![जब थापाथलीका सुकुम्वासीहरू इँटा लिएर बालेनविरुद्ध प्रतिकारमा उत्रिए ! [भिडियो रिपोर्ट]](https://lktcdn2.prixacdn.net/media/Sukumbasi_Basti_Thapathali5_RLelMVkjG9.png)
थापाथलीस्थित सुकुम्वासी बस्तीमा काठमाडौं महानगरले डोजर चलाउने क्रममा अवरोध भएको छ ।
महानगरपालिकाले अनधिकृत रूपमा बनाइएका भौतिक संरचना हटाउने अभियानअन्तर्गत सोमवार दिउँसो डोजर चलाउन शुरू गरेको हो ।
त्यसक्रममा बस्तीका सुकुम्वासीहरूले महानगर प्रहरीविरुद्ध इँटा र बास प्रहार गरी प्रतिकार गरेका थिए । बस्ती खाली गर्न महानगरपालिकाले पहिल्यै ३५ दिने सूचना जारी गरिसकेको थियो ।
विकल्प नै नदिई आफूहरूको बासस्थान उठाउन थालेकाले आफूहरू घरेलु हतियारसहित प्रतिकारमा उत्रिनुपरेको पीडितको भनाइ छ । स्थानीयले टायर बालेर समेत विरोध गरेका छन् ।
बस्तीका स्थानीय हुकुमबहादुर लामाले भने, ‘हाम्रो बस्ती नभत्काइयोस् भनेर प्रधानमन्त्रीलाई समेत जानकारी गराएका छौं । भुटानी शरणार्थीलाई त गाँस, बाँस, कपासको व्यवस्था गरेको छ भने हामी त यही देशको नागरिक हौं । हामीलाई चाहिँ उचित व्यवस्थापन गर्नु पर्दैन ?’
उनले अगाडि भने, ‘यदि विना विकल्प हाम्रो बाँस भत्काउन कोही आउँछ भने हामी प्रतिरक्षाको लागि घरेलु हतियार चलाउन बाध्य हुन्छौं ।’
शंखमूल सुकुम्वासी बस्तीबाट थापाथली बस्तीमा आन्दोलन गर्न आएकी गीता कार्कीले भनिन्, ‘यताको उताको जताको सुकुम्वासी भए पनि हामी एउटै हौं, हामीलाई गाह्रो–साह्रो पर्दा उहाँहरू आउनुहुन्छ, उहाँहरूलाई पर्दा हामीले साथ दिने हो । यसरी बाँसको विकल्प नै नदिई डोजर लिएर भत्काउन आउन पाइँदैन ।’
‘बालेनलाई हामीले भोट दिएर जितायौं, अहिले हामीमाथि नै खनिन आउँछ भने हामी पनि जाई लाग्ने हो, प्रतिकार गर्ने हो,’ उनले आक्रोश पोख्दै भनिन् ।
प्रसूतिगृह छेउमा मकै पोलेर जीविका चलाइरहेकी सुकुम्वासी बस्तीकी स्थानीय एक महिलाले भनिन्, ‘मेरो आमाबुवा यही बस्तीमा बित्नुभयो । म यही बस्तीमा हुर्कें । आज ४० वर्ष बितिसकेको छ । अनि मेरो सानो–सानो बच्चाहरू यही हुर्किंदैछन् । अनि हामीलाई त्यसै बेघर बनाउन पाइन्छ ? हामीले यस फोहोर स्थानमा बस्ती बसालेर सफा गरेर बसेका छौं । शहरका घरघरबाट निस्कने फोहोर यहाँ आएर मिसिन्छ तर यस्तो दुर्गन्धित ठाउँलाई सफा गरेर बसेका छौं । अनि विना विकल्प हामीलाई हटाउँदा हाम्रो बिचल्ली हुँदैन ? हामीलाई बाँच्ने अधिकार छैन ?’ उनले आक्रोशित मुद्रामा भनिन् ।