कस्तो गीतलाई चलेको मान्ने ? कस्तो गीतलाई स्रोता/दर्शकले रुचाएको मान्ने ? वा कस्तो गीतलाई ‘हिट’ मान्ने ? यसलाई नाप्ने कुनै एउटा सर्वमान्य इकाई छैन् । तर, सामान्यतया जुन गीत धेरै भन्दा धेरै स्रोता/दर्शकको कानमा/ आँखामा पर्छ त्यही गीत नै ‘हिट’ हो ।
कुनै जमाना थियो, गीत सुन्न रेडियोमा कान थाप्नुपर्थ्यो । त्यो पनि एउटामात्रै, रेडियो नेपाल । गीतहरू चल्न, स्रोतासामु पुग्न त्यही रेडियोमा बज्नैपथ्र्यो । विस्तारै जिल्ला जिल्लामा रेडियोको लहर सुरु भयो । ति रेडियोहरुमा गीत धेरै बज्ने गर्दथ्यो ।
त्यो जमाना क्यासेट सिडीको पनि थियो । जुन गीतको धेरै क्यासेट/सिडी बिक्री भयो, त्यही गीतलाई हिट भएको मान्ने समय थियो त्यो । अनि एक समय यस्तो पनि थियो, जुन गीतको धेरै रिगं ब्याक टोन गयो, त्यही गीत हिट मानिन्थ्यो ।
तर अहिलेको जमाना हो, युट्युब र टिकटकको । हिजोआज युट्युबमा गीतको भिडियोले कति भ्युज पायो भन्ने आधारमा सफलता/असफलताको लेखाजोखा हुने गरेको छ । तर, अहिले माहोल यस्तो देखिएको छ, युट्युबमा राम्रो भ्युज पाउन गीतहरु टिकटकमा चलेको हुनुपर्ने छ ।
टिकटकमा जुन गीतमा धेरै भन्दा धेरै स्रोता दर्शकले भिडियो बनाउँछन्, त्यही गीतको युट्युब भ्युज धेरै हुने देखिएको छ । टिकटकमा नचलेका गीतहरुले युट्युबमा पनि राम्रो भ्युज पाएको देखिँदैन्, अपवाद बाहेक ।
यतिबेला टिकटकमा एउटा गीत निकै सुनिन्छ, हिमाल सागर र अनु चौधरीको स्वर रहेको ‘ए हो र माया’ । उक्त गीतमा लाखौं स्रोता/दर्शकहरुले भिडियो बनाएर टिकटकमा पोष्ट गरेका छन् । गायक हिमाल सागरका अनुसार गीतमा ३० लाखभन्दा बढी टिकटक बनिसकेका छन् । उक्त गीतले युट्युबमा सार्वजनिक भएको दुई सातामै ४२ लाखभन्दा बढी भ्युज पाईसकेको छ ।
यसअघि पशुपति शर्माको गीत ‘आफ्नो आफ्नो दुःख’ टिकटकमा निकै चलेको थियो । लाखौंले उक्त गीतमा टिकटक भिडियो बनाएका थिए । उक्त गीतले युट्युबमा पनि निकै राम्रो भ्युज पाउँदै गयो । हाल उक्त गीतको भिडियोको भ्युज ६३ लाखभन्दा बढी पुगिसकेको छ ।
त्यसअघिको कुरा गर्ने हो भने उर्गेन दोङको ‘लजालु मायालु’शीर्षकको गीत टिकटकमा निकै हिट थियो । टिकटकमा जति हिट हुँदै गयो युट्युबमा गीतको भ्युज बढ्दै गयो । अहिले उक्त गीतले युट्युबमा २ करोड ७१ लाख बढी भ्युज पाईसकेको छ ।