०८ असार २०८३, सोमबार

टोल कक्षा : बालबालिकालाई सिक्ने अवसर

मंसिर २५, २०७९
टोल कक्षा : बालबालिकालाई सिक्ने अवसर
फाइल तस्बिर

कैलालीको चुरे गाउँपालिका –३ चित्रपुरका आधारभूत तहमा अध्ययनरत सोनिया धामी गायनमा पोख्त छिन् । साथीहरुसँग माझमा कुरा गर्न हिच्किचाउने, लाजले मुख थुन्ने उनी अहिले निर्धक्कसँग विद्यालयमा हुने कार्यक्रममा भाग लिन्छिन् ।

गीत–सङ्गीतमा उनी विद्यालयकै अब्बल छात्राका रूपमा परिचित छिन् । शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रमअन्तर्गत टोल कक्षा सञ्चालन भएपछि विद्यार्थीको क्षमता अभिवृद्धि भएको छ । “कोरोना सङ्क्रमणका बेला विद्यालयको पढाइ प्रभावित हुँदैआएको थियो” टोल शिक्षक दुर्गा मल्लले भने, “बालबालिका घरमा बस्नुपर्दा विद्यालयमा सिकेको कुरा बिर्सिसकेका थिए, टोल कक्षा सञ्चालन भएपछि बालबालिकाको पढ्ने, क्षमता प्रदर्शन गर्ने कार्यमा वृद्धि भएको छ ।” अडियो, भिडियो सुनेर कक्षामा बालबालिकाले पठनपाठनको काम गर्दैआएका छन् ।

“विद्यालय जानुपर्दा आधारभूत तहका बालबालिका निकै रुने, कराउने  विद्यालय जान नाइनास्ती गर्दथे” शिक्षक मल्ले भने, “हाल घरकै वातावरणमा टोल कक्षामा पढाइ हुन थालेपछि बालबालिका नियमित विद्यालय आउनेक्रम बढेको छ ।” 

विद्यालय पोशाक चटक्क पारेर, कपाल कोरेर बालबालिका विद्यालय पुग्छन्, गृहकार्य गर्छन्, अनुशासित भएर कक्षा कोठामा सहभागी हुने गरेका छन् । नबुझेको कुरा आत्मविश्वासका साथ पालैपालो सोध्ने कार्य बालबालिकाले गर्ने गरेका छन्, उनले भने ।

“टोल कक्षाले विद्यालय र अभिभावकको बीचमा पुलको काम गरेको छ” भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु पाण्डेयले भने, “कोरोनाका कारण टुटेको विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावकबीचको सम्बन्ध यस कार्यक्रमले जोड्ने काम गरेको छ ।”

विगतको तुलनामा पढ्ने, लेख्ने सीपको विकास बालबालिकामा भएको पाइएको उनले बताए । बालबालिका विद्यालयमा पठाएपछि अभिभावकले शिक्षाको अवस्थाका बारेमा सोधीखोजी गर्दैनथे । हाल टोल कक्षामार्फत सचेत पार्ने कार्य गरिएपछि बालबालिकाको शिक्षाको अवस्था बुझ्न महिनाको एक पटक अभिभावक विद्यालयमा पुग्ने गरेको टोल शिक्षक कल्पना बमले बताइन् । 

शिक्षा कोभिड प्रतिकार्य कार्यक्रमअन्तर्गत घरायसी तथा समुदायमा आधारित टोल शिक्षक र विद्यालयमा अध्ययन गराउने शिक्षकलाई पुनःताजगी तालिम, विद्यालय सरसफाइ (हात धुने) सुविधाको सुधारमा सहयोग, सिकाइ निरन्तर योजनाका लागि विद्यालयमा अनुदान, इसिडी किट प्रयोग गर्नका लागि सहजकर्तालाई तालिम दिइएको परियोजनाका कार्यक्रम संयोजक कर्ण बानियाँले जानकारी दिए । टोल शिक्षा कार्यक्रमलाई निरन्तरता दिई बालबालिकाको सिक्ने क्षमता अभिवृद्धि गर्नका लागि कार्यक्रम अगाडि बढाइनुपर्ने चुरे गाउँपालिकाका वडा नं १ का वडाध्यक्ष डम्बरबहादुर सिंहको भनाइ छ । 

गाउँपालिकाका शिक्षा शाखाका प्रमुख विविराज सोतीले कोभिडका कारण देशभरका ८० लाख बालबालिका प्रभावित भएको उल्लेख गर्दै सिकाइबाट बञ्चित बालबालिकालाई यस कार्यक्रमले सघाउ पुग्ने विश्वास व्यक्त गरे ।  

“सिक्न नपाएका बालबालिकाले सिक्ने अवसर पाए”, उनले भने, “पाठ्यक्रममा भएका पाठ्य विषयवस्तु बालबालिकाले बिर्सिसकेका थिए, टोल कक्षा सञ्चालनले बालिबालिकाले बिर्सिएको कुरा पुनः सिक्ने अवसर पाए, सेवामा सबैभन्दा ठूलो सेवा यस कार्यक्रमका माध्यमबाट भएको छ ।”

युएसएआइडीको आर्थिक सहयोगमा युनिसेफको समन्वय र निड्स नेपाल कञ्चनपुरद्वारा सञ्चालित शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रमअन्तर्गतको टोल शिक्षा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बैतडी र अछाम जिल्लाका १० गाविसका तीन सय ५३ विद्यालयको सेवा क्षेत्रभित्र एक हजार ४५ टोल कक्षा सञ्चालित छन् । कञ्चनपुरको बेलडाँडी र लालझाडी गाउँपालिका, कैलालीको कैलारी, जोशीपुर, जानकी, बर्दगोरिया, चुरे, मोहन्याल बैतडीको डिलाशैनी र अछामको रामारोशन गाउँपालिकामा कार्यक्रम सञ्चालमा रहेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्