
नेपालमा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ पहिचान भएको बताए ।
उनका अनुसार देशका विभिन्न ठाउँबाट गत साउन २१ देखि असोज २४ गतेसम्म कोरोना भाइरस भएका संक्रमितबाट नमूना संकलन गरेर जिनोमिक पहिचान गर्दा ओमिक्रोन सबभेरियन्ट ‘एक्सबिबी’ पत्ता लागेको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ती नमुनाको परीक्षण गरिएको थियो । मन्त्रालयले तिहार र छठपर्वजस्ता चाडपर्वमा संक्रमण फैलिनसक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको छ । अहिले दैनिक ५० जनाको हाराहारीमा कोरोना भाइरसका बिरामी भेटिरहेका छन् । मन्त्रालयले मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र बेलाबेलामा साबुनपानीले हात धुन आग्रह गरेको छ । रासस