संसारको सबभन्दा ठूलो ऊर्जा कम्पनीमध्ये एक टोटल इनर्जीजका सीईओ प्याट्रिक पूयानेले वर्तमान विश्व व्यवस्थाका विषयमा रमाइलो बयान दिएका छन् ।
उनका अनुसार, अहिले पश्चिम र बाँकी विश्वबीच विभाजनको स्थिति आउनु सबभन्दा महत्त्वपूर्ण विकासक्रम हो ।
युक्रेन युद्ध शुरू भएपछि आफू भारत र पश्चिम एसियाली मुलुकहरूमा पुगेको अनि त्यहाँका मानिसले जनाएको प्रतिक्रियाबाट स्तब्ध भएको पूयानेको भनाइ छ ।
त्यहाँका मानिसले उनलाई सोधेका थिए, ‘तिमी युरोपेलीहरू कसरी यस्तो गञ्जागोल अवस्थामा आइपुग्यौ ?’
उनले थपे, ‘त्यसपछि मैले थाहा पाएँ, पश्चिमले युक्रेन द्वन्द्वका विषयमा राख्ने धारणासँग बाँकी विश्वको अधिकांश मानिस असहमत छन् । उनीहरू युक्रेन द्वन्द्वका लागि हामी पनि जिम्मेवार रहेको ठान्छन् अनि हामीले सही काम नगरेको विश्वास गर्छन् । हामीले रुसमाथि एकपक्षीय रूपमा प्रतिबनध लगाएको अनि पछि संयुक्त राष्ट्रसंघमा गएर त्यो सही हो कि हैन भनी सोधेको देखेर उनीहरूले हाम्रो सोचमा प्रश्न उठाए ।’
उनका अनुसार, पश्चिम र बाँकी विश्वबीचको विभाजनरूपी घटनालाई विचार गर्नु अत्यावश्यक छ किनकि नयाँ विश्व थप भूराजनीतिक बनेको छ । अर्थात्, खेमाहरू बन्ने र विभाजन हुने क्रम जारी छन् । अहिले पश्चिमी खेमामा एक अर्ब मानिस छन् भने बाँकी विश्वमा ६ अर्ब मानिस छन् ।
इजिप्टमा चलिरहेको कोप२७ मा यो विभाजन स्पष्ट भएको छ । त्यहाँ पश्चिम र बाँकी विश्व (ग्लोबल साउथ) बीच बहस चलेको छ । हामीलाई पनि विकासको अधिकार छ भनी अफ्रिकी मुलुकहरूले बताए ।
अहिले विश्व व्यवस्था दोबाटोमा आइपुगेको छ । यहाँबाट दुईवटा बाटा अघि बढ्नेछन् ः अहिलेकै दिशामा अघि बढ्ने र विभाजन गराउने वा यी दुई खेमालाई मेलमिलाप गराउने नयाँ विश्व व्यवस्था बनाउने ।