०९ साउन २०८३, शनिबार

नवलपुरको चारवटै प्रदेश सभामा एमाले अगाडि

नवलपुरको चारवटै प्रदेश सभामा एमाले अगाडि

चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का चारै स्थानमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालका अनुसार नवलपुरको क्षेत्र नं १ को प्रदेशसभा (१)मा एमालेका रवीन्द्र अधिकारी, क्षेत्र नं १ को प्रदेशसभा (२) मा एमालेका रोशनबहादुर गाहामगर तथा नवलपुर क्षेत्र नं २ को प्रदेशसभा (१) मा एमालेका पद्मा जिसी र क्षेत्र नं २ को प्रदेशसभा (२) मा एमालेका लक्ष्मणबहादुर पाण्डेको अग्रता छ ।

नवलपुर क्षेत्र नं १ को प्रदेश (१) मा एमालेका रवीन्द्र अधिकारीले छ हजार दुई सय १३ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार महेन्द्रध्वज जिसीले छ हजार एक सय ५२ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सन्तोष थापाले दुई हजार एक सय १८ मत प्राप्त गरेका छन् । 

क्षेत्र नं १ को प्रदेशसभा (२) मा एमालेकै रोहनबहादुर गाहामगरले सात हजार ६८ मत प्राप्त गर्दा उनलाई छ हजार दुई सय ६३ मतसहित नेकपा (माओवादी केन्द्र)का लोकप्रसाद भुर्तेलले पछ्याइरहेका छन् । यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रामनाथ उप्रेती एक हजार छ सय ५८ मतसहित तेस्रो स्थानमा छन् । 

नवलपुरको क्षेत्र नं २ को प्रदेश सभा (१) मा एमालेकी पद्मा जिसी १४ हजार छ सय ९५ मतसहित अग्रस्थानमा छिन् । १० हजार नौ सय ४६ मतसहित माओवादी केन्द्रका उम्मेदवार सौगमकुमार सिरपाली विकले जिसीलाई पछ्याइरहेका छन् । यस प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नुनबहादुर आलेमगर दुई हजार सात सय ४१ मतसहित तेस्रो स्थानमा रहेका छन् । 

नवलपुरको क्षेत्र नं २ को प्रदेश सभा (२) मा एमालेकै लक्ष्मणबहादुर पाण्डे १३ हजार चार सय १४ मतसहित अगाडि छन् । उनका निकटतम् प्रतिस्पर्धीका रूपमा यस क्षेत्रमा १० हजार एक सय ६१ मतसहित नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार गोपालप्रसाद खनाल रहेका छन् । यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका भोजबहादुर थापा तीन हजार आठ सय २१ मतसहित तेस्रो स्थानमा रहेका छन् । जिल्लाको क्षेत्र नं १ मा ८५ हजार तीन सय ९९ तथा क्षेत्र नं २ मा ८७ हजार तीन सय ८२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्