२९ असार २०८३, सोमबार

जहाँ मनोरोगीलाई सञ्चो बनाएर घर पठाइन्छ

जहाँ मनोरोगीलाई सञ्चो बनाएर घर पठाइन्छ

दाङ राजपुर गाउँपालिका निवासी निमकुमारी पुन मानसिक समस्या भएर घर छाडेर हिँडिरहेका थिए । छोराको गाडीको ठक्करबाट मृत्युपछि उनी बिरामी पर्दै आएका थिए । त्यही क्रममा बाटामा हिँडिरहेको अवस्थामा मानव सेवा आश्रम तुलसीपुरले गएको साउन महिनामा उद्धार ग¥यो ।

 आश्रमले उद्धार गरेर उपचारपछि अहिले उनी मानसिकरूपमा स्वस्थ हुँदै गएका छन् । “म घर छाडेर हिँडिरहेको अवस्थामा उहाँहरूले देखेर ल्याउनुभएछ, ल्याएको पनि मैले थाहा पाइनँ”, उनले भने, “अहिले म सबै थाहा पाउने भएकी छु ।” 

त्यस्तै तुलसीपुर–१२ जसपुर निवासी जयसरा भण्डारी पनि भौँतारिएर हिँडिरहेकी थिइन्। त्यही क्रममा आश्रमले उद्धार गरेर अहिले एक वर्षदेखि आश्रय दिइरहेको छ । यस्तै थुप्रै मानसिक रोगी, साहाराविहीन, सुस्त मनस्थिति भएकालाई उद्धार गरेर आश्रमले उपचार तथा पालनपोषण गर्दै आएको छ ।

संस्थाका शाखा प्रमुख सिर्जना अधिकारीका अनुसार यसरी बेवारिसे अवस्थामा हिँडिरहेकालाई उपचार गरेर परिवारमा पुनःमिलन गराउने कार्य गरिँदै आएको छ । उनका अनुसार अहिलेस्म्म २० भन्दा बढीलाई उपचारपछि पुनःस्थापना गरिएको छ । “हामीले ल्याएर उपचार गर्छौँ, खाना, बास दिन्छौँ”, उनले भनिन्, “सञ्चो भएर घर थाहा पाउने भएपछि परिवारको जिम्मा लगाउँछौँ, सोहीअनुसार अहिलेसम्म २०–२२ जनालाई परिवारमा मिलन गरिसकेका छौँ ।” पुनःमिलनपछि स्वास्थ्यका बारेमा फलोअप पनि हुने गरेको उनको भनाइ छ । 

अहिले पनि संस्थामा ५१ जनालाई आश्रय दिइरहेको शाखा प्रमुख अधिकारीको भनाइ छ । तीमध्ये केहीलाई छिटो सञ्चो हुने र केहीलाई दुई–तीन वर्षसम्म पनि सञ्चो नहुने अवस्था आउने गरेको प्रमुख अधिकारीको भनाइ छ। 

अहिले सरकरले १५ प्रतिशतसम्म संस्थालाई सहुलियत दिएको भए पनि बाँकी विभिन्न सहयोगी दातामार्फत नै सहयोग सङ्कलन गरेर सेवा प्रदान गर्ने गरिएको प्रमुख अधिकारीको भनाइ छ । अहिले तुलसीपुर शाखामा दुई जना केयरगिभर, एक कुक र दुई स्वयंसेवक कार्यरत रहेका छन् । त्यस्तै सामाजिक विकास मन्त्रालयले दुई  नर्स सहयोग गरेको छ । आश्रमको १६  जिल्लामा २३ शाखा छन् । लुम्बिनी प्रदेशमा दाङ, बुटवल र नेपालगञ्जमा शाखा छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्