
नेकपा एसका नेता एवं पूर्वमन्त्री धनबहादुर बुढाले डोल्पाबाट ह्याट्रिक जीत निकालेका छन् । प्रतिनिधि सभा निर्वाचनको बिहीबार राति सम्पन्न मतगणनामा बुढाले फराकिलो मतान्तरसहितको जीत निकालेका हुन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एसका नेता बुढाले ११ हजार २२५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका गणेश बहादुर शाहीले ५ हजार ४९८ मत पाए । धनबहादुरले दोब्बरभन्दा बढी मतले चुनाव जित्दा राप्रपाका अंगतकुमार बुढाले ६६१ भोट पाए ।
२०७० सालमा दोस्रो संविधानसभा निर्वाचनमा विजय भएयता उनको संसद यात्रा रोकिएको छैन् । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि उनी वामपन्थी गठबन्धनको तर्फबाट फराकिलो मतान्तरले विजयी भएका थिए । चुनाव जितेका नेकपा एसका नेतामा सबैभन्दा धेरै मतान्तर धनबहादुरले बनाएका छन् ।
सांसद र मन्त्री भएर गरेको विकास तथा अप्ठ्यारोमा परेका मतदातालाई व्यक्तिगतरुपमा समेत सहयोग गर्दै आएका धनबहादुर डोल्पाका प्रभावशाली नेता मानिन्छन् ।
गत स्थानीय तह निर्वाचनमा उनले दुईवटा पालिकामा निर्विरोध गराएर नेकपा एसको लागि खाता खोलेका थिए ।
स्थानीय तह निर्वाचनमा पार्टीको खाता खोलेको भन्दै नेकपा एसका अध्यक्ष माधव नेपालले धनबहादुरको प्रशंंशा गरेका थिए । संसदीय निर्वाचन जितेपछि उनलाई मन्त्री बनाउने आश्वासन नेता नेपालले दिएका थिए ।
नेकपा एसका अध्यक्ष माधव नेपालसहित १० जनाले प्रतिनिधि सभामा सीट सुरक्षित गरेका छन् ।