चैत ७, २०७९
राष्ट्रपति निर्वाचनमा धोका पाएका नेकपा एमालेका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपादेयता उपराष्ट्रपति निर्वाचनसम्म मात्र भनेर टिप्पणी गर्ने गरेका थिए । राष्ट्रपति आफ्नो ढोक्सामा पारेपछ...
काठमाडाैं | मंसिर २५, २०७९
समानुपातिकतर्फको सांसद छान्दा राजनीतिक दलहरूले आफैंले तय गरेको प्राथमिकता क्रम मिचेका छन् ।
दलहरूले असोज १ र २ गते समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाएका थिए । दलहरूले समानुपातिक उम्मेदवारको सूची निर्धारण गरेको ३ महिना पनि नपुग्दै आफैंले बनाएको सूचीमा मनलाग्दी हेरफेर गरेका हुन् ।
हुन त राजनीतिक दलका शीर्ष नेताले समानुपातिकतर्फका सांसदको प्रारम्भिक सूची बनाउने बेलामा नै प्रभाव र प्रलोभनका आधारमा व्यक्तिको नाम छनोट गरेको भन्दै सबैजसो दलभित्र असन्तुष्टि पोखिएको थियो ।
अघिल्ला चुनावका बेला पनि समानुपातिक सांसदको पद पैसामा किनबेच भएको तथ्य बाहिर आएको थियो । ठूला भनिएका दलहरूले नै व्यापारिक, व्यावसायिक पृष्ठभूमिका व्यक्तिसँग पैसा लिएर समानुपातिक सांसद बनाएको आरोप लाग्ने गरेको थियो ।
यसपटक पनि राजनीतिक दलले सिफारिश गरेको समानुपातिक सांसदको अन्तिम सूचीमा व्यावसायिक पृष्ठभूमिका प्रशस्त व्यक्तिहरूको नाम समावेश भएको छ । कतिपय व्यक्तिलाई सांसद बनाउन दलहरू करीब साढे २ महिनाअघि आफैंले निर्धारण गरेको समानुपातिकको सूचीमा सन्तुष्ट रहन सकेनन् ।
निर्वाचन आयोगले तोकेअनुसार शनिवार दिउँसो ४ बजेसम्म थ्रेसहोल्ड कटाएका ७ वटै दलले समानुपातिकतर्फका सांसदको नाम छनोट गरेर निर्वाचन आयोगमा बुझाएका छन् ।
मंसिर ४ मा भएको मतदानको मतपरिणामका आधारमा समानुपातिकतर्फ सांसद छनोट गर्दा बन्दीसूचीमा राखिएको प्राथमिकताक्रमलाई दलहरूले बेवास्ता गर्दै आफ्नालाई प्राथमिकता दिएका हुन् । त्यसो हुँदा अवसर पाउने आशामा रहेका समानुपातिक उम्मेदवार अन्यायमा परेका छन् ।
दलहरूले विशेषगरी अल्पसंख्यकको कोटामा माथिल्लो क्रमबाट सांसद छनोट नगरी नेताअनुकूल व्यक्तिको नाम छनोट गरेर सांसदको अन्तिम सूची आयोगमा बुझाएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभामा समानुपातिक सांसद टुंगो लगाउँदा प्राथमिकताक्रम मिचेका हुन् ।
कांग्रेसले मधेश प्रदेशको समानुपातिक सांसदमा अल्पसंख्यकतर्फ २ जना सांसद छनोट गर्नुपर्ने थियो । तर, कांग्रेस क्रमसंख्या मिचेर ३ जनाको नाम छनोट गरेको छ । जसमा नीलमकुमारी रजक, इन्दुकुमारी साह र अञ्जना पण्डितको नाम अल्पसंख्यकमा पेश गरेको छ ।
कांग्रेसले प्राथमिकताक्रम मिचेर सांसद छनोट गरेको मात्रै होइन, चेक बाउन्स प्रकरणमा कालोसूचीमा रहेका व्यक्तिलाई पनि प्रदेश सभा सांसदको सूचीमा समावेश गरेको छ । चितवनको भरतपुर महानगरपालिका– १० की विनु रायमाझीलाई कांग्रेसले बागमती प्रदेशको सांसद छनोट गरेको छ । उनी बीएमआर कन्स्ट्रक्सन एण्ड सप्लायर्सको साझेदार छिन् । उनले दिएको ६१ लाख रूपैयाँको चेक बाउन्स भएपछि कर्जा सूचना केन्द्रले उनलाई कालोसूचीमा राखेको थियो ।
