१२ साउन २०८३, मंगलबार
बढुवाको खेल

भावी आईजीपीको दौडमा दर्जन डीआईजी, एआईजी बढुवा समेत प्रभावित !

कात्तिक १३, २०७९
भावी आईजीपीको दौडमा दर्जन डीआईजी, एआईजी बढुवा समेत प्रभावित !

नेपाल प्रहरीमा ४ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी रिक्त हुँदैछ । 

कात्तिक २४ गते काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी रवीन्द्र धानुकले उमेर हदका कारण अनिवार्य अवकाश पाउँदैछन् । 

त्यसभन्दा अघि नै कात्तिक १४ गते प्रशासन विभागका प्रमुख एआईजी अरुणकुमार बी.सी अवकाशमा जानेछन् ।

यी दुई एआईजी अवकाशमा गएसँगै यो महिनाबाट नेपाल प्रहरीमा ४ जना एआईजीको पद रिक्त हुँदैछ ।

यसअघि ५६ वर्षे उमेर हदका कारण २०७९ साउन २० गते एआईजी विश्वराज पोखरेलले अवकाश पाए । भदौ २३ गतेबाट एआईजी मुकुन्दराज आचार्य अवकाश पाएका थिए।

हालका प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहसँगै २०४९ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका पोखरेल र आचार्यले उमेरहदका कारण अनिवार्य अवकाश पाएका हुन् ।

एआईजी बीसी अवकाश पाउने दिन नजिकिएको भन्दै तिहारअगाडिबाट बिदा लिएर बसेका हुन् ।

उनी तिहार र छठको सार्वजनिक बिदा सकिँदाको दिन अर्थात् कात्तिक १४ गते अनिवार्य अवकाश जानेछन् ।

एआईजीद्वय पोखरेल र आचार्यले अवकाश पाएपछि प्रहरीको प्रदेश समन्वय विभाग र कार्य विभागको दरबन्दी रिक्त छ । 

यो महिनाबाट प्रशासन विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा एआईजीको दरबन्दी रिक्त हुनेछ । 

मुलुक अहिले निर्वाचनमय बनेको छ । अगामी मंसिर ४ गतेको संघीय र प्रदेशसभा निर्वाचनमा सरकार लागेको छ । 

अहिले निर्वाचन आयोगको अनुमति नलिई नलिएको खण्डमा निर्वाचन आचारसंहिताले पनि दरबन्दीमा पदपूर्ति गर्न दिँदैन । अब शीर्ष नम्बरमा बढुवा हुने एआईजी भावी आईजीपीको स्वाभाविक दाबेदार हुन्छ । 

हाल प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरू प्रभावशाली भएकाले विवादित हुने भयले रिक्त २ दरबन्दीमा पदपूर्ति नगरिएको कतिपय प्रहरी अधिकारीहरूको बुझाइ छ । थप २ दरबन्दी रिक्त भएपछि एकैपटक ४ जना बढुवा गर्न मिल्दा विवाद कम हुने सरकारी बुझाइ हुन सक्ने उनीहरूको तर्क छ ।

‘रिक्त पदमा बढुवा भइसक्ने थियो, तर अहिले ४ जना डीआईजी ‘पावरफूल’ भएकाले रोकिएको हो,’ एक एआईजीले लोकान्तरसँग भने ।  

अहिलेका डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह र दीपक थापा प्रभावशाली मानिन्छन् । डीआईजीहरू श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, भीमप्रसाद ढकाल र किरण राणा पनि प्रभावशाली नै हुन् ।

खाली रहेको २ वटा एआईजीको दरबन्दीमा बढुवाका लागि केही डीआईजीले सत्तारुढ दलका प्रभावशाली नेताहरूमार्फत लबिङ गरे पनि प्रधानमन्त्रीपत्नी आरजु राणा देउवासँग निकट रहेका एक डीआईजीले गर्दा पदपूर्ति रोकिएको स्रोतले लोकान्तरलाई बतायो । वरीयताको आधारमा २ जना बढुवा गर्दा आफू छुट्ने हुँदा ४ जना रिक्त भएपछि मात्र बढुवा गर्न ती डीआईजीले आरजुमार्फत दबाब दिएको स्रोतको दाबी छ ।

माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’निकट डीआईजीले पनि नयाँ सरकार आएपछि मात्रै बढुवा गर्दा आफू एआईजीमा अगाडि आउने भन्दै लबिङ गरेका छन् ।

आईजीपी ब्याचका ३ जना डीआईजीहरू मधेश प्रदेशका प्रमुख मसाउद आलम खाँ, लुम्बिनी प्रदेशका प्रमुख नलप्रसाद उपाध्याय र सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनकुमार आचार्यमध्ये २ जनालाई पहिलो लटमा एआईजी बनाइने चर्चा थियो । तल्लो ब्याचका प्रभावशाली डीआईजीका कारण उनीहरूको बढुवा रोकिएको प्रहरी अधिकारीहरूको दाबी छ ।

भावी आईजीपीको दौडमा दर्जन डीआईजी

आईजीपी धीरजप्रताप सिंह आगामी चैतमा अनिवार्य अवकाशमा जाँदैछन् ।

३० वर्षे सेवा अवधिका कारण आईजीपी सिंहले अनिवार्य अवकाश पाएपछि उनको ब्याचबाट हाल एआईजी र डीआईजी रहेका प्रहरी अधिकृतहरू पनि संगै अवकाशमा जानेछन् ।

उनीहरू अवकाश गएसँगै हालका डीआईजीहरू मध्येबाटै भावी आईजीपी चुनिनेछन् ।

त्यसका लागि २०७९ असार महिनामा बढुवा भएका डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, मीरा चौधरी, सन्दीप भण्डारी, दुर्गा सिंहलगायत प्रतिस्पर्धामा छन् । 

अहिलेको सरकार भएसम्म यसमध्येमा कुँवर, राई, सिंह र थापा प्रभावशाली देखिन्छन् ।

खालि भएका र हुने ४ दरबन्दीमा पदपूर्तिका लागि आईजीपी ब्याचका डीआईजीहरू मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहनकुमार आचार्य मुख्य प्रतिस्पर्धी हुन् ।

उनीहरू आईजीपीसँगै अवकाशमा जाने भएकाले त्यसपछिको चौथो नम्बरमा बढुवा हुने एआईजी भावी आईजीपीको प्रमुख दाबेदार बन्नेछन् । सोही कारण पनि एआईजी बढुवालाई चासोका साथ हेरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्