तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ । लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाइटीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा व्यवसायीहरूलाई कुचो उत्पादन गर्न भ्याइनभ्याई भएको हो ।
नेपालमा मात्रै नभई भारतमा पनि कुचोको माग बढेको काठमाडौंको सुकेधारास्थित गोरखनाथ कुचो सप्लायर्सका सञ्चालक रामप्रसाद बलाखेले बताए । उनले नेपालमा कुचोको काम गर्न थालेको ६ वर्ष भएको र त्यसअघि भारतमा पनि कुचो व्यवसाय गरेको जानकारी दिए । उनले आफूले उत्पादन गरेका कुचोहरू नेपालमा भन्दा धेरै भारतमा पठाउने गरेको बताए ।
यस वर्ष भने देशकै आर्थिक अवस्था कमजोर भएकाले नेपालमा कुचोको माग धेरै नरहेको बताए । उनले देशको आर्थिक मन्दीका कारण यस वर्ष गत वर्षको तुलनामा आधा पनि व्यापार नहुने अवस्था रहेको बताए । उनले अहिले बजारमा कुचोको मूल्य १५० देखि २०० रुपैयाँसम्म पर्ने गरेको बताए ।
‘१४÷१५ वर्ष भयो कुचो व्यापार गर्न थालेको । नेपालमा काम गर्न थालेको ६ वर्ष लाग्यो । भारतमा धेरै सेल गर्छु । अम्रिसो पहाडका क्षेत्रतिर पाइन्छ । कोरोनापछि अहिले पनि राम्रोसँग व्यापार भएको छैन । आर्थिक अवस्था कमजोर भएकाले पनि होला व्यापार धेरै छैन । व्यापार राम्रो होला जस्तो छैन यस वर्षको तिहारमा । पहिला तिहारका तीन महिनाको बीचमा राम्रो व्यापार हुन्थ्यो । झाडु, कुचो, थुन्से, नाम्लाे सबै गरेर बेच्ने गरेका छौँ’, उनले भने, ‘तर, यसपालि त्यसको आधा पनि हुनसक्ने स्थिति छैन । बजारमा पैसा नै छैन । अहिले २ सय छ, तर घटेर १५० सम्म आउने स्थिति छ । यस वर्षको तिहारमा पनि आर्थिक अवस्था कमजोर रहेकाले माग पनि खासै आइरहेको छैन ।’
त्यस्तै गोरखनाथ कुचो सप्लायर्सका बजार व्यवस्थापक सुदीप श्रेष्ठले भने तिहार लागेसँगै बजारमा कुचोको माग अत्याधिक बढेको बताए । उनले नेपाली बजारमा तिहारका लागि काठमाडौं उपत्यका बाहेकका अन्य जिल्लाहरूबाट पनि माग आएको र गत सालको भन्दा धेरै माग बढेको बताए । उनले अहिले तिहारको सिजनमा हरेक दिन १० हजार कुचो बजारमा पठाइरहेको बताए ।
‘बजारमा अहिले नर्मल कुचोको मूल्य नै ८० रुपैयाँदेखि २०० रुपैयाँसम्म छ । तिहारका लागि धेरै माग बढेको छ । काठमाडौंमा मात्रै नभई अन्य जिल्लामा पनि धेरै माग छ । पोहोरको भन्दा धेरै माग छ । अहिले तिहारको सिजनमा हरेक दिन १० हजार कुचाे पठाइरहेका छौँ’, उनले भने ।
तिहार नजिकिएसँगै डोको, डालो र कुचोको पूजा गर्नका लागि यो समयमा कुचो खपत अरू समयभन्दा धेरै हुने गर्छ ।