
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको यही मंसिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधि सभाको समानुपातिकतर्फ मंगलवार साँझसम्म ९८ लाख ८ हजार ९२७ मत गणना सम्पन्न भएको छ ।
निर्वाचन आयोगकाअनुसार हालसम्म नेकपा (एमाले)ले सबैभन्दा बढी मत २६ लाख ४३ हजार ८२ मत प्राप्त गरेको छ । त्यसपछि बढी नेपाली कांग्रेसले २४ लाख ९८ हजार ७७८ मत पाएको छ ।
नेकपा (माओवादी केन्द्र) ले ११ लाख २७ हजार ७१०, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ८५ हजार ५६४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ५९ हजार २२५, जनता समाजवादी पार्टी नेपालले ३ लाख ७६ हजार ८६८, जनमत पार्टीले ३ लाख ३३ हजार ४९३, नेकपा (एकीकृत समाजवादी)ले २ लाख ७६ हजार ९११ र नागरिक उन्मुक्ति पार्टीले २ लाख ४६ हजार ८३ मत प्राप्त गरेको आयोगले जनाएको छ ।
यस निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड ९ लाख हाराहारीमा मत खसेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।
प्रतिनिधि सभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा ३ लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ । अहिलेसम्म ९८ लाख ८ हजार ९२७ मत गणना हुँदा सात दलले ‘थ्रेस होल्ड’ सीमा पार गरिसकेका छन् ।
एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा नेपाल र जनमत पार्टीले गणना भएको मतबाट तीन प्रतिशत भन्दा बढी मत कटाएका छन् । पछिल्लो मतगणनाको तथ्यांकको आधारमा नेकपा (एकीकृत समाजवादी) दुई लाख ७६ हजार ९११ र राष्ट्रिय उन्मुक्ति पार्टीले दुई लाख ४६ हजार ८३ मत प्राप्त गरेका छन् ।
२०७४ मा पाँच राष्ट्रिय दल
२०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पाँच दलले निर्वाचन ऐनले तोकेको थ्रेस होल्ड पार गरी राष्ट्रिय दलको मान्यता पाएका थिए । सो निर्वाचनमा एमाले, कांगे्रस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले राष्ट्रिय मान्यता प्राप्त गरेका थिए ।
उक्त निर्वाचनमा एमालेले ३१ लाख ७३ हजार चार सय ९४, कांग्रेसले ३१ लाख २८ हजार ३८९, माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१, राजपा नेपालले ४ लाख ७२ हजार २५४ र संघीय समाजवादी फोरम नेपालले ४ लाख ७० हजार २०१ मत प्राप्त गरेका थिए । उक्त निर्वाचनमा प्रतिनिधि सभाको समानुपातिकतर्फ एमालेले ४१, कांगे्रसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी नेपालले ६ र संघीय समाजवादी फोरम नेपालले ६ सिट प्राप्त गरेको आयोगको तथ्यांक छ । रासस