
काठमाडौं उपत्यकाका १५ सिटमध्ये एक तिहाई सिटमा केही महिना अघि स्थापना भएको रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले ५ सिट जितेको छ ।
उपत्यकाका मतदाताले नयाँ अनुहारलाई प्राथमिकता दिँदा ठूला दलका उम्मेदवार पराजित भएका छन् राजनीतिक इतिहास नै नभएकाहरू सांसद बनेका छन् ।
राजनीति नेतृत्वमा परिवर्तन खोजिरहेका उपत्यकाका मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई अनुमोदन गरिदिएका छन् ।

काठमाडौं क्षेत्र नम्बर–२ का मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोविता गौतमलाई चुनाव जिताइदिएका छन् ।
केही समय सञ्चारमाध्यममा काम गरेको अनुभवसमेत भएकी गौतम कानूनकी विद्यार्थी हुन् । उनले कोभिड–१९ महामारीको समयमा नेपाल टेलिभिजनमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएकी थिइन् । पछिल्लो समय उनी अदालत पेशामा थिइन् ।
काठमाडौं–२ मा एमाले दोस्रो, राप्रपा तेस्रो र गठबन्धनकी उम्मेदवार चौथौ स्थानमा सीमित भए ।
गौतमले १५ हजार २२९ मत पाएकी छन भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मणिराम फुँयालले ११ हजार ५५५ मत प्राप्त गरेका छन ्। शिक्षण पेसाबाट राजनीतिमा आएका फुँयालले जित्ने आँकलन गरिएको थियो ।
गौतम अहिलेसम्म जितेका उम्मेदवारमध्ये कान्छी उम्मेदार हुन् ।
चुनाव जितेपछि गौतमले काठमाडौं–२ ले इतिहास रचेको दावी गरिन् ।
उक्त क्षेत्रबाट चुनाव जितेको व्यक्ति राष्ट्रपति, प्रधानमन्त्री भएको इतिहास रहेको भन्दै यस पटक काठमाडौं–२ का मतदाताले कान्छी उम्मेदवारलाई जिम्मेवारी सुम्पिएर इतिहास रचेको गौतमले बताइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अर्का उम्मेदवार शिशिर खनालले काठमाडौं क्षेत्र नम्बर–६ बाट चुनाव जितेका छन् । खनाल १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् । यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा सीमित भए ।

शिशिरले सुरक्षा निकाय बुझेका दुवै उम्मेदवारलाई पछि पारेका हुन् । नेपाली कांग्रेसका नेता प्रधान पूर्व रक्षामन्त्री हुन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनाल पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) हुन् । काठमाडौं–६ लाई कांग्रेसको गढकोरूपमा लिइन्थ्यो । तर, सोही क्षेत्रमा प्रधान पराजित भएका छन् ।
नीति निर्माणमा विज्ञ मानिने शिशिर खनालले अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन् । पछिल्लो समय उनी नेपालमा विद्यालय व्यवस्थापन र गुणस्तरका विषयमा काम गर्दै आएका थिए ।
त्यसैगरी, काठमाडौं–७ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले नै चुनाव जितेका छन् । काठमाडौं–७ मा गणेश पराजुली ८ हजार ७४३ मत ल्याएर विजयी भएका हुुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार श्यामकुमार घिमिरेले ६ हजार ८०० मत पाएका थिए ।

उक्त निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमी भट्टराईले ६ हजार ६३ मत ल्याएकी छिन् ।
माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमी भट्टराईले जित्ने धेरैको आंकलन थियो । तर, समाजसेवीको पृष्ठभूमीबाट आएका पराजुलीले भट्टराईलाई पछि पारिदिए । पराजुली पर्यटन व्यवसायी पनि हुन् ।
काठमाडौं–८ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ४ हजार २१६ मतान्तरले पराजित गरेका हुन् । श्रेष्ठले १० हजार १०५ मत ल्याएका थिए । सायमीले ५ हजार ८८९ मत पाए । श्रेष्ठ अघिल्लो प्रदेश सभामा विवेकशील साझा पार्टीबाट प्रदेश सांसद् भएका थिए ।

रास्वपाकी अर्की उम्मेदवार हुन् तोसिमा कार्की । रास्वपाका सभापति रवि लामिछानेपछि सबैभन्दा धेरै चर्चामा रहेकी कार्कीले बहालवाला मन्त्रीलाई चुनावमा पराजित गरेर जीतको नजिक पुगेकी छिन् । कार्कीले अहिलेसम्म १५ हजार ८५१ मत ल्याएकी छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका अमृत खड्काले ८ हजार ७२० मत ल्याएका छन् ।

उर्जा मन्त्रीसमेत रहेकी पम्फा भुसाल ५ हजार ९३९ मत ल्याएर तेस्रो स्थानमा छिन् । उम्मेदवारी दिएपछि खासै चर्चामा नरहेकी कार्कीका विरुद्ध निर्वाचन आयोगमा उजुरी परेपछि एकाएक उनको चर्चा चुलिएको थियो । उनी मेडिकल डाक्टरको पेसा छाडेर राजनीतिक मैदानमा आएकी हुन् ।