०९ साउन २०८३, शनिबार

चिसोका कारण मधेसमा बढ्न थाले बिरामी

मंसिर २२, २०७९
चिसोका कारण मधेसमा बढ्न थाले बिरामी
फाइल तस्बिर

एक सातादेखि बढेको चिसोका कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण यहाँको मौसम असहज भएको स्थानीयको भनाइ छ । 

जिल्ला अस्पतालमा उपचारका लागि पहिलेभन्दा बढी बिरामी आउन थालेको मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश साहले बताए । उनका अनुसार चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।

सामान्य अवस्थामा औसतमा ४० र ५० जना बिरामी उपचारका लागि आउने गरेकोमा पछिल्लो समय दैनिक एक सय ५० जना सम्म बिरामी उपचारको लागि आउनेगरेको डा. साहले बताए । 

लगातार बढ्दैगएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला प्रभावित भएका छन् । साथै आर्थिकरुपले कमजोर व्यक्तिसमेत बढ्दैगएको जाडोको प्रत्यक्ष मारमा परेका छन् । बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको डा. साहको भनाइ छ । 

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको विभिन्न गाउँ बस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयले आगो बालेर ताप्नेगरेका छन् । यसैबीच ग्रामीण भेगमा वस्तुभाउसहित कृषिबालीमा पनि चिसोका कारण समस्या भएको स्थानीयको भनाइ छ । रासस

salt training

कमेन्ट गर्नुहोस्