
प्रतिनिधिसभा सदस्य चयनका लागि मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा बारा–३ मा त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको छ ।
सत्ता गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका लालबाबु सिंह, नेकपा एमालेकी ज्वाला कुमारी साह र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामबाबु कुमार यादवबीच प्रतिस्पर्धा देखिएको हो । मधेशका विभिन्न निर्वाचन क्षेत्रमा नेकपा एमाले र जसपाबीच चुनावी तालमेल भए पनि बारा–३ मा भने मित्रवत् प्रतिस्पर्धा भइरहेको छ ।
जसपा उम्मेदवार यादव उक्त क्षेत्रका निवर्तमान सांसद पनि हुन् । उनी पार्टीका मधेश प्रदेश अध्यक्ष समेत हुन् ।
त्यसैगरी एमाले उम्मेदवार साह २०७४ सालको चुनावमा सोही क्षेत्रबाट मधेश प्रदेश सभामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन् । नेकपा विभाजन हुँदा उनले माओवादी छाडेर एमाले रोजेपछि उनको सांसद पद गुमेको थियो ।
सांसद पदको समेत परवाह नगरी एमाले रोजेकी उनलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संघीय सरकारमा कृषिमन्त्री बनाएर पुरस्कृत गरेका थिए । साह १९ दिनसम्म मात्र मन्त्री बनेकी थिइन् । सर्वोच्च अदालतले मन्त्रिमण्डल विस्तारमा रोक लगाइदिएपछि उनी पदमुक्त भएकी थिइन् ।
साह नेकपा एमालेको मधेश प्रदेशको सह–इन्चार्ज पनि हुन् । उनी संविधानसभामा पनि माओवादीबाट समानुपातिक सांसद बनेर राज्यमन्त्री भएकी थिइन् ।
त्यसैगरी लोसपा उम्मेदवार सिंह लोसपाबाट टिकट पाउनु अघिसम्म नेपाली कांग्रेसमा आबद्ध थिए । उनी दुईपटक नेपाली कांग्रेसको जिल्ला सभापति हुनुका साथै पहिलो संविधानसभामा समानुपातिक कोटाबाट संविधानसभा सदस्य समेत भइसकेका छन् । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट उनी बारा–४ मा प्रतिनिधिसभा सदस्य पदमा चुनाव लडेर पराजित भएका थिए ।
यसपटक पनि उनी नेपाली कांग्रेसबाट बारा–४ मा टिकटका आकांक्षी थिए । तर कांग्रेसले उक्त क्षेत्र नपाउने भएपछि उनले बारा–३ बाट पनि टिकटका लागि दाबी गरेका थिए र उनको घर पनि बारा–३ मै पर्छ ।
सत्ता गठबन्धन हुँदा उक्त क्षेत्र लोसपाले पाउने गठबन्धनबीच सहमति भएपछि लोसपाले त्यस क्षेत्रमा जसपाका नेता प्रमोद गुप्तालाई टिकट दिने तयारी गरेको थियो । गुप्ता साबिक मधेशी जनअधिकार फोरम नेपालबाट संविधानसभा सदस्य भइसकेका नेता हुन् । त्यसैगरी २०७४ सालको निर्वाचनमा कलैया उपमहानगरपालिकामा मेयरमा र २०७९ सालको स्थानीय निर्वाचनमा उपमेयरमा गुप्ता पराजित भएका थिए ।
तर जसपा उम्मेदवार यादव भने गुप्ता असन्तुष्ट नरहेको दाबी गर्छन् । ‘उहाँको केही व्यक्तिगत असन्तुष्टि हुनसक्छ, तर पार्टी र संगठन सबैभन्दा ठूलो कुरा हो,’ यादवले लोकान्तरसँग भने, ‘उहाँ अहिले पनि मसँगै प्रचारप्रसारमा हिँडिरहनुभएको छ ।’
बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहका अनुसार, लोसपाले जसपाका नेता गुप्तालाई टिकट दिइसकेको थियो । तर अन्तिममा गुप्ताले टिकट लिन नमानेपछि कांग्रेसका नेता सिंहले पार्टी परित्याग गर्दै लोसपाबाट टिकट पाएका हुन् ।
