
समयमा उपचार नपाउँदा मिर्गौलाका बिरामीले सास्ती व्यहोर्नुपरेको छ ।
शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगञ्जमा मिर्गाैलाका बिरामी डायलासिसका लागि पालो कुरेर बसे पनि सेवा पाउन सकेका छैनन् ।
भेरी अस्पताल, नेपालगञ्जमा मिर्गौलाका बिरामीले ४ महिनादेखि डायलासिसका लागि पालो कुरेर लाइनमा बस्दा पनि उनीहरूको पालो आएको छैन । भेरी अस्पतालमा अहिले ३६ बिरामीले नियमित रूपमा डायलासिस गराइरहेको हेमोडायलासिस युनिटका प्रमुख डा. पारस श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार भदौदेखि ८५ बिरामीले पालो कुरिरहेका छन् । उनीहरूले पालो पाएका छैनन् ।
भेरीमा ४ वटा डायलासिस मशिन छन् । तीमध्ये एउटा आपतकालीन अवस्थामा र अरु ३ वटा नियमित रूपमा बिरामीका लागि प्रयोग गरिँदै आएको छ । गत भदौदेखि शिक्षण अस्पताल कोहलपुरभित्र ठेकेदार कम्पनीले चलाएको डायलासिस मेसिन बिग्रिएपछि भेरी अस्पतालमा बिरामीको चाप बढेको श्रेष्ठले बताए ।
अहिले शिक्षण अस्पताल कोहलपुरमा डायलासिस सेवा ठप्प छ । कोहलपुरमा मशिन बिग्रिएपछि धेरै बिरामी भेरीमा आउँदा चाप बढेको डा. श्रेष्ठको भनाइ छ । कोहलपुरमा डायलासिस सेवा नभएपछि अप्ठ्यारो अवस्थामा पुगेकाहरू निजी तथा भेरीको आपतकालीन कक्षमा आएर सेवा लिन थालेका छन् ।
नियमित डायलासिस सेवा लिनेहरू भेरीमा लाइनमा बस्ने गरेका छन् । भेरीको ३ वटा मशिनले पहिलेदेखि नै पालोअनुसार सेवा दिइरहेको छ । भदौदेखि यता नयाँ बिरामीको पालो आएको छैन ।
भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले मिर्गाैलाका बिरामीको अवस्थालाई मध्यनजर गरेर ५ वटा डायलासिस मशिन थप गर्ने तयारी भएको बताए । ८ वटा मशिन सञ्चालन भएपछि ५ वटा मशिनबाट सामान्य, २ वटाबाट संक्रमित र एउटा मशिनबाट आपतकालीन बिरामीलाई सेवा दिने योजना रहेको उनको भनाइ छ ।