२० असार २०८३, शनिबार

नेपाल बैंक र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच सम्झौता

मंसिर १६, २०७९
नेपाल बैंक र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच सम्झौता

नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेड र नेपाल नागरिक उड्डयन प्राधिकरण (पोखरा अन्तर्राष्ट्रिय विमानस्थल)बीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौताबमोजिम पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पूर्ण बैंकिङ कारोबार नेपाल बैंक लिमिटेडमार्फत हुने छ । बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरामा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा  नेपाल बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त र नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रमराज गौतमले हस्ताक्षर गरे । 

कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पन्तले बैंकको तर्फबाट विमानस्थलमा हुने बैंकिङसम्बन्धी कारोबारमा कुनै गुनासो नआउने गरी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

त्यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख गौतमले नेपाल बैंकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने र आगामी दिनमा नेपाल बैंक र नागरिक उड्डयन प्राधिकरणको सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे । 

कार्यक्रममा नेपाल बैंक लिमिटेड, गण्डकी प्रादेशिक कार्यालयका प्रमुख प्रतिमा श्रेष्ठ, नेपाल बैंक लिमिटेड मार्केटिङ एण्ड रिसर्च डिभिजन प्रमुख अर्जुनबहादूर कँडेल, नेपाल बैंक लिमिटेड पृथ्वीचोक शाखाका शाखा प्रबन्धक चतुर्भुज अर्याल, पोखरा अन्तराष्ट्रिय विमानस्थलका कर्पोरेट शाखा प्रमुख तथा उपप्रबन्धक विष्णुप्रसाद अधिकारीलगायत दुवै संस्थाका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो । 

नेपालभर २२६ शाखाहरु, १९९ एटीएम साथै ५० एक्सटेन्सन काउन्टरमार्फत करिब २४ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक प्रविधि मार्फत बैंकिङ सेवा पुर्‍याई प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समूचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्