गत वर्षको निकै चर्चित गीत हो, ‘कालो केशमा रेलिमई’ । दिनेश ढकालको शब्द, संगीत र स्वर रहेको गीतलाई स्रोता एवं दर्शकले औधी रुचाए । टिकटकमा गीत छायो । युट्युबमा राम्रो भ्युज पायो गीतले । हरेक उमेर समूहका स्रोता/दर्शकले गीतलाई रुचाए । पुरुष आवाजमा सार्वजनिक स्रोता दर्शकको सोही प्रिय गीत यतिबेला महिला आवाजमा सार्वजनिक भएको छ ।
गत शनिबार मात्रै सुनिता थेगिमको स्वरमा ‘कालो केशमा रेलिमई’को फिमेल भर्सन सार्वजनिक गरिएको हो । ‘आँखामा आउने सपनी’ फ्रेम्ड गायिका थेगिमको स्वरमा सार्वजनिक फिमेल भर्सनलाई पनि स्रोता दर्शकले रुचाएका छन् । उनको स्वरले गीतलाई न्याय गरेको स्रोता दर्शकको प्रतिक्रिया छ ।
अभिनेत्री मिरुना मगर र मोडल गणेशमान घले फिचर्ड भिडियोलाई पनि दर्शकले ‘उत्कृष्ट’ भनेका छन् । यसअघि सुनिल गिरीको ‘सोल्टिनी क्या राम्री’ गीतमा यी दुईले सहकार्य गरेका थिए ।
केन्द्र मोशन पिक्चर्सको प्रस्तुती रहेको फिमेल भर्सनको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् । उनले एक ड्राइभर र यात्रुबीचको प्रेमलाई गीतको कथा बनाएका छन् । गीतको अडियो र भिडियो दुबै पक्षको स्रोता दर्शकले खुलेर प्रसंशा गरेका छन् । तीन दिनमा (मंगलबार बेलुका)सम्म गीतको भिडियोले ४ लाख ७० हजार भ्युज पाएको छ ।
गतवर्ष सुरुवाती दिनमा खास्सै चर्चामा नरहेको ‘कालो केशमा रेलिमई’ विस्तारै निकै हिट भएको थियो । यतिबेला फिमेल भर्सनले पाएको भ्युजलाई पनि राम्रो मान्न सकिन्छ । फिमेल भर्सनमा टिकटक समेत बन्न थालेका छन् । यद्यपि, फिमेल भर्सनको सुरुवाती चर्चालाई धेरै राम्रो भने मान्न सकिँदैन् । अब, भोलिका दिनमा फिमेल भर्सन कत्तिको चर्चित होला ? त्यो भने यसै भन्न सकिँदैन ।