एमालेले पनि मधेस प्रदेशमा अल्पसंख्यकको नाम क्रमसंख्या मिचेर पेश गरेको छ । एमालेले यसअघि बुझाएको बन्दसूचीअनुसार मधेश प्रदेशमा अल्पसंख्यकतर्फ जैनब खातुन पहिलो प्राथमिकतामा थिइन् तर क्रम संख्यामा धेरै तल रहेकी नाजिमा खातुनलाई एमालेले सांसद बनाउने निर्णय गर्यो ।
जैनब खातुन एमालेको प्राथमिकतामा नपर्नुमा निर्वाचनमा अहसहयोग गरेको तर्क एमालेको सचिवालय बैठकमा पेश भएको थियो । बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार, उनी प्रभु साहनिकट नेत्री हुन् । प्रभु साहले रौतहट– ३ बाट चुनाव लड्नका लागि एमालेबाट टिकट पाए पनि मनोनयन गर्दा स्वतन्त्र उम्मेदवारको रूपमा मनोनयन दर्ता गरेका थिए ।
साहलाई एमालेले पार्टीबाट निष्कासन गरिसकेको छ । जैनब खातुन पनि उनै साह निकट भएको कारण सांसद नबनाइएको एमाले स्रोतले बताएको छ ।
नेकपा एमालेले देवी प्रकाश भट्टचनलाई आदीवासी जनजातितर्फ पहिलो नम्बरमा राखेर सांसद सिफारिश गरेको छ । उनी प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष हुन् । त्यसैगरी, खस आर्यतर्फ एकनाथ ढकाललाई एमालेले सांसद बनाएको छ । उनी नेपालमा क्रिश्चियन धर्म प्रचारक भएको भन्दै विवादमा आउने गरेका छन् ।
उता, प्रदेश–१ को समानुपातिक बन्द सूचीको पहिलो नम्बरमा नाम भएका श्रीप्रसाद जबेगुलाई एमालेले सांसद बनाएन । उनको ठाउँमा नम्बरलाल धिमाललाई एमालेले सांसदमा छनोट गरेको छ ।
बन्दसूचीको पहिलो नम्बरमा र जनजाति पनि भएकाले जबेगु सांसद बन्नेमा निश्चिन्त थिए । तर, अन्तिम सूचीमा उनी अटाएनन् । जबेगु २०७७ चैतमा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए । माओवादी केन्द्रले आफूलाई उपेक्षा गरेको भन्दै एमालेमा आएका उनलाई प्रदेश– १ को समानुपातिकतर्फको बन्दसूचीमा पहिलो नम्बरमा समेटिएको थियो । एमाले प्रवेश गर्नुअघि उनी माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य थिए ।
प्रदेशसभामा महिला र अल्पसंख्यकको कोटा पूरा गर्दा आफ्नो नाम काटिएको हुन सक्ने उनले बताए । ‘पार्टीले महिला र अल्पसंख्यकको कोटा पूरा गर्दा मलाई समेट्न नसकेको होला । यसमा मेरो कुनै गुनासो छैन’, जबेगुले लोकान्तरसँग भने ।
दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट समानुपातिक सांसद बनेका उनी राज्यमन्त्री भएका थिए ।
माओवादी केन्द्रले प्रतिनिधिसभामा आदिवासीतर्फ पहिलो प्राथमिकता सूचीमा राखेका अजम्बर राई काङबाङलाई प्राथमिकताबाट हटाएर अर्को व्यक्तिको नाम पठाएको छ ।
माओवादी केन्द्रले आफूलाई प्राथमिकतामा नराखेको भनेर काङबाङले असन्तुष्टि व्यक्त गरेका छन् । उनले फेसबूक अकाउन्टमा लामो स्टेटस लेखेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राथमिकतामा नराख्दा आफू सांसद हुन नपाएको गुनासो गरेका छन् ।
सांसदको सूचीमा आफ्नो नाम नपरेपछि आइतबार बिहान माओवादी केन्द्रका अध्यक्षलाई भेट्न गएका काङबाङले प्रचण्ड निवासको बैठक कक्षबाट फर्किँदा आँखा ओभानो राख्न नसकेको बताएका छन् ।
‘बिदाइका कसिलो हात मिलाएर बैठक कक्षको ठेला नाघेर मूल गेटमा कुन लयमा फर्किसकेछु थाहा भएन’, उनले भनेका छन्, ‘...अजम्बरेका तपश्वीजस्ता जोर आँखा पनि कहाँ ओभानो रहेछ त ?’
