२५ जेठ २०८३, सोमबार
ढल्याे गच्छदारकाे विरासत

तेस्रो प्रयासमा ढालिन भगवतीले गच्छदारको ३ दशकको विरासत, भ्रष्टाचारको दागले हराउन सघायाे

मंसिर १३, २०७९
तेस्रो प्रयासमा ढालिन भगवतीले गच्छदारको ३ दशकको विरासत, भ्रष्टाचारको दागले हराउन सघायाे

तेस्रो प्रयासमा सुनसरी–३ बाट एमाले नेतृ भगवती चौधरीले राजनीतिक खेलाडी विजयकुमार गच्छदारलाई पराजित गरेकी छिन् । 

पूर्वी पहाडका लिम्बु समुदायमा चर्चित ‘तीन पटकमा राँगो त छिन्छ’ भन्ने उखान यतिबेला चौधरीका लागि चरितार्थ भएको छ । २०४८ यताका सबै चुनाव जित्दै आएका नेपाली कांग्रेसका नेता गच्छदार यस पटक भने संसद बाहिरै भए । चौधरी फराकिलो मतान्तरले गच्छदारको विजय यात्रामा ब्रेक लगाइन् । 

२०४८, २०५१, २०५६ र २०७४ मा गच्छदार कांग्रेसबाट उम्मेदवार भएर चुनाव जितेका थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी मधेसी जनअधिकार फोरमबाट निर्वाचित भए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने उनले फोरम लोकतान्त्रिकबाट चुनाव जिते ।

२०४८ मा उनले एमालेका लीला श्रेष्ठलाई झण्डै दोबर मतले पराजित गरी पहिलो पटक सांसद भएका थिए । २०५१ को मध्यावधि चुनावमा एमालेका कुलदीप पेशकर र २०५६ मा एमालेकै रेवतीरमण भण्डारीलाई गच्छदारले पराजित गरेका  थिए ।

२०६४ को चुनावमा उनले काँग्रेस छाडिसकेका थिए । मधेसी जनअधिकार फोरमबाट उम्मेदवार बनेका उनले काँग्रेसका अगमलाल चौधरीलाई झन्डै दोब्बर मतले पराजित गरे ।

२०७० को दोस्रो संविधानसभा चुनावमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट उम्मेदवार बनेका गच्छदारले एमालेकी भगवती चौधरीलाई ३६२ मतले पराजित गरेका थिए । 

त्यसपछि उनले आफ्नै नेतृत्वको फोरम (लोकतान्त्रिक)लाई काँग्रेसमा विलय गराए । पुरानै घर फर्किएका गच्छदार काँग्रेसको उपसभापति बने ।

२०७४ को निर्वाचनमा काँग्रेसबाट उम्मेदवार बनेका उनले दोस्रो पटक पनि भगवतीलाई पराजित गरे । चौधरीले भने धाँधली गरेर गच्छदारले चुनाव जितेको आरोप लगाउने गरेकी थिइन् । ०७४ को चुनावमा गच्छदारले धाँधली गरेको आरोप लगाउँदै भगवती चौधरीले सर्वोच्च अदालतका दर्ता गरेको मुद्दा अलिहेसम्म विचाराधीन नै छ । 

तर, यस पटक भने गच्छदारको जोर चलेन । गच्छदारका लागि पानीपँधेरो बनेको संसद छिर्ने लाइसेन्स चौधरीले हस्तक्षेप गरेकी छिन् । 

६ पटक सांसद हुँदा १२ पटक मन्त्री भएका चौधरीलाई चुनावमा पराजित गर्न भगवतीलाई त्यति सहज थिएन । तर, यस पटक चौधरीका लागि अवस्था अनुकूल बनिदियो । 

गच्छदारलाई ललिता निवास प्रकरणमा मुद्दा लागेको छ । त्यही मुद्दाका कारण अघिल्लो संसदमा गच्छदार निलम्बित भएका थिए । यो मुद्दाको गच्छदारलाई चुनावको लागि सबैभन्दा प्रतिकूल बनिदियो । 

सुनसरीमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेर संसदमै जान नपाउने व्यक्तिलाई भोट नहाल्न भाषण गरेका थिए । 

एमालेका कार्यकर्ताले त्यसैलाई व्यापक प्रचार गराए । गच्छदारले जिते पनि भोट खेर जाने भन्दै गरिएको प्रचार चौधरीका लागि चुनाव जित्ने आधार बनिदियो । 

अर्कोतर्फ, दुई पटक चुनाव हारेको भनेर चौधरीमाथि महिला मतदाताको सहानुभूतिको भोट पनि थपियो । अन्ततः गच्छदारको तीन दशकदेखिको विरासत ढल्यो । 

चुनावमा विजयी भएपछि चौधरीले आफ्ना लागि मतदाताले चुनौती र अवसर दुवै दिएको बताइन् । 

त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी चौधरी फरवार्ड लघुवित्तकाे अध्यक्ष छिन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्