लगभग दुई वर्षको प्रतिबन्धपछि अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर अकाउन्ट पुनर्बहाली गरिएको छ ।
अक्टोबर महिनामा अर्बपति इलोन मस्कले ट्विटर किनेपछि यसअघि सस्पेन्ड गरिएका अकाउन्टहरू धमाधम पुनर्बहाली गरिरहेका छन् ।
सन् २०२० को जनवरी महिनामा ट्रम्प समर्थकहरूले अमेरिकी संसद् भवन क्यापिटोल हिलमा विध्वंस मच्चाएपछि ट्विटर र फेसबूकले उनको अकाउन्ट बन्द गरिदिएका थिए ।
त्यसपछि ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल खोलेका थिए ।
मस्कले ट्विटरमा ट्रम्पलाई फिर्ता ल्याउने कि नल्याउने भनी एउटा पोल गरेका थिए । त्यसमा अधिकांश प्रयोगकर्ताले ट्रम्पको खाता पुनर्बहाली गर्नुपर्ने माग राखेका थिए । जनताको इच्छा नै ईश्वरको इच्छा हो लेख्दै मस्कले ट्रम्पको खाता पुनर्बहाली गरेका हुन् ।
ट्रम्पले अन्तिमपटक जनवरी ८, २०२१ मा ट्वीट गरेका थिए । खाता पुनर्बहाली भइसके पनि उनले ट्वीट गरिसकेका छैनन् ।