२५ जेठ २०८३, सोमबार

समानुपातिकतर्फ ७६ लाख मत गनियो, एमालेको अग्रता कायमै

मंसिर १०, २०७९
समानुपातिकतर्फ ७६ लाख मत गनियो, एमालेको अग्रता कायमै

निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ । आयोगले साँझ ५ बजेर ४० मिनेटसम्म उपलब्ध गराएको विवरणअनुसार कूल ४७ राजनीतिक दलले प्राप्त गरेको मत गणना गरेको हो । 

समानुपातिक निर्वाचन प्रणालीमार्फत कूल एक सय १० प्रतिनिधिसभा सदस्य चुनिने संवैधानिक व्यवस्था छ । त्यसमा सबैभन्दा बढी नेकपा(एमाले)ले २० लाख ८९ हजार ७२ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २० लाख १६ हजार ६२५ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र) ले ८ लाख ९१ हजार ८०८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ५४ हजार ८७१ मत प्राप्त गरेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५८ हजार ४५९ मत, जनता समाजवादी पार्टीले २ लाख ४८ हजार ९६८ मत, नेकपा (एकीकृत समाजवादी) ले १ लाख ९३ हजार ९६४ मत, जनमत पार्टीले १ लाख ७८ हजार २३२ मत, नागरिक उन्मुक्ति पार्टीले १ लाख ७५ हजार ८५९ मत, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४ हजार ३४९ मत, नेपाल मजदुर किसान पार्टीले ६८ हजार ३०८ मत प्राप्त गरेका छन् । 

अन्तिम स्थानमा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले १ हजार १५९ मत प्राप्त गरेका छन् । यही मंसिर चार गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा कूल ६१ प्रतिशत मतदान भएको थियो । सो निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदातालाई मताधिकार थियो ।     निर्वाचनमा प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ हजार ४१२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार १९९ उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा कायम गरिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्