमा सहभागी भए । जनगणतन्त्र चीनमा माओ चतोङपछिका सर्वाधिक शक्तिशाली नेता सीलाई कूमार्फत हटाउने कुरा सीविरोधीहरूको कल्पना मात्र साबित भयो । 

अझ, सेप्टेम्बर महिनाको तेस्रो साता चीनका दुई पूर्वमन्त्री तथा चार पूर्वअधिकारीलाई भ्रष्टाचारको अभियोगमा मृत्युदण्डको सजाय दिइएको कुराले पनि सीको प्रभावलाई दर्शाउँछ । राष्ट्रपति बनेदेखि नै भ्रष्टाचारविरोधी अभियान चलाइरहेका सीले यसै बहानामा आफ्ना विरोधीहरूलाई पनि ठेगान लगाइरहेको बताइन्छ । 

हालै मृत्युदण्ड दिइएका अधिकारीहरू पनि सीविरोधी रहेको बताइएको छ । त्यसो त ती मन्त्री र अधिकारीहरूको समर्थक गुटले सीलाई रोक्नका लागि कू गराएको समेत भनियो । 

अनि अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीले उत्तेजना फैलाउने नियतका साथ ताइवान भ्रमण गरेपछि चीनले त्यसको कठोर प्रतिकार गर्नुपर्थ्यो तर सीले खासै केही गरेनन् भन्दै कतिपय चिनियाँ नेताहरू असन्तुष्ट रहेको पनि बताइएको थियो । चीनको वास्तविक शक्ति अमेरिकालाई देखाइदिनबाट सी चुकेकाले उनलाई हटाउन पार्टीको एउटा गुट लागिपरेको समेत भनियो । 

तर उत्तेजनामा आएर कुनै पनि रणनीतिक निर्णय नलिने अनि आफ्ना विरोधीहरूलाई ठेगान लगाउने शक्तिशाली सीलाई कूमार्फत हटाउने साहस चीनमा कसैले गर्ला भन्नु आफैंमा हास्यास्पद कुरा हो । 

किन यो हल्ला चलाइएको हो त ? चिनियाँ कम्युनिस्ट पार्टीको बीसौं राष्ट्रिय महाधिवेशन अर्को साता शुरू हुन लागेको छ र त्यस महाधिवेशनअघि पार्टीमा गम्भीर मतभेदको स्थिति छ भनी देखाउने उद्देश्यले यो हल्ला चलाइएको हो । स्पष्ट रूपमा यो चीनविरुद्ध चलाइएको मनोवैज्ञानिक युद्धको एउटा पाटो हो । 

आगामी महाधिवेशनमा सीलाई तेस्रो कार्यकाल चलाउनका लागि पार्टीले अनुमति दिने पक्का छ । यसअघि चीनका तत्कालीन सर्वोच्च नेता तङ स्याओपिङले चिनियाँ राष्ट्रपतिको कार्यकाल दुईपटक मात्र रहने निर्धारित गरेका थिए । 

त्यसैले चीनविरोधी प्रचारकहरू सीको तेस्रो कार्यकाल चिनियाँ जनताका साथै चिनियाँ कम्युनिस्ट पार्टीको समेत इच्छाविपरीत रहेको भाष्य खडा गर्न चाहन्छन् । त्यसैले उनीहरूले चीनबाहिरका मानिसलाई गलत सूचना सम्प्रेषण गर्दै सीलाई रोक्नका लागि कू गरिएको हल्ला फैलाएका थिए । 

अमेरिकी संस्थापन पक्षको चाहना पनि यसमा जोडिन जान्छ । कूको विषयमा अमेरिका स्वयंले एजेन्टहरूमार्फत हल्ला फैलाएको हुन नसक्ने कारण छैन । 

विभिन्न अमेरिकी अधिकारीहरूले आफूहरू चिनियाँ जनताको पक्षमा रहेको अनि सी र चिनियाँ कम्युनिस्ट पार्टीलाई सत्ताच्युत गरे मात्र चिनियाँ जनताको भलो हुने भनी अभिव्यक्ति दिने गरेका छन् । त्यसैले उनीहरू चिनियाँ कम्युनिस्ट पार्टीलाई सीसीपी भन्दै तुच्छीकरण गर्छन् अनि त्यो अपदस्थ हुनुपर्ने धारणा राख्छन् ।

तत्कालीन ट्रम्प प्रशासनमा रहेका राष्ट्रिय सुरक्षा उपसल्लाहकार म्याथ्यु पोटिंगरले मे २०२० मा चिनियाँ जनतालाई चिनियाँ भाषामा सम्बोधन गरी चिनियाँ कम्युनिस्ट पार्टीका विरुद्ध अभियान चलाउन अनुरोध गरेको कुरा यहाँ स्मरणीय छ । 

