
पछिल्लो समय युट्युबको औसत भ्युज ह्वात्तै घटेको छ ।
यद्यपी, टिकटकमा हिट भएका गीतले भने युट्युबमा निकै राम्रो भ्युज पाउँदै आएका छन् ।
सर्जकहरू टिकटकमा बिक्ने खालका शब्द, मेलोडी प्रयोग गर्नतर्फ अग्रसर छन् ।
टिकटकबाट हिट भएको पछिल्लो एउटा गीत हो, लजालु मायालु ।
‘लजालु मायालु’ तामाङ, थारु र खस भाषाको मिश्रण रहेको गीत हो ।
गीतमा गायक उर्गेन दोङ र गायिका अनु चौधरीले स्वर भरेका छन् ।
गायक तथा संगीतकार उर्गेन दोङ र वीरेन्द्र दोङको शब्द एवं संगीत रहेको गीतको थारु शब्द रोहन खत्रीले लेखेका हुन् ।
गायक एवं संगीतलाई उर्गेनले नै गीतलाई एरेन्ज गरेका हुन् ।
डेढ महिनाअघि सार्वजनिक यस गीतको लाइन विस्तारै टिकटकमा निकै हिट भएको थियो ।
गीतको एउटा लाइनमा मात्रै झण्डै १ लाखले टिकटक बनाएको देखिन्छ ।
गीत टिकटकमा छाएसँगै यु्टयुबमा भिडियो खोज्नेहरू बढ्दै गए ।
फलस्वरुपः गीतले झण्डै डेढ महिनामै युट्युबमा १ करोड ५६ लाख बढी भ्युज पाइसकेको छ ।
युट्युबमा थुप्रै प्रतिक्रिया छन्, जसले टिकटकमा सुनेपछि भिडियो हेरेको प्रतिक्रिया दिएका छन् ।
विकास प्रसाईंको निर्देशन रहेको भिडियोमा उर्गेन दोङ, रोहन खत्री, आकांक्षा आचार्य र विजय दोङले अभिनय गरेका छन् ।
जितु तामाङको छायांकन, विजय दोङको सम्पादन रहेको भिडियो गायक एवं सर्जक उर्गेन दोङको अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।
उर्गेनले यसअघि ‘टाढा भएपनि’, ‘माया तितो मिठो’, ‘नछुटोस्’, ‘दुई दिनको माया’ लगायतका हिट गीतहरू दिइसकेका छन् ।