
गोविन्द गिरी प्रेरणाद्वारा लिखित जीवनीमूलक कृति ‘सुश्री पारिजात’ लोकार्पण गरिएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा बिहीबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो। प्राध्यापक भुवन ढुंगाना, लेखक एवम् सम्पादक श्रीओम श्रेष्ठ रोदन र लेखक प्रेरणाले पुस्तक सार्वजनिक गरे।
कार्यक्रमका वक्ता श्रीओम श्रेष्ठ रोदनले पारिजातको व्यक्तित्व र उनको साहित्यिक यात्रा एवम् जीवन जगतबारे आफ्ना धारणा राखे। साथै उनले प्रेरणासँगका आफ्ना अन्तरंग सम्बन्धहरुबारे पनि कार्यक्रममा प्रस्ट्याए।
यस्तै अर्का वक्ता प्राध्यापक भुवन ढुंगानाले पारिजातका विषयमा यति सूक्ष्म किसिमले अध्ययन गरी लेखिएको पुस्तक सायदै अर्को रहेको बताइन्। साथै उनले पारिजातसँगका आफ्ना सम्बन्ध एवम् भेटबारे पनि उल्लेख गरिन्।
कार्यक्रममा लेखक प्रेरणाले ‘सुश्री पारिजात’ पुस्तक लेख्न आफूलाई वर्षौँ लागेको र यसका सामग्री खोजबिनमा लामो समय खर्चिएको बताए।