२१ असार २०८३, आइतबार
आशालाग्दा जनप्रतिनिधि

पुरानो शहरको साख फर्काउन लागिपरेका कान्छा वडाध्यक्ष– ‘धुलिखेललाई वाह ! भन्ने बनाउँछौं’

‘२९ वर्षमा वडाध्यक्ष बनेका गणेश, कसैलाई समस्या परे रातभर सँगै हुन्छन्’
कात्तिक ९, २०७९
पुरानो शहरको साख फर्काउन लागिपरेका कान्छा वडाध्यक्ष– ‘धुलिखेललाई वाह ! भन्ने बनाउँछौं’

राजधानी काठमाडौं उपत्यकामा बस्नेहरू ‘रिफ्रेसमेन्ट’का लागि जाने सबैभन्दा नजिकको पर्यटकीय स्थल हो, धुलिखेल । पर्यटकीय क्षेत्र भन्नेबित्तिकै काठमाडौंपछि धुलिखेल, नगरकोट, पोखरा र सौराहाको नाम आउँछ ।

छोटो समय नेपाल आउने पर्यटकले समेत धुलिखेल घुम्न छुटाउँदैनन् । युवा युवतीका लागि डेटिङदेखि स्कूल कलेजका विद्यार्थीको पिकनिकस्पटका रूपमा धुलिखेल परिचित नै छ ।

काभ्रे जिल्लाको सदरमुकाम रहेको धुलिखेल नगरपालिकाको १२ वडामध्ये ३ नम्बरका वडाध्यक्ष छन्, गणेश आचार्य । नगरपालिकाका वडामध्ये ३ नम्बर वडको नाम नै धुलिखेल हो । अर्थात्, धुलिखेलको नाम नगरपालिकाको ३ नम्बर वडाले बोकेको छ । 

राजमार्गको बायाँपट्टिको भाग जहाँ धुलिखेललाई चिनाउने होटल र लजहरू छन्, त्यो भाग धुलिखेलको वडा नम्बर ३ मा पर्छ । त्यहाँ ३० वर्ष लाग्दै गरेका गणेश आचार्य वडाध्यक्ष छन् ।

वैशाखमा सम्पन्न स्थानीय तहको चुनाव लड्दा गणेश २९ वर्षका थिए । जनप्रतिनिधिको रूपमा उनको यो दोस्रो कार्यकाल हो । २४ वर्षको उमेरमै उनी यही वडाको वडासदस्य बनेका थिए । धुलिखेलको वडा नम्बर ९ का वडाध्यक्ष बद्रीप्रसाद हुमागाईँ ६४ वर्षका छन् । 

वडासदस्यको रूपमा खेलेको भूमिकाका कारण उनी पार्टीका तर्फबाट वडाअध्यक्षको सर्वसम्मत उम्मेदवार बने र चुनावमा फराकिलो मतान्तरले विजयी भए ।

धुलिखेल त्यस्तो नगरपालिका हो, गत स्थानीय तह निर्वाचनमा अन्य पालिका गुमाउँदा एमालेले यहाँ बिउ जोगायो ।

त्यही नगरपालिकालाई नमूना बनाउन भन्दै गणेश र उनको टोली लागिरहेको छ । युवाले राजनीतिलाई तिरस्कार गर्छन् भन्ने आरोपका अपवाद हुन्, गणेश ।

गाउँको मुहार फेर्ने र शहरको शाख फर्काउने योजना

नगरपालिकाको वडा भएपनि धुलिखेलको ३ नम्बर वडाको ७० प्रतिशत भूभाग ग्रामीण क्षेत्रमा पर्छ । ३० प्रतिशत मात्र शहरी क्षेत्रमा ।

एउटै वडामा पर्ने शहरी र ग्रामीण क्षेत्रलाई जोड्नका लागि गणेशले केही नयाँ योजना बनाएका छन् । ग्रामीण भेगमा पर्ने ७० प्रतिशत क्षेत्रको विकासका लागि उनी अहोरात्र खटिरहेका छन् ।

पदमार्ग बनाएर होटलमा आएका पाहुनालाई गाउँको भिजिट गराउनेदेखि होटलका लागि विषादीरहित तरकारी उत्पादन गरेर वडाका नागरिकको आयस्तर बढाउने उनको योजना छ । 

