
विराटनगर– १८ मटेरुवाकी अजमेरी खातुन सुत्केरी व्यथाले छट्पटिएपछि उनको परिवारले तत्कालै कोशी अस्पतालमा ल्याए ।
उनलाई अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमा ल्याइएको थियो । तर, शय्या भरिभराउ भएपछि शुरूमा मेटरनिटी वार्डको वेटिङमा लगियो ।
वेटिङको २७ शय्या पनि भरिभराउ भएपछि उनलाई भुइँमा राखेर उपचार गर्न थालिएको थियो । व्यथाले थप च्याप्न थालेपछि भुइँबाटै अप्रेसन थिएटरमा लगेर बच्चा जन्माइयो ।
शल्यक्रिया गरेपछि बिरामीलाई २४ घण्टासम्म पोस्टअप वार्डमा राखेर उपचार गर्नुपर्छ । कोशीको गाइनो डिपार्टमा पोस्टअप वार्ड १० शय्याको मात्र छ । अधिकांश समय पोस्टअप वार्ड भरिभराउ नै हुन्छ ।
प्रदेश १ कै सबैभन्दा ठूलो कोशी अस्पतालमा पोस्टअप वार्डमा शय्या सधैंजसो भरिभराउ हुँदा भर्खरका सुत्केसीलाई पनि चिसो भुइँमा राखेर उपचार गर्ने गरिन्छ । शल्यक्रिया गरिएको बिरामीलाई संक्रमणबाट जोगाउन सुरक्षित ढंगले पोस्टअप वार्डमा राखेर उपचार गर्नुपर्ने भए पनि कोशी अस्पतालमा त्यो सुविधा पहुँच भएकाले मात्रै भोग गर्न पाउँछन् ।
अस्पतालमा वार्डमा राखेर उपचार गराउनका लागि नेताहरूकै फोन आउनुपर्ने अवस्था रहेको अस्पतालमा उपचारमा खटिएका एक स्वास्थ्यकर्मीले स्वीकारे ।
भुइँमै म्याटमाथि तन्ना ओच्छाएर बच्चा र आमालाई राख्ने गरिन्छ ।
दैनिक सरदर १५ जनाले शल्यक्रियामार्फत बच्चालाई जन्म दिने गरेका छन् । पोस्टअप वार्डमा शय्या भने जम्मा १० वटा छ ।
शल्यक्रिया गरेपछि २४ घण्टा अब्जरभेसन र थप उपचारका लागि बिरामीलाई पोस्टअप वार्डमा राखेर उपचार गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । बेड पाएकाहरूलाई पनि बढीमा ८ घण्टा मात्र त्यहाँ राखेर उपचार गर्ने गरिएको एक चिकित्सकले स्वीकारे ।
यसरी आमा र बच्चाको स्वास्थ्य जोखिममा परिरहँदा सरोकारवालाको ध्यान जान सकेको छैन । अस्पताल प्रशासनले भने भवन अभाव भएको जवाफ दिँदै आएको छ ।
पुरानै भवन अलपत्र, मन्त्रीको ध्यान शिलान्यासमा
बिहीवार कोशी अस्पतालका चिकित्सकहरू बिरामीको उपचार गर्न भन्दा पनि अतिथि सत्कारमा केन्द्रित थिए । विभागीयसहित अन्य एक जना मन्त्री आउने भएपछि उनीहरू अस्पताल प्रांगणको सरसफाइमा जुटे । मन्त्रीहरूलाई स्वागतका लागि घटौं लाइनमा बसे ।
दिउँसो ४ बजेतिर भवनको शिलान्यास गर्न स्वास्थ्य तथा जनजसंख्या मन्त्री भवानीप्रसाद खापुङ र शहरी विकास मन्त्री मेटमणि चौधरी आएका थिए ।

दुवै मन्त्रीले पाँच सय शय्याको आठ तल्ले मेडिकल भवनको शिलान्यास गरे । शहरी विकास तथा भवन निर्माण विभागले मूल्य अभिवृद्धि करबाहेक २ अर्ब १७ करोड ६९ लाख ९२ हजार २ रुपैयाँ १३ पैसामा कुल लागत अनुमान गरिएको उक्त भवन निर्माणको ठेक्का केसी कन्स्ट्रक्सन काठमाडौंलाई दिएको छ ।
तीन वर्षमा काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले काम शुरू गर्ने संघीय आयोजना कार्यान्वयन इकाइ विराटनगर मोरङका प्रमुख गणेशबहादुर महर्जनले जानकारी दिए ।
यसअघि एक वर्षअगाडि शिलान्यास भएर निर्माण शुरू भएको पाँच तले भवन निर्माणको काम भने अलपत्र छ ।
ठेकेदार कम्पनी रमन भूमि, बी.आई. पी.एल. जेभी सम्पर्कविहीन भएपछि ५ महिनादेखि काम रोकिएको हो । पाँचतल्ले भवन निर्माण गर्न ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसामा ठेक्का दिइएको थियो ।
उक्त जेभीले ठेक्का पाएपछि वि.सं. २०७८ असार २३ गते संघीय आयोजना कार्यान्वयन इकाई्सँग सम्झौता गरेपछि २१ असोजमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ल्याएर शिलान्यास गरिएको थियो ।
अस्पतालको आईसीयू, न्युरो एन्ड नेफ्रोलोजी भवन निर्माणको काम शुरू गरेको केही महिनामै ठेकेदार भागेपछि उक्त निर्माणाधीन भवन अलपत्र बनेको हो । रमन भूमि, बी.आई. पी.एल. जेभीले २०७८ असार २३ गते सम्झौता गरी २०८० पुस २२ मा निर्माण सम्पन्न गर्ने गरी ३० महिने ठेक्का सम्झौता भएको थियो ।
निर्माण शुरू गरेको केही महिनामै ठेकेदार कम्पनी कामै नगरी सम्पर्कविहीन भएको संघीय आयोजना कार्यान्वयन इकाइका इन्जिनीयर अशोककुमार रामले जानकारी दिए । २०७८ कात्तिकदेखि २०७९ असारसम्म निर्माणको काम भए पनि त्यसयता काम नभएको उनले बताए ।
ठेकेदार कम्पनीले काम नगरेपछि ठेकेदार कम्पनीलाई आयोजना कार्यान्वयन इकाइले पटक–पटक पत्र काटेको उनले बताए । पत्र काट्नेबाहेक अन्य कारवाही भने अगाडि बढाएको छैन ।
आयोजना कार्यान्वयन इकाइले भदौ १५ मा दोस्रो पत्र काटेपछि झन्डै एक महिना जति ठेकेदारले कामदार खटाइएको थियो । भदौको अन्तिमदेखि असोजको २५ गतेसम्म काम गरेको देखिए पनि त्यसयता ठेकेदार बेपत्ता भएको इन्जिनीयर रामले जानकारी दिए ।
५ महिनादेखि निर्माणाधीन भवन अलपत्र हुँदा पनि विभागीय मन्त्रीलाई भने निर्माण कार्य रोकिएकोबारे जानकारी नै छैन ।
‘मलाई भवन निर्माणको काम रोकिएको बारेमा जानकारी थिएन,’ उनले लोकान्तरसँग भने, ‘अब शहरी विकास मन्त्रीज्यूसँग कुराकानी गरेर निर्माण कम्पनीलाई कारवाही अगाडि बढाएर काम गर्छाैं ।’