
नबिल बैंकले उद्यमी बन्न चाहेर बागमती प्रदेशबाट नबिल सामाजिक उद्यमशीलता कार्यक्रम (नबिल एसएसई) सर्टिफिकेसन कोर्समा सहभागी २५ विद्यार्थीलाई आइतवार प्रमाणपत्र प्रदान गरेको छ ।
ललितपुरको क्याम्पियन कलेजमा ‘रिफ्लेक्शन एण्ड सेलिब्रेसन सर्टिफिकेट डिस्ट्रिब्युसन प्रोग्राम’ नाम दिइएको कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका उपाध्यक्ष निर्वाण चौधरीले हजारौँ युवाहरू स्वेच्छाले नभई राम्रो अवसरको खोजीमा देश छाडेको बताए । देशमा नै केही गर्न चाहने विद्यार्थीलाई साथ दिन चाहेको बताउँदै उनले देशमा नै केही गर्छु भनेर नबिल सामाजिक उद्यमशीलताको हिस्सा बनेकोमा विद्यार्थीहरूलाई धन्यवाद दिए ।
कुनै व्यक्ति जन्मदै उद्यमी बन्न नसक्ने बताउँदै चौधरीले भने, ‘युवाहरूले विभिन्न विचार र व्यवसाय योजनाबारे गरेका छलफल सुनेको छु । तर, उचित मार्गदर्शन र निर्देशनको अभावमा उनीहरुको विचार यथार्थमा परिणत हुन सक्दैन । एक वर्षअघि नबिलले लिएको पहलले अहिले युवाहरूको जीवनमा दिशानिर्देश र उचित मञ्च प्रदान गरिरहेको छ ।’ उनले यो सुरुवाती कदम भएको र नबिल एसएसईले देशमा सामाजिक उद्यमशीलताको क्षेत्रमा फड्को मार्ने विश्वास लिएको बताए ।
नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले स्टार्टअप, साना तथा मझौला उद्यमहरूलाई उद्यमशीलता शिक्षा प्रदान गर्ने, वित्तीय साक्षरता अभिवृद्धि र आर्थिक सहयोग गर्न नबिल सदैव तत्पर रहेको बताए । बैंकले सातै प्रदेशमा विभिन्न क्याम्पससँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउँदै उद्यमशिलता सिर्जनामा सहयोग पुग्ने बताए । ‘यस कार्यक्रमले विस्तारै ठूलो संख्यामा उद्यमीहरु सिर्जनागर्दै भविष्यमा रोजगारीको बढावा र देशमा आर्थिक रुपान्तरण गर्ने विश्वास लिएको छु,’ उनले भने ।
सामाजिक उद्यमशीलतासम्बन्धी ३ महिनाको अवधिमा सञ्चालित १४ दिने तालिममा ज्ञान अभिवृद्धि, सीप, मानसिकता र स्रोतसाधनको विषयमा तालिम उपलब्ध गराइएको छ । सहभागीहरूलाई उद्यमीहरूको अनुभव, विज्ञहरूसँग छलफल, संस्थागत भ्रमण र कार्यशालाहरूबाट सिक्ने अवसर प्रदान गरेको छ ।
क्याम्पियन कलेजकी प्रिन्सिपल अनामिका श्रीवास्तवले नबिल बैंकले चलाएको अभियानले विद्यार्थीलाई उद्यमशीलतामा जोड्न सहयोग गरेकोमा आभार प्रकट गरिन् ।
सहभागी विद्यार्थीमध्ये एक महेश शर्माले नबिल एसएसईलाई आफ्नो सोचलाई उद्यमको रुपमा परिवर्तन गर्न दिशाप्रदान गरेकोमा धन्यवाद दिए । उनले यस कार्यक्रमले आफूलाई केही गर्न र उद्यमशीलतामार्फत समाजमा योगदान पु¥याउन प्रेरणा दिएको बताए ।
नबिल बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको पहलअन्तर्गत नबिल सामाजिक उद्यमशीलता कार्यक्रम नोभेम्बर २०२१ देखि नेपालका ७ वटै प्रदेशमा शैक्षिक संस्थाहरुसँगको सहकार्यमा शुरु गरेको हो । बैंकले सातै प्रदेशका विभिन्न कलेज तथा विश्वविद्यालयसँग सम्झौता गरेर यो कार्यक्रम अगाडि बढाएको छ ।