‘१५ मिनेट तल पुगेपछि परम्परागत ढंगले हलो जोतेको, घाँस काटेको, गाई दुएको दृष्य देख्न पाइछ । विदेशीलाई मात्र होइन, शहरमा जन्मेहुर्केका लागि पनि यो नयाँ कुरा हुन लाग्यो,’ आफ्नो योजना सुनाउँदै गणेशले भने, ‘यहाँका हरेक होटलसँग कुरा गरेर उनीहरूलाई ग्रामीण भेगका जनताको आयआर्जन बढाउने कामसँग जोड्ने विचार छ ।’

राजधानी काठमाडौंबाट नजिक र हावापानीको हिसाबले उत्कृष्ट रहेको धुलिखेलमा अहिले पनि पर्यटकको कमी छैन । सरकारी र गैर सरकारी संस्थाका गोष्ठी र सेमिनारका कारण अहिले पनि धुलिखेलका होटल खचाखच हुन्छन् । ‘यहाँ आउने पर्यटकलाई केही नयाँपन दिनका लागि ग्रामीण क्षेत्रमा लैजाने टे«ल बनाउने योजना छ, जहाँ पर्यटकले विभिन्न खालका चराचुरुंगी हेर्दै रमाउन पाउनेछन्,’ उनले भने ।

धुलिखेलको पहिचान कायम राख्दै पर्यटक आकर्षित गर्न केही न केही नयाँ काम गर्नुपर्ने उनको जोड छ ।

राजमार्गमा हर्न बजाउँदै हिँड्ने टिप्पर र ठूला ट्रकले डिस्टर्ब गर्न थालेपछि पर्यटकहरूले एकान्त ठाउँ रोज्ने गरेका छन् । जसका कारण राजमार्गसँग जोडिएर बनेका पुराना होटल र लजका सञ्चालकहरू धुलिखेलको पहिचान मेटिनेमा चिन्तित छन् । उनीहरूको यो चिन्ता समाधान गरेर धुलिखेलको शाख फर्काउने गरी काम भइरहेको छ ।

‘पर्यटकीय नगर भएर पनि धुलो, धुवाँ र अस्तव्यस्त रहेको भनेर गुनासो भइरहेको छ । तिहारलगत्तै सूर्यविनायक धुलिखेल सडक विस्तारको काम शुरू भइहाल्छ भनिएका कारण हामीले काम गर्न सकेका छैनौं,’ आचार्यले भने, ‘अल्पकालीन व्यवस्थाका लागि भनेर राजमार्गको छेउमा सर्भिस ट्र्याक बनाएका छौं, धुलिखेललाई चिटिक्क बनाउने सबैको प्रयास छ ।’

सूर्यविनायक धुलिखेल सडक पूरा भएलगत्तै धुलिखेललाई धुलो, धुवाँ र पोलुसनमुक्त शहर बनाउने योजना रहेको आचार्य बताउँछन् ।

‘अहिले पनि धुलिखेलको परिचय पर्यटकीय नगरी भन्ने छ । धुलोधुवाँरहित शहर बनाएर यहाँ आउने आगन्तुकलाई वाह धुलिखेल ! भन्ने बनाउँछौं, यसका लागि केही समय लाग्ला,’ आचार्यले लोकान्तरसँग भने ।

सडक विस्तारको काम सकिएपछि राजमार्ग भएर धुलिखेल प्रवेश गर्दा फरक अनुभूति हुनेगरी काम गर्ने उनी बताउँछन् ।

जो दिनरात जनतासँगै हुन्छन्

धुलिखेलको आचार्य गाउँमा जन्मेका गणेश सानैदेखि सामाजिक काममा सक्रिय हुन्थे । प्लस टु पढ्दासम्म उनलाई राजनीतिमा खासै रुचि थिएन । राजनीतिमा सक्रिय नभएपनि आस्थाको रूपमा एमालेको राजनीति मन पथ्र्यो । युवा संघको सदस्य बनेर एमाले नेता गोकुल बाँस्कोटाको प्रशिक्षण पाएपछि भने उनले बाटो बदले । पूर्णकालीन राजनीतिमा लागे । 

‘कुनै समय यस्तो थियो कि गोकुल बाँस्कोटाको भाषण सुन्नका लागि म जहाँ पनि पुग्ने, उहाँको प्रशिक्षणले एमाले नै सही पार्टी रहेछ भन्नेमा मलाई दृढ बनायो,’ आचार्यले भने । काभ्रेको विकासमा बास्कोटाले खेलेको भूमिका कारण आफूहरूलाई राजनीति गर्न सहज भएको उनको अनुभव छ । 

