
जाउँ गुरु प्रा.लि.ले ‘जाउँ गुरु’ राइड सेयरिङ एप सार्वजनिक गरेको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युवा व्यवसायीहरू खुशी लिम्बू, इन्द्रहाङ लिङदेन र दिवाकर अर्यालले जाउँ गुरु प्रा.लि.मार्फत नयाँ राइड सेयरिङ एप सार्वजनिक गरेका हुन् ।
नेपालमा अन्य राइडर एपहरूको भन्दा फरक सेवा सुविधासहित नेपालमा नै बनाइएको जाउँ गुरु एप बजारमा आएको हो । यो एपमा मोटरसाइकल र ट्याक्सी राइडरहरूले एपसँग आवद्ध भएर यात्रुहरूलाई चढाउँदासमेत शुल्क नलाग्ने प्रा.लि.ले जानकारी दिएको छ ।
मोटरसाइकल र ट्याक्सी राइडरहरूले सजिलै एपमा आवद्ध हुनसक्ने र राइडर र यात्रुको लागि बीमामा कमिसन पाउने व्यवस्था गरेको छ । जाउँ गुरु प्रा.लि.का अध्यक्ष इन्द्रहाङ लिङदेनले नेपालको लागि नेपालमा नै बनाएको राइडर एप सार्वजनिक गरिएको बताए । उनले चाँडै काठमाडौं उपत्यकालगायत देशभरका शहरहरूमा सेवा बिस्तार गर्ने योजनाकासाथ काम गरिरहेको पनि बताए ।
नेपालमा प्रयोगमा आएका राइड सेयरिङ एपहरूले मोटरसाइकल र ट्याक्सीले मात्रै सुविधा दिँदै आएकामा जाउँ गुरुमा बाइक डेलिभरी, मिनी ट्रक, पानी ट्याङ्कर र जिपसमेत भाडामा लिन सहजीकरण सेवा उपलब्ध छ ।