खासमा सीको स्थानमा आफूअनुकूलको शासक आएमा चीनले जोरी नखोजी आफ्नो कुरा खुरुखुरु मान्थ्यो भन्ने सपना अमेरिकी संस्थापन पक्षले देखेको छ । तर उसको यो सपना विपनामा परिणत हुने सम्भावना न्यून छ । 

चीनमा कूको हल्ला फैलाइएको दुई सातापछि रुसमा पनि राष्ट्रपति भ्लादिमिर पुटिनलाई कूमार्फत हटाइएको हल्ला चल्यो । गत शनिवार (अक्टोबर ९) मा सामाजिक सञ्जाल तथा केही अन्लाइन न्युज पोर्टलहरूमा पुटिनविरुद्ध कू गरिएको खबर आयो । 

क्राइमियालाई रुसको मुख्यभूमिसँग जोड्ने कर्च पुलमा युक्रेनी गुप्तचर निकायको संयोजनमा ट्रक बममार्फत आतंकवादी आक्रमण गरी पुललाई आंशिक क्षति पुर्‍याइएको घटना सार्वजनिक भएको केही घन्टाभित्रै पुटिनविरुद्धको कूको हल्ला फैलियो । पुटिनले रुसको उक्त गौरवशाली परियोजनामा आक्रमण हुने स्थिति आउन दिएकोमा राष्ट्रवादी शक्तिहरू पुटिनसँग आक्रोशित रहेको र उनलाई हटाउन लागिपरेको भनियो ।  

हल्लालाई बल पुग्ने गरी युक्रेनको गृह मन्त्रालयका सल्लाहकार एन्टोन गेराशेन्कोले एउटा ट्वीट गरे । त्यस ट्वीटमा उनले मस्कोको केन्द्रीय भागमा रुसी सेनाले सवारीसाधन आवागमन बन्द गरेको र त्यो राष्ट्रपति पुटिनलाई अपदस्थ गर्ने प्रक्रियाअन्तर्गतको कदम भएको ठोकुवा गरे । 

यससँगै युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीका वरिष्ठ सल्लाहकार मिखाइल पोदोल्याकले रुसको संस्थापन पक्षमा मतविभाजन रहेको अभिव्यक्ति दिए । युक्रेनमा चलाइएको सैन्य कारवाहीमा पुटिनले आवश्यक कठोर रवैया नअपनाएकोमा रुसी संस्थापन उनीसँग असन्तुष्ट रहेको र कूमार्फत हटाउन प्रयास गरेको उनको आशय थियो । 

त्यसो त गत मे महिनामै पनि युक्रेनी गुप्तचर निकाय जीआरयूका प्रमुख ओलेक्सान्दर लिट्भिनेन्कोले पुटिनलाई क्यान्सर लागेर उनी एकदमै कमजोर रहेको र उनलाई सत्ताबाट हटाउनका लागि रुसी संस्थापनले षड्यन्त्र गरिरहेको झूटो दाबी गरेका थिए । त्यो पहिलेको र अहिलेको दुवै हल्ला पुटिन सत्ताबाट हटेमा युक्रेनविरुद्धको युद्ध रोकिन्थ्यो कि भन्ने युक्रेनी परिकल्पना मात्र साबित भएको छ । 

इटलीकी पत्रकार रोसाल्बा कास्टेलेट्टीले मस्कोको केन्द्रीय भागबाट रिपोर्टिङ गर्दै त्यहाँ सेनाले ट्राफिक नरोकेको र सबै कुरा सामान्य रहेको बताइन् । यसरी उनले गेराशेन्कोको दाबीलाई आधारहीन साबित गरिन् ।

यस्ता हल्लाहरूको उद्देश्य के हो त ? रुस सरकारमा चरम मतविभाजन छ र विभिन्न गुटहरूले युक्रेनमा चलाइएको सैन्य कारवाहीलाई असफल तुल्याउन कोशिश गरिरहेका छन् भन्ने सन्देश दिनका लागि हल्ला चलाइएको स्पष्ट छ । आफ्नै सरकारमा स्थिरता ल्याउन नसक्ने पुटिनले अमेरिकाको एकध्रुवीय प्रभुत्वलाई बहुध्रुवीयतामार्फत विस्थापित गर्ने ल्याकत राख्दैनन् भन्ने भाष्य स्थापित गर्न खोजिएको पनि घाम जस्तै छर्लंग छ । 