काभ्रेको मुहार फेर्नेगरी बास्कोटाले विकास गरेका कारण आफूहरूले उनलाई नेता मानेर हिँडिरहेको आचार्य बताउँछन् । ‘धुलिखेल नगपालिकाको वडा नम्बर १, २ र ३ नम्बरका मानिस धुलिखेल आउन बनेपा घुमेर आउनुपथ्र्यो, रविओपी–धुलिखेल–देवीटार सडक बनेपछि घण्टौं हिँड्नुपर्ने बाटो १५ मिनेटमा छोट्टिएको छ,’ आचार्यले लोकान्तरसँग भने, ‘यसको श्रेय गोकुल बास्कोटालाई जान्छ ।’ 

धुलिखेल–चंखुवशी, नयाँ बस्ती– पाँचखाल सडक पनि बास्कोटाको पहलका कारण सम्भव भएको उनी बताउँछन् । जनतासँगको घनिष्टताका कारण स्थानीयहरू उनलाई भावी मेयरको दाबेदारका रूपमा हेर्छन् ।

केही समय पहिले एक स्थानीय महिलाले विष सेवन गरेर आत्महत्या प्रयास गरिछन् । उनलाई तत्कालै बनेपामा रहेको भोमी अस्पतालमा भर्ना गरियो । केही दिनमा उनको निधन भयो । उपचार खर्च १ लाख ८० हजार भएको थियो, तर परिवारका सदस्यसँग त्यो उपचार खर्च व्यहोर्ने औकात थिएन ।

पैसा नतिरेपछि अस्पतालले शव दिन मानेन । वडाध्यक्षको हैसियतमा कुरा गर्न उनी अस्पताल गए, तर पनि अस्पताल शव दिन मानेन । शव नदिने भए अस्पतालमै राख्ने भनेर उनीहरूले अड्डी कसे । केही रकम बुझाएर र केही वडाध्यक्षको व्यक्तिगत जमानीमा अस्पतालले शव दियो । यो एउटा उदाहारण मात्र हो ।

विपन्नहरूका लागि उनले धुलिखेल अस्पतालमा यसैगरी अनुनयविनय गरेर उपचार गराउने गरेका छन् । 

‘चुनाव लड्दा मैले कुनै ठूलो वाचा गरेको थिइनँ, समस्या पर्‍यो भने जतिबेला पनि तपाईंहरूसँग रहन्छु भनेको थिएँ,’ आचार्य भन्छन्, ‘मैले जनतासँग जे वाचा गरेको थिएँ, त्यही गरिरहेको छु ।’

वडा सदस्यको रूपमा रहँदा उनी उपमेयर संयोजकत्वको न्याय समितिमा थिए । धुलिखेलको न्यायिक समिति नेपालको नमूना थियो । अन्य प्रदेशले धुलिखेलको अनुशरण गरेका थिए । कयौँ ठाउमा तालिम, प्रशिक्षण र अनुभव बाँड्न गणेश आफैँ पुगेका थिए ।

‘म समेत रहेको न्यायिक समितिले गरेका निर्णयलाई अदालतले सदर गरेका कयौं उदाहरण छन्, त्यो अनुभवले अहिले मलाई काम गर्न सजिलो भएको छ,’ गणेशले भने । 

जनस्वास्थ्यको क्षेत्रमा पनि धुलिखेलले राम्रो काम गरिरहेको छ ।

‘हाम्रो वडामा प्रेसर, र सुगरका बिरामी कति छन भनेर संख्या एकिन गर्‍यौं, त्यसपछि वडाको स्वास्थ्यचौकीमा धुलिखेल अस्पतालका स्वास्थ्यकर्मी बोलाएर रक्त परीक्षण गर्छाैं,’ आचार्यले भने, ‘खाना खाइसकेपछि उनीहरूको पुनः रक्त परीक्षण गर्ने र त्यहीँ नै रिर्पोट दिने व्यवस्था गरेका छौं । जसले गर्दा अस्पतालमा जान नचाहनेले वडाबाटै स्वास्थ्य सेवा पाएका छन् ।’

शिक्षा र कृषिको क्षेत्रमा पनि केही सुधारको प्रयास थालिएको आचार्यले बताए । वडामा रहेको सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्नका लागि विभिन्न प्रयास गरेको उनले बताए । 

‘पहिलो कार्यकालमा पनि केही जग बसाएका थियौं, यो कार्यकाल पूरा गर्दैगर्दा देखिनेगरी केही सुधार गर्नेमा विश्वस्त छौं,’ आचार्यले भने । 

salt training

कमेन्ट गर्नुहोस्