
बादी समुदायका युवतीहरूले आफ्नो समुदायका लागि सरकारी तवरबाट छुट्टै कोटाको व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । सोमवार बादी समुदायका युवतीहरूले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै पिछडिएको वर्गले अर्को पिछडिएको वर्गसँग भिडिरहनुपरेको भन्दै बादी समुदायलाई छुट्टै कोटाको व्यवस्था सरकारले गरिदिनुपर्नेमा जोड दिएका हुन् ।
उनीहरूले संविधानमा लेखिएका कुराहरू कागजमा मात्रै सीमित हुँदा बादी समुदायलाई झनै पीडा थपिएका महसुस भएको बताए । बादी समुदायबाट पहिलो पटक उच्च शिक्षा हासिल गरेका बादी युवतीहरूले सरकारले शिक्षामा विभेद गरेका कारण बादी युवतीहरू बाध्यात्मकरुपमा यौन व्यवसाय अँगाल्न बाध्य भएको बताए ।
कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग बोल्दै बादी समुदायबाट पहिलो पटक व्यापारमा स्नातकोत्तर गरिरहेकी देवीसरा बादीले बादी समुदायलाई शिक्षामा विभेद गरिँदा बादी युवतीहरू बाध्यात्मक यौन व्यवसाय अँगाल्न बाध्य भएको बताइन् । उनले पहिला अशिक्षाका कारण यौन व्यवसायमा लाग्ने गरेको भए पनि पछिल्लो समय सरकार सहयोगी नबन्दा यौन व्यवसायमा लागिरहेको बताइन् । उनले बादी समुदायका महिलाहरू घर खर्च धान्नका लागि भए पनि सानै उमेरबाट यौन व्यवसायमा लाग्ने गरेको बताइन्।
देवीसराले आमाको नाममा नागरिकता बन्ने कानून बने पनि बुबाको पहिचान खोज्दा हजाराैँ बादी युवाहरूले दुःख व्यहोरिरहेको बताइन् । उनले तीन तहकै सरकार बादी समुदायका समस्याप्रति उदासिन बनेका कारण बादी समुदायका समस्या जस्ताको तस्तै भएको बताइन् ।
त्यस्तै बादी समुदायबाट अधिवक्ता बनेकी सीता बादीले व्यवस्था बदलिँदा पनि बादी समुदायको अवस्था परिवर्तन हुन नसकेको बताइन् । उनले नागरिकता पाउन पनि बादी समुदायले हात पाउ जोड्नुपर्ने अवस्था रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् । उनले राजनीतिक दलहरूले निर्वाचनताका ठूलो आश देखाउने, तर अघिपछि हेप्ने प्रवृत्ति रहेको बताइन् ।
‘नेपालमा जस्तोसुकै व्यवस्था आए पनि बादी समुदायको अवस्था बदलिन सकेको छैन । नागरिकता पाउन पनि हात पाउ जोड्नुपर्छ । हामीले भोट दिँदा केही हेर्दैनन् आश देखाउँछन् तर अघिपछि बादी भन्छन् । हामीले भोट दिएकोबदलामा केही पनि गरेको छैन’, उनले भनिन् ।
सरकारले बादी समुदायका बालबालिकाको शिक्षामा सहयोग नगर्ने र अन्य संस्थाले पनि कक्षा १० पछि पढाउन नपाउने कानून हुँदा बादी समुदायका युवतीहरू यौन व्यवसायमा फर्किन थालेको बताएकी छन् । आर्थिक अवस्थाका कारण यौन व्यवसायमा लाग्न बाध्य भएका बादी समुदायका युवतीहरूको उद्धारका लागि सरकारले आवश्यक कदम चाल्नुपर्ने बादी समुदायको माग छ ।