अमेरिका नेतृत्वको पश्चिमले धेरै अघिदेखि नै पुटिनलाई सत्ताच्युत गरी बोरिस येल्तसिन जस्तो आफूअनुकूलको कठपुतली शासक ल्याउने अभिलाषा व्यक्त गर्दै आएको छ । युक्रेन युद्ध शुरू भएपछि पोल्यान्ड पुगेका अमेरिकाका राष्ट्रपति जो बाइडनले ‘भगवानका खातिर भए पनि यो मान्छे (पुटिन) हट्नुपर्छ’ भनी पश्चिमको तीव्र आकांक्षालाई अभिव्यक्ति दिएका थिए भलै उनको भनाइलाई पछि ह्वाइट हाउसले क्षति न्यूनीकरण गर्ने हिसाबमा व्याख्या गरेको थियो । 

त्यस्तै गत मार्च महिनामा अमेरिकाका रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले ‘पुटिनको हत्या गर्ने कोही छैन र रुसमा’ भनी विवादास्पद ट्वीट गरेका थिए । उनको यस भनाइबाट पनि पुटिनलाई सत्ताबाट हटाउने अमेरिकी संस्थापन पक्षको आकांक्षा झल्किन्छ ।

रुसलाई टुक्राटुक्रा बनाएर त्यहाँ बाल्कन मोडल अपनाउने पश्चिमको चाहनालाई पुटिनले सफल हुन नदिएकाले पनि उनलाई सत्ताबाट गलहत्याउन पाए हुन्थ्यो भन्ने पश्चिमको चाहना हो । पश्चिमले रुसलाई टुक्य्राउन खोजेको विषय पुटिनले गत सेप्टेम्बर ३० मा युक्रेनका चार क्षेत्र डोनेत्स्क, लुगान्स्क, खर्सन र जापोरिजालाई रुसमा मिसाइएको घोषणा गर्ने क्रममा पनि उठाएका थिए । 

सन् १९९० को दशकमा पश्चिमले आर्थिक उदारीकरणको नाममा रुसको चरम दोहन गरेको र टुक्य्राउन खोजेको कुरालाई स्मरण गर्दै पुटिनले पश्चिम पुनः एकपटक रुस टुक्य्राउने योजनामा लागेको बताए । रुसलाई कमजोर बनाउने र टुक्राटुक्रा पार्ने सपना पश्चिमले लामो समयदेखि देखिरहेको उनको भनाइ छ । देश टुक्य्राएर रुसी जनतालाई आफूआफूमा लडाउने अनि सधैंभरि गरीबीको दुष्चक्रमा फसाउने पश्चिमको चाहना रहेको आरोप पुटिनले लगाए । 

पुटिनको भनाइलाई पुष्टि गर्ने गरी केही महिनाअघि एउटा दस्तावेज लीक भएको थियो । ‘द यूएस गभर्नमेन्ट्स कमिसन अन सिक्युरिटी यान्ड कोअपरेसन इन युरोप्स प्लान टु ब्रेक रसिया अप इन्टु ए कलेक्सन अफ इन्डिपेन्डेन्ट स्मल स्टेट्स’ शीर्षकको उक्त मस्यौदा दस्तावेजमा रुसलाई १० भन्दा बढी राज्यमा विभाजित गर्न सकिने योजनाको उल्लेख छ । 

अमेरिकी सरकारी निकाय हेल्सिन्की कमिसनको योजना पनि यस्तै किसिमको छ । उसले युरोपेली तथा अन्य सहयोगीहरूसँग रुसलाई उपनिवेश बनाउने योजनाको बारेमा एउटा छलफल कार्यक्रम (डिकोलोनाइजिङ रसिया ः ए मोरल यान्ड स्ट्राटेजिक इम्परेटिभ) गत जुन २३ मा चलाएको थियो । त्यसमा नैतिक तथा रणनीतिक कारणले गर्दा रुसलाई टुक्य्राउनुपर्ने आवश्यकता रहेको बताइएको थियो । 

पश्चिमले रुसको विशाल भूभागलाई देखिनसहेको अर्को उदाहरण पनि निकट इतिहासमा पाइन्छ । पुटिनले सन् २००० को दशकमा पश्चिमसँग सुमधुर सम्बन्ध बनाउने उद्देश्यका साथ रुस पनि नेटोसँग जोडिन चाहेको बताएका थिए । सन् १९९९ देखि २००३ सम्म नेटोका महासचिव रहेका जर्ज रोबर्टसनले यसको पुष्टि पनि गरेका थिए । अनि राष्ट्रपति बनेलगत्तै पुटिनले बीबीसीमा चर्चित पत्रकार डेभिड फ्रस्टसँगको अन्तर्वार्तामा रुसलाई बराबरीको हैसियत दिइएमा नेटोमा जोडिन तयार रहेको बताएका थिए । 