बारा–३ मा स्थानीयहरूमा अहिले चुनावप्रति खासै चासो देखिएको छैन । तैपनि माथि उल्लेख गरिएका तीन उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने उनीहरू बताउँछन् । को जित्ने भन्ने कुराको दृश्य अहिलेसम्म स्पष्ट नभएको स्थानीयहरू बताउँछन् ।
‘स्थानीय तहको गठबन्धनको मतभारको परिणामले सत्ता गठबन्धनका उम्मेदवार सिंहको पल्ला भारी देखिन्छ भने जातिगत बाहुल्यको आधारमा निवर्तमान सांसद रामबाबु कुमार यादवकै पनि पल्ला भारी देखिन्छ,’ कलैयाको भरत चोकको एक चिया पसलमा भेटिएका मोहम्मद बिलट हवाडीले लोकान्तरसँग भने ।

उक्त क्षेत्रमा सबै यादव जातिको बाहुल्य भएकाले पनि यादव जातिका एक मात्र उम्मेदवार रामबाबु यादवले सहजै जित निकाल्न सक्ने कतिपयको अनुमान छ । यहाँ कुल ५० हजार जति मतदाता रहेकोमा १५ हजार जति यादव जातिकै मतदाता छन् ।
त्यसपछि १० देखि १२ हजार जति मुस्लिम मतदाता पनि छन् । ५ हजार जति पहाडी मतदाता छन भने १० हजारको हाराहारीमा वैश्य समुदाय (कानु, कलवार, बनिया) छन् ।
‘एक त यादव जातिको मतदाता त्यसै पनि बढी छ, त्यसबाहेक मुस्लिम समुदायमा पनि जसपाका उम्मेदवार यादवको नै बलियो पकड रहेका कारण यादवले सहजै जित्नुहुन्छ,’ यादवका समर्थक जयनन्दन यादवले लोकान्तरसँग भने, ‘त्यसबाहेक उहाँले संघ सरकार र प्रदेश सरकार समेतबाट बजेट ल्याएर थुप्रै विकास निर्माणका काम गर्नुभएकाले पनि उहाँले जित्नुहुन्छ ।’
जसपा उम्मेदवार यादव आफैं पनि चुनाव जित्नेमा ढुक्क छन् । अझ उनी गत निर्वाचनभन्दा दोब्बर मत ल्याएर जित्ने बताउँछन् ।
आफ्ना प्रतिद्वन्द्वी अन्य दुवै उम्मेदवारले विगतमा सांसद बनेर जनताका लागि केही पनि काम गर्न नसकेको आरोप उनले लगाए । आफूले भने २५ वर्षमा गरिने विकास निर्माणका काम ५ वर्षमा नै गरेको जिकिर उनले गरे ।
‘लालबाबु सिंह संविधानसभा सदस्य भएको बेला र ज्वाला साह पनि संविधानसभा सदस्य हुँदा मन्त्री बनेकोदेखि गत चुनावमा प्रदेश सांसद र संघीय मन्त्री समेत बनेर कुनै काम गर्न सक्नुभएन,’ उनले थपे, ‘तर मैले ५ वर्षमा नै जनताको समस्या सदनमा उठाउनुका साथै विकास निर्माणमा ठूलो फड्को मारेको आधारमा पनि चुनाव जित्छु ।’
आफ्नो क्षेत्रको १७ वडामध्ये १६ मा स्वास्थ्य चौकी निर्माण गराएर सञ्चालन गराएको तथा अर्को १ वडामा पनि चौकी निर्माणाधीन अवस्थामा रहेको उनले बताए । क्षेत्रभरि १४ वटा मोटरेबल पुल निर्माणाधीन रहेको, कलैया उपमहानगरपालिकामा प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माण गराउन ठेक्का प्रक्रिया अगाडि बढेको पनि उनले स्मरण गराए ।
कलैया उपमहानगरमा सहरी सघन विकासको तेस्रो प्याकेज सम्पन्न गराई चौथो प्याकेज शुरू गर्न लगाएको अनि कलैया सडकलाई २ लेन बाट ४ लेनको बनाउन लगाइरहेको उनले बताए ।
‘विकास निर्माणको कामदेखि सदनमा समेत शिक्षा, स्वास्थ्य सहित जनताका सवाल उठाएका हुनाले पनि जनताले मलाई भारी मत दिएर जिताउनु हुन्छ,’ जसपा उम्मेदवार यादवले लोकान्तरसँग भने ।
