०५ साउन २०८३, मंगलबार
सन्दर्भ : विश्वकप फूटबल

विश्वकप फाइनल: अर्जेन्टाइन गोरा र फ्रान्सेली काला खेलाडी अनि चर्किँदै गरेको एक बहस

मंसिर २९, २०७९
विश्वकप फाइनल: अर्जेन्टाइन गोरा र फ्रान्सेली काला खेलाडी अनि चर्किँदै गरेको एक बहस
Credit: Anadolu Agency, BSR Agency/Getty

कतारमा भइरहेको फूटबल विश्वकपमा खेलकलासँगै समावेशिताको राजनीतिक बहस पनि चलिरहेको छ । विश्वकपमा समलिंगी तथा तेस्रोलिंगीहरूप्रति सम्मानको विषयलाई जोडतोडका साथ उठाइएको छ । 

अनुदारवादी मुस्लिम मुलुक कतारमा समलैंगिकतालाई अपराध मानिन्छ तर पश्चिमाहरूले त्यस विषयलाई मञ्च भेटेसम्म अभिव्यक्त गरेका छन् । 

इंग्ल्यान्डका कप्तान ह्यारी केन, वेल्सका ग्यारेथ बेल र नेदरल्यान्ड्सका भर्जिल भान डाइकले समलिंगीहरूसँगको एक्यबद्धताका लागि इन्द्रेणी रंगको हातेपट्टा लगाउन खोजेको भए पनि फूटबल महासंघ फिफाले त्यसो गर्दा तत्कालै पहेंलो कार्ड देखाइने चेतावनी दिएपछि उनीहरू त्यसबाट पछि हटे । 

फिफाको निर्णयविरुद्ध जर्मनीका कप्तान म्यानुएल नोयर तथा अन्य खेलाडीले जापानसँगको खेलअघि तस्वीर खिचाउँदा मुख छोपेका थिए । तर राजनीतिमा ध्यान दिएर फूटबललाई छायाँमा पार्दा जर्मनीले उक्त खेल हारेको थियो अनि ऊ समूह चरणबाटै बाहिरिएको थियो । 

कतारमा विश्वकपको समाचार बनाउन आएका पश्चिमा पत्रकारहरूले पनि समलिंगीको मुद्दा उठाउन भरपूर प्रयास गरेका थिए । विश्वकप चलिरहँदा मृत्यु भएका अमेरिकी पत्रकार ग्रान्ट वाहलले आफ्ना समलिंगी भाइ एरिकका लागि इन्द्रेणी रंगको टीशर्ट लगाएका थिए । त्यसले गर्दा उनलाई म्याच भएको रंगशालामा पस्न दिइएको थिएन । 

उनले यस विषयमा कुरा उठाएपछि ज्यान मार्ने समेत धम्की आएको एरिकले सामाजिक सञ्जालमार्फत बताएका थिए । ग्रान्टको मृत्यु प्राकृतिक नभएको संकेत एरिकले गरेको भए पनि यस विषयमा थप अनुसन्धान गरिएन । 

समलिंगी समावेशिताको राजनीतिसँगै कतार विश्वकपमा रंगवादसम्बन्धी बहस पनि चलिरहेको छ । विशेषगरी फाइनलमा पुगेका दुई टोली फ्रान्स र अर्जेन्टिनाका खेलाडीहरूमा जातीय विविधता (तथा त्यसको अभाव) का विषयमा चर्चा गरिएको छ । 

यसैक्रममा गत साता द वाशिङटन पोस्टमा एरिका डेनिसे एडवर्ड्सले अर्जेन्टिनामा गोरा खेलाडीहरूको वर्चस्व रहेको विषय उठाएकी छन् । टेक्सस विश्वविद्यालयमा सहप्राध्यापक रहेकी एडवर्ड्सले अर्जेन्टिनाको जातीय समीकरणसम्बन्धी पुस्तक ‘हाइडिङ इन प्लेन साइट : ब्ल्याक वीमेन, द ल यान्ड र मेकिङ अफ ए ह्वाइट अर्जेन्टाइन रिपब्लिक’ लेखेकी छन् । 

