
डेढ दशकभन्दा अघि कमल खनाल र बीमाकुमारी दुराको स्वरमा सार्वजनिक भएर दर्शक श्रोताको मन जित्न सफल भएको ‘भेट हुँदा बोले हुन्छ नी’ बोलको गीत नयाँ स्वरूपमा सार्वजनिक भएको छ ।
गायक एवं सर्जक कमल खनालले बुधवार प्रेम र वियोग समेटिएको यस लोकदोहोरी गीत सार्वजनिक गरेका हुन् ।
नयाँ गीतमा केही शब्दहरू परिमार्जन गरिएको छ भने अहिलेका चर्चित गायक/गायिका बिक्रम परियार र शान्तीश्री परियारले स्वर दिएका छन् ।
जानकी पन्थको शब्द रहेको पुरानो गीतमा खनाल स्वयंले केही शब्दहरू परिमार्जन गरेर ल्याएका हुन् ।
उनकै संगीत रहेको गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन् ।
अमित सुनारको कथा एवं निर्देशनमा तयार भिडियोमा नयाँ पुस्ताका कलाकारहरू अनिल पौडेल र एन्जिला केसीको अभिनय छ ।
नवराज उप्रेतीको छायाँकन, मनोज कार्कीको सम्पादन रहेको भिडियो कमल खनालले आफ्नै अफिसियल युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।
गायक एवं सर्जक खनाल केही वर्षयता अमेरिकामा रहेपनि नेपाली लोक गीतसंगीतलाई निरन्तरता दिँदै आएका छन् ।
सार्वजनिक ‘भेट हुँदा बोले हुन्छ नी’ गीतले श्रोता दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।