गत शनिवार पुटिनलाई कूमार्फत हटाइएको हल्ला चल्नु रुसविरुद्धको मनोवैज्ञानिक युद्धकै एक अंग हो । गत सेप्टेम्बर महिनामा पोलिटिको पत्रिकामा अमेरिकी गुप्तचर निकायका पूर्वप्रमुख डेभिड आर शेडले इभाना स्ट्रान्डरसँग मिलेर लेखेको लेख ‘वेजिङ साइकोलोजिक वार अगेन्स्ट रसिया’ मा रुसविरुद्ध मनोवैज्ञानिक युद्ध चलाउनुपर्ने तर्क गरेका छन् । यहाँ स्मरणीय छ, झूटो खबरको प्रकाशन/प्रसारण मनोवैज्ञानिक युद्धकै एक अंग हो ।  

तर अमेरिकीहरूले रुस भौगोलिक रूपमा निकै ठूलो मुलुक भएकाले उसलाई पश्चिमी गठबन्धनमा नजोड्ने बताए । अनि अमेरिकाले युरोपलाई सधैंभरि रुसको डर देखाएर नेटोको औचित्य साबित गर्न तथा युरोपेली साझेदारहरूलाई आफ्नो हतियार बेच्नका लागि रुसलाई नेटोबाट बाहिरै राख्ने निर्णय लिएको थियो । रुसलाई सुरक्षा असहजता हुने गरी नेटोको आक्रामक विस्तार गर्न पनि अमेरिकाले जोड दिएको थियो । 

अमेरिका नेतृत्वको पश्चिमको यो रणनीति बुझेपछि पुटिन पश्चिमसँग बिच्किन थालेका थिए । सन् २००७ मा जर्मनीको म्युनिख शहरमा आयोजित सुरक्षा सम्मेलनमा उनले रुसप्रति पश्चिमको रवैयाको खुला विरोध गरेका थिए । रुसलाई सुरक्षा जोखिममा राखेर कमजोर बनाउने अनि टुक्य्राउने पश्चिमको योजनालाई निरस्त पार्न पुटिनले रुसको सैन्य संरचना तथा हतियारको आधुनिकीकरणमा पनि जोड दिएका थिए । 

यसरी रुसलाई क्रमिक रूपमा शक्तिशाली बनाउँदै लगेका पुटिनले पश्चिमको बफादार बन्न अस्वीकार गरेपछि पश्चिमले उनलाई हटाउन अनेकौं प्रयास गरेको थियो । रुसमा ‘कलर रिभोल्युसन’ गराएर होस् वा युक्रेनमा ‘मैदान क्रान्ति’ मार्फत कू गराएर होस्, रुसलाई कमजोर बनाउने पश्चिमको कोशिश जारी रह्यो । त्यसलाई सफलतापूर्वक रोक्न पुटिन सफल भइरहे पनि उनलाई हटाउन पश्चिमले कोशिश जारी राखिरह्यो । 

अहिले युक्रेन युद्धमार्फत रुसले अमेरिकी एकध्रुवीय प्रभुत्वमाथि सशक्त प्रहार गरेपछि अमेरिका पुटिनसँग नराम्ररी चिढिएको छ । त्यसैले उनी हटे हुन्थ्यो भनी अमेरिकी संस्थापन पक्षले विभिन्न माध्यममार्फत बारम्बार आकांक्षा व्यक्त गर्ने गरेको छ । 

गत शनिवार पुटिनलाई कूमार्फत हटाइएको हल्ला चल्नु रुसविरुद्धको मनोवैज्ञानिक युद्धकै एक अंग हो । गत सेप्टेम्बर महिनामा पोलिटिको पत्रिकामा अमेरिकी गुप्तचर निकायका पूर्वप्रमुख डेभिड आर शेडले इभाना स्ट्रान्डरसँग मिलेर लेखेको लेख ‘वेजिङ साइकोलोजिक वार अगेन्स्ट रसिया’ मा रुसविरुद्ध मनोवैज्ञानिक युद्ध चलाउनुपर्ने तर्क गरेका छन् । यहाँ स्मरणीय छ, झूटो खबरको प्रकाशन/प्रसारण मनोवैज्ञानिक युद्धकै एक अंग हो ।  

यसरी चीन र रुसका शक्तिशाली प्रमुखहरूलाई कूमार्फत हटाइएको हल्ला चलाइनुलाई अमेरिका नेतृत्वको पश्चिमको चाहनालाई मूर्त रूप दिने एक रणनीतिक कदमका रूपमा व्याख्या गर्न सकिन्छ । तर पश्चिमको यो कदम आजका मितिसम्म नराम्ररी असफल भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्