गत साता द वाशिङटन पोस्टमा एरिका डेनिसे एडवर्ड्सले अर्जेन्टिनामा गोरा खेलाडीहरूको वर्चस्व रहेको विषय उठाएकी छन् । टेक्सस विश्वविद्यालयमा सहप्राध्यापक रहेकी एडवर्ड्सले अर्जेन्टिनाको जातीय समीकरणसम्बन्धी पुस्तक ‘हाइडिङ इन प्लेन साइट : ब्ल्याक वीमेन, द ल यान्ड र मेकिङ अफ ए ह्वाइट अर्जेन्टाइन रिपब्लिक’ लेखेकी छन् । 

पोस्टमा उनले प्रकाशित गरेको लेखको शीर्षक छ : ‘ह्वाई डजन्ट अर्जेन्टिना ह्याभ मोर ब्ल्याक प्लेयर्स इन द वर्ल्ड कप ?’ अर्थात्, अर्जेन्टिनाको टोलीमा काला जातिका खेलाडीहरू नपरेकोमा उनले चिन्ता व्यक्त गरेकी छन् । 

अर्जेन्टिनाको टोलीमा प्रतिभाशाली खेलाडीहरू छन् कि छैनन् भन्ने विषयमा बहस गर्नुको साटो कुन रंगका खेलाडीहरू छन् भनी चर्चा गरी एडवर्ड्सले पश्चिममा चलिरहेको ‘वोक’ बहसमा अर्को एउटा इँटा थपेकी छन् । वोकहरू समाजका विभिन्न क्षेत्रमा गोराहरूलाई विस्थापित गर्नुपर्ने भनी वकालत गर्छन् । 

तर एडवर्ड्सले आफ्नो लेखमा दिएको अर्जेन्टिनी जनसंख्याले नै टीममा काला खेलाडीको सहभागिता सुनिश्चित गर्न कति गाह्रो छ भन्ने तथ्यलाई उजागर गर्छ । सन् २०१० मा अर्जेन्टिना सरकारले प्रकाशित गरेको जनसंख्या तथ्यांकमा जम्मा १ लाख ४९ हजार ४९३ अर्थात् १ प्रतिशतभन्दा कम मानिस काला जातिको भएको उल्लेख गरिएको थियो । समावेशिताको राजनीति चम्काउनका लागि त्यति थोरै मानिसबाट अनिवार्य रूपमा फूटबल खेलाडी छान्न बाध्य बनाउनु उचित ठहरिँदैन । 

आफ्नो तर्कलाई आफैं कमजोर बनाएकी एड्वर्ड्सले अर्जेन्टिनाको इतिहासमा काला जातिका मानिसहरूको संख्या उल्लेख्य भए पनि वर्षौंसम्म युरोपका गोराहरूले त्यहाँ आप्रवासन गरी देशबाट काला जातिको निशाना मेटाएको आरोप लगाएकी छन् । 

उत्तर र दक्षिण अमेरिका दुवै महादेशमा काला जातिका मानिसलाई दासका रूपमा ल्याएर श्रम शोषण गरिएको थियो । शताब्दियौं बित्दै जाँदा काला तथा आदिवासीहरू गोराहरूसँग मिसिँदै गए । 

अर्जेन्टिनामा रहेका मानिसलाई तीनथरी वर्णमा विभाजित गरिएको छ : मोरोचो, पार्दो र त्रिग्वेनो । त्यो भनेको पूर्णतया गोरो नभई गहुँगोरो वर्णको विविध स्वरूप हो । 

एडवर्ड्सका अनुसार, अर्जेन्टिनामा कुनै व्यक्तिलाई मोरोचो भनी अहिले पनि बोलाइन्छ तर त्यो आपत्तिजनक मानिँदैन । तथापि त्यसले अश्वेत मानिस भन्ने आशयचाहिँ दिन्छ ।

अर्जेन्टिनाका सबभन्दा प्रख्यात मोरोचो फूटबलका महान् खेलाडी डिएगो म्याराडोना भएको एडवर्ड्स लेख्छिन् । यी अश्वेत खेलाडी श्वेत अर्जेन्टिनाको नायक बनेको उनी उल्लेख गर्छिन् । 

अर्जेन्टिनीहरू श्वेत सर्वोच्चतावादी हुन् र अर्जेन्टिना श्वेतबहुल मुलुक हो भन्ने एडवर्ड्सको आशय छ । तर एडवर्ड्स स्वयंले अश्वेत भनेको म्याराडोनालाई अर्जेन्टिनीहरूले उच्च सम्मान गरेबाटै एडवर्ड्सको भनाइ काटिन्छ । 

