०५ साउन २०८३, मंगलबार

काभ्रे स्वास्थ्य कार्यालय उत्कृष्ट

मंसिर २६, २०७९
काभ्रे स्वास्थ्य कार्यालय उत्कृष्ट

काभ्रेमा नागरिकको स्वास्थ्य अवस्था सबल बनाउन स्वास्थ्य संस्थाका सेवा सुधारोन्मुख भएको पाइएको छ । जिल्लाका अलावा अन्य स्थानबाट जिल्लामा बसोबास गर्ने नागरिकका लागि समेत सहज स्वास्थ्य सेवा प्रदान भइरहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । 
स्वास्थ्य सेवा सबल बन्दै जाँदा स्वास्थ्य कार्यालयमा हालै वागमती प्रदेशस्तरीय समीक्षा कार्यक्रममा प्रथम भएको छ । “सहज स्वास्थ्य सेवा प्रदान गर्नेगरी जिल्लास्तरीय कार्यदिशासहित अघि बढ्दा जिल्लामा स्वास्थ्य सेवाको अवस्था सुधारोन्मुख बन्दै गएको छ” कार्यालय प्रमुख डा. पुरुषोत्तम सेढाईंले भन्नुभयो । उनका अनुसार नवीनतम प्रयासको गुणस्तर, प्रणालीगत व्यवस्था र दिगोपनाको सम्भावना मूल नाराका साथ कार्यालयले शुरु गरेको अभियानले सार्थकता पाउँदै गएको हो । 
कार्यालयद्वारा बिगत एक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको समीक्षाअनुसार जिल्लामा एक हजार नौ सय ६१ स्वास्थ्य संस्थामार्फत सेवा उपलब्ध गराइएको छ । तेह्र स्थानीय तहमा २६ एम्बुलेन्स सञ्चालनमा रहेको तथा यी एम्बुलेन्समार्फत गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क सेवा सुरु गरिएको छ । साथै, केही स्थानीय तहले ज्येष्ठ नागरिक तथा अशक्त तथा अपाङ्गता भएका व्यक्तिको उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएका छन् ।
कार्यालय प्रमुख डा सेढाईंका अनुसार जिल्लाका एक सय ३५ वडामध्ये तेमाल गाउँपालिकाको चार र खानीखोला गाउँपालिकाको दुई वटा वडाबाहेक सबैमा स्वास्थ्य संस्था रहेका छन् । एक सय सात स्वास्थ्य संस्थाले आफ्नै भवनबाट सेवा निरन्तरता दिइरहेका छन् भने २३ संस्थाका भवन बन्दै छन् ।
यस्तै सुत्केरी आमाको निधन तथा शिशुको निधन हुनेक्रम शून्यतातर्फ उन्मुख भएको छ । जिल्लामा ४४ बर्थिङ सेन्टर छन् । अस्पताल तथा बर्थिङ सेन्टरमा सुत्केरी गराउने क्रम शतप्रतिशत हुन थालेको सेढाइँले बताए । अस्थायी साधन प्रयोग गर्नेहरुको संख्या पनि घटिरहेको छ । 
नमोबुद्ध नगरपालिकास्थित मेथिन्कोट प्रादेशिक अस्पतालमा निःशुल्क मुटु रोगको उपचार सुरु गरिएको छ । उक्त अस्पतालमा मुटु रोगको उपचार सुरु गरी शल्यक्रियाका लाग काठमाडौँस्थित गङ्गालाल अस्पतालमा पठाउने गरिएको सेढाईंले बताए । “हृदयघात भएका बिरामीलाई गङ्गालाल अस्पतालले तत्काल अवस्था हेरेर निःशुल्क शल्यक्रिया गरिदिने व्यवस्था मिलाइएको छ”, उनले भने । 
एक वर्षको अवधिमा काभ्रेमा डेङ्गुबाट पाँच सय ५७ जना सङ्क्रमित भएकामध्ये केहीको उपचारका क्रममा निधन भयो । सर्नेसँगै नसर्ने रोगको प्रकोप केही मात्रामा फैलिएको सेढाईंले बताए । धुलिखेल नगरमा स्वस्थ सहर कार्यक्रम, सुत्केरी आमा ः पोषिलो खाना, दाँत, आँखा र मानसिक स्वास्थ्यको निःशुल्क स्वास्थ्य शिविरलगायतका कार्यक्रम भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्