
काठमाडौं महानगरपालिकाका दुई दर्जनभन्दा बढी घाइते नगर प्रहरीहरूको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गरिएको छ । थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउन गएको महानगरको टोलीमाथि त्यहाँका बासिन्दाले ढुंगामुढा प्रहार गरेका थिए ।
सुकुम्बासी बस्तीका बासिन्दाले प्रहार गरेको ढुंगामुढा लागेर घाइते भएका महानगरका प्रहरी तथा कर्मचारीहरूको नर्भिकमा उपचार भएको हो । झडपमा घाइते भएका नगर प्रहरीहरूलाई इमेरजेन्सी र ठाउँ अपुग भएका कारण त्यसभन्दा अघिल्तिरको खुला क्षेत्रमासमेत राखेर नर्भिकका स्वास्थ्यकर्मीहरूले उपचार गरेका थिए ।
सो क्रममा काठमाडौं महानगरका २६ भन्दा बढी नगर प्रहरी तथा कर्मचारीको उपचार गरिएको अस्पतालले जनाएको छ । उपचारका लागि आएका घाइतेमध्ये केहीको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ । अन्यको शरीरका विभिन्न भागमा चोट लागेको र तिनीहरुको पनि नर्भिकमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
झडपमा घाइते भएका अन्यको समेत नर्भिकमा उपचार भएको थियो ।







