
फ्राइडे रिलिज अन्तर्गत यस साता एकसाथ दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । आज (शुक्रवार) ‘सोल अफ द कमाण्डो’ र ‘डेसान’ एकसाथ रिलिज भएका हुन् । तिहारपछि पहिलोपटक हलमा एकसाथ दुई फिल्म रिलिज भएका हुन् । ‘महापुरुष’पछि कुनै नेपाली फिल्मले दर्शक तान्न नसकिरहेको अवस्थामा प्रदर्शनमा आएका यी फिल्महरु अलग–अलग जनराका छन् ।
एक्सन जनराको ‘सोल अफ द कमाण्डो’
‘सोल अफ द कमाण्डो’ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडी राजकुमार राई अभिनित फिल्म हो । उनी २४ वर्षपछि यसै फिल्ममार्फत अभिनयमा पुनरागमन गरको हुन् । सन् १९९८ मा रिलिज भएको फिल्म ‘कमाण्डो’पछि उनी पर्दामा देखिएका थिएनन् ।
युवराज (वीरबहादुर) राई निर्देशित फिल्ममा कमला खापुङ लिम्बू, शेषुका राई, मिलन राई, रवी थापा, अन्जेल राई, शिशिर वाङदेल, नरेन खड्का लगायतको पनि अभिनय छ । मिलन राईको कथा र सनम जेबीआर रानाको पटकथा रहेको फिल्मको निर्मातामा मिलन राई, रवी थापा र धन बहादुर लिम्बू छन् । एक्सन जनरामा निर्माण भएको यो फिल्म २ घण्टा लामो छ ।
सामाजिक कथाको ‘डेसान’
कमल एक्चाई मगरको निर्देशनमा तयार ‘डेसान’ सामाजिक कथामा निर्माण भएको फिल्म हो । फिल्ममा भोलाराज सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, शम्भु थापा, क्षितिज सुवेदी लगायतको मुख्य भूमिका छ ।
कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्म पर्फमिङ आर्ट क्रियशनको ब्यानरमा निर्माण भएको हो । २ घण्टा १० मिनेट लामो फिल्मले पारिवारिक सम्बन्ध, प्रेममा असहमति र सामाजिक न्यायका विषयहरू प्रस्तुत गर्ने बताइएको छ ।
फिल्मलाई दर्शकले रुचाउने निर्माण टिमको अपेक्षा छ ।