२६ जेठ २०८३, मंगलबार
प्रतिनिधिसभा निर्वाचन

भोट सदुपयोगका लागि अनौठो शैलीमा सचेतना जगाउँदै हिँड्ने एक युवा [भिडियो]

कात्तिक ४, २०७९

काठमाडौंको केन्द्रमा रहेको सुन्धारा, रत्नपार्क, जमल आसपासका क्षेत्रमा हिजोआज एक युवक चुनावी सचेतना जगाउन नयाँ शैलीको अभियानमा भेटिन्छन् ।

'भोटको सही सदुपयोग गर्नुहोला धन्यवाद' लेखिएको कागजको टोपी उनको शीरमा हुन्छ, अनि शरीरमा त्यस्तै सन्देश लेखिएका पोशाक ।

केही दिनअघि शहीदगेटमा उनी यस्तै पहिरनमा भेटिए ।

उनले साइडमा भिरेको स्पिकरमा 'हाम्रालाई होइन, राम्रालाई रोजौं' भन्ने गीत घन्किरहेको थियो ।

उनी त्यहाँ भेटिएका पैदलयात्रीसँग कुरा पनि गर्दै थिए ।

सबैलाई उनको एउटै सन्देश हुन्थ्यो, 'भोटको सही सदुपयोग गर्नुहोला, नत्र ५ वर्ष दु:ख पाउनुहुनेछ ।'

एकछिन यो दृश्य हेरेपछि नजिक पुगेर सोधें– 'के को प्रचार गरिरहनुभएको ?'

प्रश्न भुइँमा खस्न नपाउँदै उनले जवाफ दिए- 'प्रचार होइन, जनतालाई भोटसम्बन्धी सचेतना जगाएको ।'

***

नाम रतन शाह । उमेर २४ वर्ष । घर डडेल्धुरा । उनलाई सामाजिक कार्य गर्न मन पर्दोरहेछ।

कोरोनाकालदेखि नै सचेतना जगाउने कार्यक्रम गर्दै आएको उनले बताए ।

चुनावी सचेतना अभियानको बारेमा प्रस्ट्याउँदै उनले भने- 'जनता जागरुक होऊन् भन्ने हो । राम्रो व्यक्तिलाई भोट दिए राम्रो सिस्टम बस्छ, गलतलाई भोट दिए पाँच वर्ष खेर जानेछ । मेरो उद्देश्य राम्रा व्यक्ति आऊन् भन्ने नै हो ।'

काठमाडौं मात्र होइन, मुलुकका अन्य मुख्य शहरमा पनि पुगेर सचेतना फैलाएको उनले बताए ।

'उपत्यकाबाहिर धनगढी, पोखरा, बुटवल, डडेल्धुरा धेरैजसो बजार क्षेत्रका महोत्सवमा गएर सचेतना कार्यक्रम गरिसकेको छु,' उनले भने ।

देशभित्र जता पुगे पनि मान्छेहरूको एउटा प्रश्नले उनलाई आजित बनाउँदो रहेछ ।

'के तपाईंलाई कसैले प्रचार गर्न पठाएको हो ? भन्ने प्रश्नले आजित भइसकें,' उनले लोकान्तरसँग भने, 'मैले सचेतना मात्र जगाउने हो। म आफ्नै खर्चले यताउता दौडिँदैछु । म कसैको मान्छे होइन भन्ने जवाफ दिने गरेको छु ।'

मासुभातमा बिकेर गलत व्यक्तिलाई भोट नहाल्न उनको आग्रह छ ।

'जनताले मासुभातमा बिकेर गलत व्यक्तिलाई भोट हाल्छन् । जितेर गएपछि ५ वर्ष नै उनीहरूले देशलाई भड्खालोमा हाल्छन्,' उनले भने ।

खर्च गरेर चुनाव जित्नेहरूले त्यही खर्च असुल्न भ्रष्टाचार गर्ने उनको तर्क छ ।

'मैले यसरी सचेतना जगाउँदा केही त परिवर्तन होला नि, मेरो यो प्रयासले समाजमा थोरै भए पनि सकारात्मक प्रभाव पार्ला नि,' उनले आशावादी हुँदै भने, 'राम्रो व्यक्ति देश बनाउने ठाउँमा पुगुन् भन्ने अपेक्षा छ ।'

हेर्नुहोस्,भिडियो :

salt training

कमेन्ट गर्नुहोस्