यादवले यस्तो दाबी गरे पनि उनका प्रतिद्वन्द्वीहरू भने पाँच वर्षमा विकास निर्माणको केही पनि काम नभएको आरोप लगाउँछन् ।
पहिलेदेखि नै पाइपलाइनमा रहेका संघीय सरकारका योजनाहरूलाई आफूले नै गराएको भनेर यादवले भ्रम छरिरहेको उनीहरूको कथन छ ।
औधापुरदेखि कलैया हुँदै विश्वम्भरपुरसम्मको तीन किलोमिटर सडक हालसम्म कच्ची हुँदा जनताले दिनहुँ धूलो खाएर सास्ती बेहोरिरहनुपरेकाले यादवको दाबी त्यसै पनि खारेज हुने उनीहरू बताउँछन् ।
बारा उद्योग वाणिज्य संघका सल्लाहकार दिव्यनाथ श्रेष्ठ भने सबै दलमा भित्रभित्रै व्यापक असन्तुष्टि रहेकाले कुन उम्मेदवार जित्छन् भन्ने आकलन गर्न मुश्किल भएको बताउँछन् ।
‘जसपामा रामबाबु कुमार यादव उम्मेदवार भएपछि जसपाकै प्रभावशाली नेता प्रमोद गुप्ता निष्क्रिय देखिएका छन्,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘ज्वाला साहले टिकट पाएपछि एमालेमा पहिलेदेखिका आकांक्षी अद्यानन्द पाण्डे निष्क्रिय देखिएका छन् ।’
गठबन्धनमा नेपाली कांग्रेसबाट उम्मेदवार नै नभएपछि लोसपाका सिंहलाई कांग्रेसले मत दिने हो वा नदिने हो त्यसमा आशंका देखिएको उनले खुलाए । हरेक दलका कार्यकर्तामा यस्तै किसिमका दुविधा रहेकाले को जित्ने हो भनी सजिलै आकलन गर्न कठिन रहेको उनको पनि विश्लेषण छ ।
तर अर्का स्थानीय सुरेश शर्मा सुवेदी भने एमाले उम्मेदवार ज्वाला साहको पल्ला भारी रहेको दाबी गर्छन् ।
‘कलैया उपमहानगरपालिकामा एमालेले नगरप्रमुख जित्नुका साथै क्षेत्रमा एमालेको संगठन पनि बलियो छ,’ उनले लोकान्तरसँग भने, ‘त्यसबाहेक उहाँले पनि विकास निर्माणका काम गराउन पहल लिनुभएको हुनाले पनि उहाँले नै जित्नुहुन्छ ।’
एमाले उम्मेदवार साह वैश्य समुदायको भएका कारण त्यस समुदायको मत पनि उनले पाउने सम्भावना रहेको बारा उद्योग वाणिज्य संघका अध्यक्ष साहको अनुमान छ ।
‘त्यसबाहेक उहाँको श्रीमान् पहाडी समुदायको भएका कारण पहाडी मत पनि उहाँमा जान सक्छ । एमालेको आफ्नै मतका कारण पनि उहाँको अवस्था बलियो नै देखिन्छ,’ साहले भने । तर एमाले नेता अद्यानन्द पाण्डेको निष्क्रियता भने व्यवस्थापन गर्नुपर्ने उनको कथन छ ।
देशलाई समृद्ध तथा जनतालाई सुखी बनाउन तराई, पहाड, हिमाल सबै भेगका जनताले एमालेलाई मतदान गर्ने भन्दै आफूले चुनाव जित्ने साहले बताइन् ।
‘जनताको सुख दुःखमा सधैं साथ दिएको, जनताको तर्फबाट अभिभावकको भूमिका निर्वाह गर्न सफल पनि भएको हुनाले जनताले मलाई मतदान गरेर चुनाव जिताउनुहुन्छ,’ साहले लोकान्तरसँग भनिन्, ‘जनताको बीचमा मैले निर्वाह गरेको इमान्दारिता, एमालेको लोकप्रिय मत अनि मतदाताले मलाई महिला भनेर पनि जिताउनुहुन्छ भनेर मैले विश्वास गरेको छु ।’
एमाले नेता पाण्डे असन्तुष्ट रहेको कुरा सत्य नभएको उनले बताइन् । ‘उहाँ पनि टिकटको आकांक्षी हुनुहुन्थ्यो तर पार्टीले मलाई टिकट दिने निर्णय गरेपछि मैले त्यसमा केही भन्न सक्दिनँ,’ उनले थपिन्, ‘तर अहिले त्यो कुरा उहाँले पनि बुझ्नुभएको छ । उहाँ अहिले असन्तुष्ट हुनुहुन्न । पार्टीले निर्णय गरेर टिकट दिएको उम्मेदवारलाई जिताउन उहाँ पनि लागिरहनुभएको छ ।’