अनेकौं प्रयत्नका बाबजुद पनि सांसद बनाउन नसकिएको भन्दै सानो मन नगर्न प्रचण्डले भनेको काङबाङले बताए ।
‘तपाईंलाई यसपटक सांसद बनाउन सकिएन । सानो मन नगर्नु होला भन्नुभयो । नाङ्गो पैँतालाले आगोको कोइला कुल्चँदै हिँड्न अभ्यस्त मैले भनें– म पनि बन्छु भन्नेमा विश्वस्तै थिएँ । तपाईंले एक प्रतिशत मात्रै मेरो पक्षपोषण गरिदिनुभएको भए एकाउन्न प्रतिशत हुनेमा म परिहाल्थें । उहाँले सविस्तार गणित र प्रतिशतका सरल हिसाब सुनाउनुभयो । मनमनै उहाँलाई हान्न भनेर नाङ्गो हत्केलामा मुठ्याएर लगेको झर्झराउँदो आगोको कोइला तत्कालै भुइँमा खसालिदिएँ । हत्केला पनि सुरक्षित अनि मेरो मन पनि शान्त र स्थिर भयो’, काङबाङले लेखेका छन् ।
जनता समाजवादी पार्टीले मधेशमा ७ जना छनोट गर्नुपर्नेमा १० जनाको नाम सिफारिश गरेको छ । मधेशी ४ जना हुनुपर्नेमा ५ जना, दलित १ हुनुपर्नेमा २ जना र पुरुष १ जना मात्रै हुनुपर्नेमा मनीषकुमार सुमन र चन्द्रेश्वर सदा गरी २ जनाको नाम निर्वाचन आयोगमा सिफारिश गरेको छ ।
नेपाल संघीय समाजवादी पार्टीले पनि प्राथमिकताक्रम मिचेर तलतिरबाट नाम छानेर सांसद सिफारिश गरेको छ ।
निर्वाचन आयोगले भने दलहरू आफैंले निर्धारण गरेको प्राथमिकताक्रम मिच्न नमिल्ने बताएको छ । निर्वाचन आयोगका प्रवक्ता (समानुपातिकतर्फ) गुरूप्रसाद वाग्लेले दलहरूले बुझाएको पूर्ण सूची अध्ययन भइरहेको र कानूनअनुसार नमिलेको पाइएमा दलहरूलाई सच्याउन पत्राचार गरिने बताए ।
‘दलहरूले बुझाएको पूर्णसूची अध्ययन भइरहेको छ । बन्दसूचीको प्राथमिकताक्रमलाई मिच्न पाइँदैन । त्यसरी मिचेको पाइएमा सच्याउनका पत्राचार गर्छौं,’ वाग्लेले भने ।
निर्वाचन आयोगले तयार गरेको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिकाअनुसार दलहरूले बन्दसूची तयार पार्दा नै समावेशी प्रतिनिधित्वको सिद्धान्त अनुसार गर्नुपर्छ ।
समानुपातिक प्रतिनिधित्व मिलाउँदा जातजातिका आधारमा खस–आर्य समूहको सबैभन्दा धेरै ३१.२ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।
त्यसैगरी, आदिवासी जनजाति २८.७ प्रतिशत, मधेशी १५.३ प्रतिशत, दलित १३.८ प्रतिशत, थारू ६.६ प्रतिशत र मुस्लिम ४.४ प्रतिशत हुने गरी सांसदहरूको समानुपातिक प्रतिनिधित्वको व्यवस्था निर्देशिकामा गरिएको छ । समावेशी समूहमा कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश हुनुपर्ने व्यवस्था पनि निर्देशिकामा गरिएको छ ।
संविधानले तोकेको ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित प्रत्यक्ष निर्वाचनबाट हुन सकेको छैन भने दलहरूले समानुपातिकबाट त्यो संख्या पुर्याउनुपर्ने हुन्छ ।
दलहरूले बुझाएको नाम सच्याउनुपर्ने भएमा सच्याएपछि निर्वाचन आयोगले समानुपातिक सांसद निर्वाचित भएको घोषणा गर्छ ।
राष्ट्रपति निर्वाचनमा धोका पाएका नेकपा एमालेका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपादेयता उपराष्ट्रपति निर्वाचनसम्म मात्र भनेर टिप्पणी गर्ने गरेका थिए । राष्ट्रपति आफ्नो ढोक्सामा पारेपछ...
चीनका राष्ट्रपति सी चिनपिङले गरेको मस्को भ्रमण अभूतपूर्व रूपमा तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि गरेको पहिलो विदेश भ्रमण मात्र हैन । यो भ्रमण कुन परिस्थितिमा भइरहेको छ भन्ने कुरा महत्त्वपूर्ण छ । अहि...
फ्रान्समा अहिले आम हडताल र हिंस्रक विरोध प्रदर्शनको माहौल छ । राष्ट्रपति इम्मानुएल म्याक्रोंको सरकारले कामदारहरू सेवानिवृत्त हुने उमेर ६२ बाट बढाएर ६४ पुर्याउने विधेयक पारित गरेपछि त्यसको विरोधमा हिंस्रक प्र...
इजरायलमा विगत तीन महिनादेखि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारविरुद्ध प्रदर्शन भइरहेका छन् । हिजो (२६ मार्च) नेतान्याहुले रक्षामन्त्री याओभ गालान्टलाई पदबाट बर्खास्त गरेपछि सर्वसाधारण थप आक्रोशित भएक...
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसमा आणविक हतियार तैनाथ गर्न शुरू गर्ने घोषणा शनिवार (मार्च २५) गरेपछि खैलाबैला मच्चिएको छ । जुलाई १ सम्ममा सीमित दायरामा विनाश गर्ने ट्याक्टिकल आणविक हतियार र...
अमेरिकाले इराकमाथि युद्ध शुरू गरेको आज २० वर्ष पूरा भएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा आमविनाशकारी हतियार रहेकाले संसारलाई गम्भीर खतरा पुगेको जिकिर लिँदै आक्रमणलाई जायज ठ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...