
नेपालको एक अग्रणी इन्टरनेट र टिभि सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रम बाल अधिकार र बाल हेरचाहको क्षेत्रमा अग्रणी संस्था बाल मन्दिरमा आयोजना गरेको छ ।
कम्पनीले हाल चलिरहेको फिफा २०२२ विश्वकपलाई लिएर फुटबल थीममा आधारित उत्सवको आयोजना गर्यो । कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसडर निश्चल बस्नेत र स्वस्तिमा खड्काका साथै नेपाली फुटबलका चर्चित नामहरू उपेन्द्रमान सिंह, विष्णु गुरुङ, अर्पण कार्की, प्रीती राई, प्रशान्त अवस्थीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपाने र भायानेटको सीईओ सेवा पाठकले पनि उपस्थिति जनाए ।
भायानेटका सीईओ पाठकले फुटबल समानताको खेल भएको बताउँदै, कार्यक्रममा आएका सम्पूर्ण अतिथि तथा बाल मन्दिरका सहजकर्तालाई धन्यवाद दिए । त्यस्तै कार्यक्रममा उपस्थित अतिथिहरूले आफ्नो जीवनको एक दिन बाल मन्दिरका बच्चाहरूसँग बिताउन पाएकोमा खुसी व्यक्त गरेका थिए । बाल मन्दिरको अध्यक्ष विद्या उपाध्याय न्यौपानेले यस कार्यक्रम र बाल मन्दिरलाई दिएको सहयोगको लागि भायानेटलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रमको मुख्य भागमा बाल मन्दिरका बच्चाहरू र कार्यक्रमको लागी आएका अतिथिहरू सम्मिलित टिमबीचको फुटबल खेल खेलाइएको थियो । भायानेटले बाल मन्दिरका सबै बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले स्टेशनरी सामग्री र शैक्षिक सामग्री पनि हस्तान्तरण गरेको थियो । बाल मन्दिरले हाल देशभरका सातवटा शाखाबाट कम्तीमा २६३ बालबालिकालाई आवासीय हेरचाह प्रदान गर्दै आएको छ ।
भायानेटले सिफलमा रहेको बाल मन्दिर शाखालाई निःशुल्क इन्टरनेट र टिभी सेवा उपलब्ध गराएर बाल मन्दिरलाई थप सहयोग गर्ने योजना बनाएको छ । साथै कम्पनीले बाल–बालिकालाई विश्वकप हेर्न सहज गराउने उद्देश्यले वर्ल्ड कप कुपन पनि उपलब्ध गराउने भएको छ ।
कार्यक्रम पश्चात बोल्दै नेपाली राष्ट्रिय टिमका पूर्वगोलकिपर उपेन्द्रमान सिंहले भायानेटले यसरी कलाकार र फुटबलरलाई सँगै ल्याएर असाहाराको साहरा बनेको बाल मन्दिरका बच्चाहरूसँग खेल्ने माहोल जुराएकोमा धन्यवाद व्यक्त गरे । साथै खेलमा सम्मिलित केही बच्चाहरूमा भविष्यमा राम्रो खेलाडी हुन सक्ने खुबी देखेको पनि बताए ।
कम्पनीका ब्रान्ड एम्वासडर निश्चल बस्नेत र स्वस्तिमा खड्काले खेल खेलेर जितेका र उपविजेता बनेका दुवै टिमलाई शुभकामना दिँदै खेलले जीवनमा सकारात्मक ऊर्जा दिलाउन मद्दत मिल्ने हुनाले आयोजना गरिएको खेल नजितेका बालबालिकालाई अर्को पटकको लागि आफ्नो बेस्ट ट्राई गर्न सुझाव दिए ।
भायानेटले संस्थागत सामाजिक उत्तरदायित्वलाई पहिलेदेखि आफ्नो मुख्य कार्यक्रमको रूपमा राखेको छ । बालबालिकाको शिक्षामा पहुँचको कम्पनीको प्राथमिकताका क्षेत्रहरू मध्ये एक हो जुन यसका अघिल्ला सी.एस.आर. गतिविधिहरूले पनि देखाएको छ । कम्पनीले आफ्नो सी.एस.आर. को कार्यक्रममा बाल मन्दिरसँग अन्य गतिविधिहरू र सहयोग जारी राख्ने योजना बनाएको छ ।