१० साउन २०८३, आइतबार
प्रतिनिधिसभा निर्वाचन

वडाध्यक्षमा समेत नपत्याइएका जयप्रकाश अन्ततः बने प्रदेश सांसद

मंसिर ७, २०७९
वडाध्यक्षमा समेत नपत्याइएका जयप्रकाश अन्ततः बने प्रदेश सांसद

गत वैशाखमा सम्पन्न भएको स्थानीयतहको निर्वाचनमा वडा अध्यक्षको टिकट नपाएका जयप्रकाश चौधरी प्रदेश सभामा निर्वाचित बनेका छन् । ग्रामथान ३ नम्बर वडाको वडाध्यक्षमा उठ्न खोेजे पनि उनलाई पार्टीले टिकट दिएन । त्यति बेला उनलाई आफ्नो पार्टी नेकपा एमालेले पत्याएन । 

मंसिर ४ गतेको निर्वाचनमा भने सो क्षेत्रमा प्रतिनिधि सभा हत्याउन एमालेले उनलाई प्रयोग गरेको चर्चा थियो । थारुको बाहुलियता रहेको क्षेत्रमा थारु उम्मेदवारको खोजी भयो । मोरङको राजनीतिमा चतुर खेलाडी मानिएका विनोद ढकाल प्रतिनिधि सभाको उम्मेदवार बन्ने पक्का भएपछि उनले चुनाव जित्नका लागि थारु समुदायको भोट तान्न चौधरीलाई टिकट दिन लबिङ गरे । टिकट पाएका चौधरीले अन्ततः नेपाली काग्रेसका बौद्धिक नेता गुरुराज घिमिरेलाई हराउँदै निर्वाचित भए । 

१५ वर्ष सम्ममा विभिन्न गैरसरकारी संस्थामा जागिर खाएका चौधरीले ग्रामिण विकास विषयमा स्नातकोत्तर पास गरेका छन् । 

एमालेबाट मोरङ क्षेत्र नंं. ४ (क) मा उम्मेदवार बनेका चौधरीले कृषिलाई प्राथमिकता दिएर उनले आफ्ना चुनावी एजेण्डा बनाएका थिए । उद्यमशीलता र कृषिलाई प्राथमिकता दिने उनको चुनावी नारा थियो । आर्थिक अवस्था सुधार, कृषिको समग्र विकास, कृषिमा आत्मनिर्भर बनाउने, कृषिको व्यावसायिकरण आफ्नो पहिलो प्राथमिकता रहेको चौधरीले बताउँछन् । सीपयुक्त व्यक्ति ल्याएर भारतीय कामदारहरू उद्योगमा नराख्ने उनको एजेण्डालाई स्थानीयले अनुमोदन गरिदिए । युवाहरूको सीप एवं दक्षता विकासका लागि नीतिगत निर्णय गरेर अघि बढ्ने चौधरीको भनाइ छ । 

घिमिरेलाई ४०७ मतअन्तरले पराजित गरी चौधरी निर्वाचित भए । चौधरीले १५ हजार ४६५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी घिमिरेले १५ हजार ५८ मत ल्याएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्