२९ असार २०८३, सोमबार

१२५ मतले हारेपछि रविन्द्रले भने – परोपकारी काममा लाग्नेछु

१२५ मतले हारेपछि रविन्द्रले भने – परोपकारी काममा लाग्नेछु

काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ झिनो मतले पराजित भएका राप्रपाका रविन्द्र मिश्रले अब परोपकारी काममा लाग्ने बताएका छन् । 

नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग जम्मा १२५ मत अन्तरले पराजित भएका मिश्रले विगतमा जस्तै आफू परोपकारी काममा संलग्न हुने बताएका हुन् । विगतमा हेल्प नेपाललगायतका संस्थामार्फत परोपकारी काममा सहभागी भएको स्मरण गर्दै आगामी दिनमा कोष नै बनाएर परोपकारी काममा सहभागी हुने बताएका हुन् । 
 
विज्ञप्तिको पूर्णपाठ

प्रेस विज्ञप्तिः म आभारी छु !

एक सय पच्चिस मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दुखी छु तर म समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको जानकारी गराउन चाहन्छु । गत पाँच वर्षको मेरो उतार–चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीकाबिच पनि जुन मत पाएँ, त्यसलाई म टुट्न दिने छैन ।

‘झुठ बोलेर मत माग्दिन’ र ‘चुनाव जित्ने देश हार्ने राजनीति गर्दिन’ भन्ने मेरो दृढताको जगमा प्राप्त यो विश्वासका लागि म मतदाता तथा सबै शुभेच्छुकहरू गहिरो आभार प्रकट गर्न चाहन्छु । म त्यो शब्दमा व्यक्त गर्न सक्दिन ! यस पटक काठमाडौँ क्षेत्र नं १ मा ‘चुनावी संग्राम’ मात्र भएको थिएन, त्यो ‘चुनावी महासंग्राम’ थियो ।

धेरै साथीहरूले निर्वाचन परिणामबारे चिन्ता गर्दै म प्रति गहिरो सहानुभूति व्यक्त गरिरहनुभएको छ । अलि आध्यात्मिक प्रकृतिको व्यक्ति हुनाले म ‘कर्म गर फलको ‘भर’ नपर’ भन्ने मान्यता राख्दछु । कर्मको फल आफ्नो नियन्त्रणमा छैन भन्ने विश्वास गर्दछु । तसर्थ, म जीवनका प्रतिकूलताहरूलाई सहज रूपमा ग्रहण गर्न सक्छु ।

म मेरा शुभेच्छुक मतदाता र सहयोगी साथीहरूबारे सोचेर भावुक छु, जसमध्ये कतिपयको आँखामा मैले २०७४ साल र हालको निर्वाचन प्रचारको क्रममा स्नेहमात्र होइन, टलपलाएको आँशु पनि देखेको छु । राजनीति यस्तो क्षेत्र हो जहाँ जिम्मेवारीमै नपुगी ठोस काम गरेर देखाउन नसकिने रहेछ । म २०७४ साल र यसपटकको निर्वाचन दुवैमा झिनो मतले पराजित भएँ । तर, ममाथि यति ठूलो विश्वास व्यक्त गर्ने काठमाडौँ क्षेत्र नं एक का मतदाताका लागि मैले केही गर्न सकेको छैन ।

मेरो पृष्ठभूमि पत्रकारिता र परोपकारसँग जोडिएको छ । मैले पत्रकारितामा फर्किने या पत्रकारितामार्फत् आफ्नो निर्वाचन क्षेत्रलाई योगदान गर्ने सम्भावना म देख्दिन । तर व्यापक प्रतिकूलतामाझ पनि ममाथि विश्वास गर्ने काठमाडौँ क्षेत्र नं एकका मतदाताप्रति आभार प्रकट गर्न मैले मेरा पछिल्ला दुई पुस्तक (विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाज) बाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर रू २५ लाखको ‘सीड मनि (बीज पैसा)’ बाट ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ स्थापना गर्ने निर्णय गरेको छु । त्यसले मलाई मनमा अलिकति भए पनि शान्ति दिनेछ ।

मेरै अग्रसरतामा स्थापित परोपकारी संस्था हेल्प नेपाल नेटवर्क पनि यस्तै सानो रकमबाट शुरू गरिएको थियो र विश्वभरिका नेपाली–नेपाली मिलेर त्यसले आज सयौँ परोपकारी काम गरिसकेको छ । त्यसैगरि ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ ले पनि भविष्यमा यो क्षेत्र (वडा नं १०, ११, २९ र ३१) भित्र धेरै राम्रा कामहरू गर्न सक्नेछ भन्नेमा म विश्वस्त छु। विश्वका विभिन्न मुलुकमा बस्नुहुने काठमाडौँ क्षेत्र नं १ का तथा अन्य शुभेच्छुकहरूले सो कोषमा सहयोग गर्न सक्नुहुनेछ । सो कोषलाई कसरी औपचारिक बनाउने, कसरी सञ्चालन गर्ने र के कस्ता काममा केन्द्रित गर्ने भन्नेबारे म केही समयभित्र जानकारी गराउनेछु ।

निर्वाचनमा विजयी हुनुभएका प्रकाशमान सिंहलाई बधाई तथा शुभकामना अर्पण गर्दै आगामी कार्यकालमा तपाईँलाई यो समाज र देशलाई शीरमा राखेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रेरणा र शक्ति मिलोस् भन्ने कामना गर्दछु ।

रवीन्द्र मिश्र
मितिः ०६ मंसिर २०७९
 

salt training

कमेन्ट गर्नुहोस्