एडवर्ड्सले संकेत गर्न खोजे जस्तो मोरोचोलाई अर्जेन्टिनीहरूले जातीय सूचकका रूपमा भन्दा पनि स्नेह प्रकट गर्ने शब्दका रूपमा लिने गरेको अर्जेन्टिनाका टिप्पणीकार मोर्डेचाइ ताजीले मर्कोप्रेसमा प्रकाशित आफ्नो लेखमा तर्क गरेका छन् । 

उनले सन् २०२० मा उरुग्वेका फूटबल खेलाडी एडिनसन कभानीले आफ्ना साथीलाई सामाजिक सञ्जालमा नेग्रितो (काले) भनी बोलाउँदा उनीमाथि जरिवाना लगाइएको स्मरण गरेका छन् । त्यतिखेर कभानी म्यानचेस्टर युनाइटेडमा आबद्ध थिए र प्रिमियर लीगका अधिकारीहरूले दक्षिण अमेरिकामा मानिसलाई छालाको रंगका आधार बोलाउँदा अपमान गरेको नठहर्ने कुरा थाहै पाएनन् । 

कभानीले आफ्नो साथीलाई हेप्ने भन्दा पनि माया देखाउने हिसाबमा नेग्रितो भनेका थिए । तर वास्तविक रंगभेदको समस्या रहेको युरोपमा काला जातिका खेलाडीविरुद्ध दुर्व्यवहार हुने गरेकाले प्रिमियर लीगका हाकिमहरूले दक्षिण अमेरिकी व्यवहार बुझ्न सकेनन् र कभानीको भनाइमा जातिवाद भेटे ।

नेपाली भाषामा पनि अनौपचारिक रूपमा आफूभन्दा सानालाई माया गरी बोलाउँदा काले भन्ने गरिन्छ । गहुँगोरो मानिसलाई पनि काले भनी सम्बोधन गर्दा त्यसले स्नेह झल्काउँछ । 

जे होस्, अमेरिकी सहप्राध्यापक एडवर्ड्सले अर्जेन्टिनामा जातीय विविधता नभएको अनि अश्वेतलाई छाला रंगको सचेतना दिलाउने गरी सम्बोधन हुने गरेको भनी फूटबलमा अनावश्यक रूपमा जातीय राजनीति पसाएकी छन् । 

अर्जेन्टिनीहरूलाई यो कुरा चित्त नबुझेकाले सामाजिक सञ्जालमा झूटो प्रगतिवाद चाहिँदैन भनेका छन् । अनि खेलाडीहरू आफ्नो छालाको रंग भन्दा पनि प्रतिभाका आधारमा छनोट भएको कुरा उनीहरूले सम्झाएका छन् । 

अमेरिकी पत्रकार रोबर्ट ब्रिजले पनि अन्य जुन कुनै व्यवसायमा जस्तो खेलमा पनि खेलाडीहरूलाई क्षमता र प्रतिभाका आधारमा छनोट गरिनुपर्ने, समावेशिताको कोटा भर्नका लागि हैन भनी एडवर्ड्सको लेखको आलोचना गरेका छन् । हुन पनि लियोनल मेसी कालो जातिका हुन्थे भने पनि उनको प्रतिभाकै कारणले अहिलेको जस्तै महानता हासिल गर्थे होलान् । 

अर्जेन्टिनाको विपरीत फ्रान्समा चाहिँ अश्वेतहरूको बाहुल्य रहेको भनी प्रशंसा गरिएको छ । द न्युयोर्क टाइम्समा लरेन्ट डुबोआ र द नेसनलमा कोलिन र्‍यान्डल लगायतले फ्रान्सेली टोलीको जातीय विविधताको खुलेर प्रशंसा गरेका छन् ।  

फ्रान्सलाई सन् १९९८ को विश्वकप दिलाउन प्रमुख भूमिका खेल्ने जिनेदिन जिदान पनि अल्जेरियाली मूलका खेलाडी थिए । त्यस्तै सन् २०१८ को विश्वकपमा छनोट भएको फ्रान्सेली टोलीमा ८७ प्रतिशत खेलाडीहरू अश्वेत थिए । 

उनीहरू कि त आप्रवासी थिए कि त आप्रवासीका सन्तान थिए । त्यतिखेर अनि अहिलेको विश्वकपमा तहल्का मच्चाइरहेका किलियन एम्बाप्पे पनि त्यही वर्गमा पर्छन् ।