अन्य उम्मेदवारभन्दा आफू नै बलियो रहेको उनको दाबी छ ।
‘हामी एक्लै जित्न सक्छौं भनेर नै जसपासँग तालमेल गरेका छैनौं,’ उनले थपिन्, ‘गठबन्धनमै भाँडभैलो छ । जसपासँग मित्रवत् प्रतिस्पर्धा गर्ने तथा एकअर्काबीच आरोपप्रत्यारोप नगर्ने सहमति भएको हुनाले जसपाका उम्मेदवारका विषयमा म केही भन्दिनँ ।’
अर्कातर्फ नेपाली कांग्रेसकै एक क्रियाशील स्थानीय नेताले पनि सिंहलाई चुनाव जित्न त्यति सहज नभएको बताए ।
‘एक त सिंहजी जातिले भूमिहार हुनुहुन्छ । क्षेत्रभरमा उक्त जातिको मुश्किलले ४ सय मत मात्र छ,’ ती नेताले थपे, ‘त्यसबाहेक उहाँ उम्मेदवार भएको लोसपाको बढीमा क्षेत्रमा ४ हजार मत मात्र छ ।’
कांग्रेसको आफ्नो उम्मेदवार नरहेका कारण कांग्रेसको मत एमाले र जसपामा पनि डाइभर्ट हुने प्रबल सम्भावना रहेका कारण सिंहलाई चुनौती थपिएको उनको विश्लेषण छ ।
नेपाली कांग्रेस बाराका जिल्ला सभापति समेत रहेका राजेशराय यादव पनि कांग्रेसका कार्यकर्ता मा चुनावका लागि कुनै उत्साह नदेखिएको स्वीकार गर्छन् । यादवले २०७४ सालमा कलैया उपमहानगरपालिकामा मेयर पद जितेका थिए भने २०७९ सालको स्थानीय चुनावमा उनी मेयरमा पराजित भएका थिए ।

यस क्षेत्रमा कांग्रेसको बलियो जनाधार तथा संगठन भए पनि आफ्नै उम्मेदवार नभएका कारण कांग्रेसका कार्यकर्तामा उत्साह नदेखिएको उनले बताए ।
‘हामीले जति निर्देशन दिए पनि कार्यकर्ताहरूमा उत्साह छैन । सबै कार्यकर्ताहरू मौन बसेका छन्,’ कांग्रेस सभापति यादवले थपे, ‘गठबन्धनका उम्मेदवारलाई मतदान गर्नु कांग्रेसको कर्तव्य पनि हो । तर नेताबाहेक कार्यकर्ताहरूमा कुनै किसिमको तदारुकता वा भनौं उत्साह देखिएको छैन ।’
कांग्रेसको एकल उम्मेदवार मात्र भएको अवस्थामा पनि कांग्रेसको सिधा जीत हुने स्थानमा कांग्रेसका उम्मेदवार नहुँदा कार्यकर्ताहरू असन्तुष्ट रहेको तर्क उनले गरे ।
सत्ता गठबन्धनका उम्मेदवार सिंह भने पाँचदलीय गठबन्धनको उम्मेदवार हुनु आफैंमा जीतको प्रमुख आधार रहेको बताउँछन् ।
‘मैले आफ्नो राजनीतिक जीवनको ४० वर्ष नेपाली कांग्रेसमा बिताएको छु । दुईपटक पार्टीको जिल्ला सभापति भएँ, संविधानसभा सदस्य भएर संविधान निर्माण गरेको छु,’ सिंहले लोकान्तरसँग भने, ‘राजनीतिक जीवनमा अन्य नेताजस्तो ठग्ने, दलाली गर्ने काम गरेको छैन । मेरो इमान्दारिताका कारण पनि मतदाताले मलाई जिताउनुहुन्छ ।’
अन्य ठाउँमा एमाले र जसपाबीच गठबन्धन छ तर यस क्षेत्रमा ती दुई दलबीच गठबन्धन नहुँदा मतभार पनि सत्ता गठबन्धनकै बढी भएकाले आफ्नो जीत सुनिश्चित रहेको उनको दाबी छ ।
नेपाली कांग्रेसका दुईजना सहमहामन्त्री फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, जिल्ला सभापति राजेश राय यादव समेत आफ्नो प्रचारप्रसारमा लागेका हुनाले कांग्रेसले समेत आफूलाई मत दिने उनले बताए ।
कांग्रेसले इमान्दारीपूर्वक मत दियो भने सिंहले पनि जीत हात पार्न सक्ने स्थानीयको विश्लेषण छ ।