अहिलेको स्क्वाडमा परेका ओलिभिएर जिरू, एन्टोइन ग्रीजमन, ह्युगो लोरिस, बेन्जामिन पवार्ड, एड्रियन राबियो लगायतका केही खेलाडीबाहेक अन्य सबै अश्वेत छन् । ती सबै अश्वेत खेलाडीहरू आप्रवासी वा तिनका सन्तान हुन् । 

फ्रान्स मात्र नभई विश्वकपमा सहभागी धेरै अन्य टोलीमा आप्रवासी मूलका खेलाडीको बाहुल्य छ । आउटलूक इन्डियाका अक्षय सवाईका अनुसार, अहिलेको विश्वकपमा सहभागी ३२ टीममध्ये चारवटाका खेलाडी मात्र आफ्नै देशमा जन्मेका हुन् । ती चार टोली अर्जेन्टिना, ब्राजिल, साउदी अरब र दक्षिण कोरिया हुन् । 

फ्रान्स मात्र नभई विश्वकपमा सहभागी धेरै अन्य टोलीमा आप्रवासी मूलका खेलाडीको बाहुल्य छ । आउटलूक इन्डियाका अक्षय सवाईका अनुसार, अहिलेको विश्वकपमा सहभागी ३२ टीममध्ये चारवटाका खेलाडी मात्र आफ्नै देशमा जन्मेका हुन् । ती चार टोली अर्जेन्टिना, ब्राजिल, साउदी अरब र दक्षिण कोरिया हुन् । 

विश्वकपमा सहभागी २८ टोलीले आप्रवासीहरूलाई समावेश गरेकोमा पश्चिमको वोक जमातले सकारात्मक रूपमा लिएको छ । तर आप्रवासी खेलाडीहरूको आफ्नै पीडा छ । 

टुर्किये (टर्की) मूलका जर्मन खेलाडी मेसुट ओजिलले टुर्कियेका राष्ट्रपति रेचेप तैयिप एर्दोआनसँग सन् २०१८ मा तस्वीर खिचाएपछि उनलाई जर्मनीमा निकै खेदिएको थियो । जर्मन टोलीको मियोका रूपमा रहेका उनी अनावश्यक आलोचना खेप्न परेपछि निराश भएर अन्तर्राष्ट्रिय फूटबलबाट संन्यास लिन बाध्य भएका थिए । 

जर्मनीले जित्दा आफूलाई जर्मन भनी प्रशंसा गरिने अनि हार्दा आफूलाई आप्रवासी भनिने गरेको पीडा उनले व्यक्त गरेका थिए । अन्य देशका आप्रवासी खेलाडीहरू अल्जेरियाली मूलका फ्रान्सेली खेलाडी करिम बेन्जिमा र कंगोली मूलका बेल्जियन खेलाडी रोमेलु लुकाकुले पनि यस्तै किसिमको पीडा व्यक्त गरेका थिए । 

तथापि युरोपेली टोलीहरूले अश्वेतहरूलाई पनि समावेश गर्नु सुखद वास्तविकता हो । उपनिवेशवाद र साम्राज्यवादको इतिहास रहेको युरोपले विगतको अपराध र पापको प्रायश्चित्तका लागि उपनिवेशबाट युरोप आइपुगेका आप्रवासीहरूलाई मूलधारमा स्थान दिनु ऐतिहासिक आवश्यकता पनि हो ।   

तर फूटबलको चर्चा चल्दा जातीय राजनीति भन्दा पनि क्षमतावान र प्रतिभाशाली खेलाडी विकसित गर्नेतर्फ फिफाको ध्यान जानु जरूरी छ । 

युरोप र दक्षिण अमेरिकाको मात्र वर्चस्व रहेको विश्वकप फूटबललाई अन्य महादेशले पनि उपाधि जित्नका लागि समर्थ बनाउन फिफाले थप काम गर्नुपर्छ । अमेरिकामा हुने आगामी विश्वकपमा ३२ को साटो ४८ देश सहभागी गराइने फिफाको निर्णयले अन्य महादेशलाई पनि विश्वकप उपाधि जित्ने अवसर प्रदान गर्न सक्ने अपेक्षा छ ।

salt training

कमेन्ट गर्नुहोस्